काठमाडौँ । गत असोजमा आएको विनाशकारी बाढीले क्षतिग्रस्त बनेको विपी राजमार्गअन्तर्गत भकुण्डेवेशी–नेपालथोक खण्डमा आगामी असार १५ गतेभित्रै सडकको माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।
सडक डिभिजन भक्तपुरका अनुसार वर्षायाममा खोलाको डाइभर्सन बारम्बार बगेर यातायात अवरुद्ध हुने समस्या समाधान गर्न स्थायी संरचना तयार गरी मुख्य सडकबाटै सवारी सञ्चालन गर्ने योजना अघि बढाइएको हो।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार जेठ मसान्तसम्म आवश्यक संरचनाहरू सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उनका अनुसार सामान्य वर्षामा पनि अहिलेको डाइभर्सन बगेर सडक अवरुद्ध हुने समस्या देखिएको छ। त्यसैले वर्षा सुरु हुनुअघि नै माथिल्लो भागबाट यातायात सञ्चालन गर्ने गरी काम तीव्र बनाइएको हो।
उनले धुलिखेल–खावा खण्डको ४ किलोमिटरमध्ये साढे २ किलोमिटरमा पहिलो तहको बिटुमिनस काम सम्पन्न भइसकेको र बाँकी डेढ किलोमिटरमा सब–बेसको काम भइरहेको जानकारी दिए। तर बिटुमिन अभावका कारण बेस र डीबीएमको काम प्रभावित भएको उनले बताए।
योगेशका अनुसार बजारमा बिटुमिनको मूल्यवृद्धि र आपूर्ति अभावले निर्माण कार्यमा केही ढिलाइ भएको छ। “८–१० दिनभित्र बिटुमिन उपलब्ध भयो भने काम निरन्तर अघि बढ्छ, नत्र केही असर पर्न सक्छ,” उनले भने।
उनले मूल्यवृद्धिका कारण ठेकेदारबाट मूल्य समायोजनको माग आए पनि सम्झौताअनुसार मात्र प्रक्रिया अघि बढाइने स्पष्ट पारे।
उनका अनुसार हालसम्म साढे २ किलोमिटर खण्डमा यातायात सञ्चालन सहज भइसकेको छ भने बिटुमिन उपलब्ध भएमा बाँकी डेढ किलोमिटरमा डीबीएम तथा सम्पूर्ण ४ किलोमिटरमा अस्फाल्ट कार्य यसै वर्ष सम्पन्न गर्न सकिनेछ।
योगेशले बाढी प्रभावित करिब ८ किलोमिटर क्षेत्रमा वर्षायामअघि स्थायी संरचना निर्माण गरी डाइभर्सनमार्फत नभई माथिबाटै यातायात सञ्चालन गर्ने लक्ष्य रहेको बताए।
निर्माण व्यवसायीका प्रतिनिधि उत्तम ढुंगेलले असार १५ भित्र सडक सञ्चालन गर्ने गरी रातदिन काम भइरहेको बताए। उनका अनुसार बक्सिगुना खण्डको २३० मिटरमध्ये ७० मिटर मात्र बाँकी छ र केही दिनमै उक्त खण्ड सञ्चालनयोग्य बनाइनेछ।
उनले बाढीका कारण पटक–पटक क्षति भए पनि हाल जनशक्ति र निर्माण सामग्री पर्याप्त रहेको जानकारी दिए। आगामी १५ दिनभित्र थप तहको काम सम्पन्न गरी खण्डलाई पूर्ण रूपमा सुरक्षित बनाउने लक्ष्य रहेको उनको भनाइ छ।
ढुंगेलका अनुसार परियोजनाको भौतिक प्रगति करिब ३० प्रतिशत र वित्तीय प्रगति २४–२५ प्रतिशत पुगेको छ।
बाढीले क्षतिग्रस्त भकुण्डेवेशीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ। पहिलो खण्ड भकुण्डेवेशी–चारसयबेँसी (११.८ किमि), दोस्रो चारसयबेँसी–डालाबेँसी (८.५ किमि) र तेस्रो डालाबेँसीदेखि नेपालथोकसम्मको खण्डमा विभिन्न निर्माण कम्पनीमार्फत काम भइरहेको छ।
पुनर्निर्माणपछि यो सडक खण्डलाई इन्टरमिडिएट लेनबाट स्तरोन्नति गरी दुई लेनको मानक सडक बनाइनेछ। सडकको चौडाइ न्यूनतम ९ मिटर रहनेछ, जसमा ७ मिटर दुई लेन र दुवैतर्फ १–१ मिटर पक्की सोल्डर रहने व्यवस्था गरिएको सडक डिभिजनले जनाएको छ।











