५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि धरानकाे लेदुवा खोलाको पुल अधुरै



अ+ अ-

काठमाडाैँ । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्ष बित्दासमेत पूरा हुन सकेको छैन । सम्झौता भए अनुसार पाँच वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म काम अलपत्र रहँदा स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । पुल निर्माणका लागि विसं २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वर्ल्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु एक करोड २१ लाख ८६ हजार आठ सय १३ लागतमा सम्झौता भएको थियो ।

सम्झौता अनुसार विसं २०७८ साउन ७ गतेभित्र निर्माण कार्य सम्पन्न हुनुपर्ने थियो । धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार पुल निर्माणका क्रममा दुवैतर्फ पिलर उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन । करिब ४० प्रतिशत काम भएको थियो, अहिले त पिलरसमेत झाडीले ढाकिसके । उहाँले भन्नुभयो, “अरू संरचनात्मक काम पूर्ण रूपमा अलपत्र छ ।” पुल नबन्दा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या हुने गरेको उहाँले बताउनुभयो । बर्खायाममा खोलामा बाढी आएपछि स्थानीयवासी र विद्यार्थीले ज्यान जोखिममा राखेर खोला पार गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । बिरामी परे बिरामीलाई अस्पताल पु¥याउन समेत कठिन हुन्छ ।

उहाँले भन्नुभयो, बाँसको अस्थायी पुल बनाइन्छ पछि बाढीले बगाइदी हाल्छ । विशेषगरी यहाँका किसानले उत्पादन गरेका उपभोग्य वस्तु धरान बजारसम्म पु¥याउन समस्या हुने गरेको छ । त्यसैगरी विद्यार्थीलाई पनि आवतजावतमा कठिनाइ हुने गरेको स्थानीयवासी बताउँछन् । बर्खाको समयमा परीक्षा परेको अवस्थामा खोलामा बाढी आएपछि खोला तर्न नसक्दा परीक्षा छुट्ने समस्या समेत हुने गरेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । उहाँका अनुसार पुल निर्माण सम्पन्न भए धरानको मुख्य बजारसँगै धरान–४ र ५ का बासिन्दालाई आवतजावतमा सहज हुने छ । साथै, यस मार्गमार्फत धनकुटाको राजारानी तथा मोरङको याङ्शीला, केराबारी हुँदै धनकुटा र मोरङसम्म पुग्नसमेत सहज हुने उहाँको भनाइ छ । स्थानीय जीवन मगरले बर्खायाममा विद्यार्थीले विद्यालय जान ठूलो सास्ती भोग्नुपरेको बताउनुभयो । बाढी आएको बेला बालबालिका खोलाको किनारमा घण्टौँ कुर्न बाध्य हुन्छन् ।

उहाँले भन्नुभयो, “कहिलेकाहीँ विद्यालय नै जान नपाई घर फर्किनुपर्ने अवस्था हुन्छ ।” धरान–५ मा कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालय रहेकाले कक्षा ६ भन्दा माथिको अध्ययनका लागि विद्यार्थीले खोलापारिको धरान बजार पुग्नुपर्ने अवस्था छ । मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थी दैनिक जोखिम मोलेर विद्यालय जान बाध्य छन् । स्थानीयका अनुसार पटक–पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले निर्माण अघि बढाएको छैन । वडाध्यक्ष लिम्बूका अनुसार २०८१ चैत १२ गते ठेकेदार पक्षसँग जेठ मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो ।

त्यसपछि २०८२ फागुनसम्म निर्माण सक्ने जानकारी गराइएको भए पनि हालसम्म काम सुरु भएको छैन । पुल निर्माणको विषयमा २०८१ चैतमा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गर्नुभएको थियो । सो क्रममा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरी धरौटी जफत प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो । तर ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि काम अघि बढ्न नसकेको बताइएको थियो ।