२० भाद्र २०८३, शनिबार
,
Latest
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले बाढीपहिरो तथा विपद्का बेला सरकारको उद्धार, सूचना र समन्वयप्रति गम्भीर प्रश्न उठाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारप्रति आक्रोश व्यक्त गर्दै ‘हत्यारा को हो?’ भन्दै प्रश्न गरेकी हुन्।

झाँक्रीले आफू परिवर्तनको आन्दोलनमा जस्तोसुकै परिस्थितिको सामना गर्न तयार भएर लागेको उल्लेख गर्दै आलोचना र गालीबाट आफू नडराउने बताएकी छन्। केही समय आफू नबोलेको भए पनि अब स्पष्ट रूपमा बोल्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

उनले प्रधानमन्त्री शाहकी श्रीमती सरकारी गाडी लिएर हिँड्दा प्रहरी चेकिङमा परेको विषयलाई लिएर प्रधानमन्त्रीले सिंहदरबार चलाउने चेतावनी दिएको दाबी गर्दै त्यसपछि समर्थकबाट सिंहदरबारमा आगजनी भएको आरोप लगाएकी छन्।

पछिल्लो बाढीका क्रममा सुरुङमा फसेका व्यक्तिको उद्धारमा ढिलाइ भएको विषयलाई पनि झाँक्रीले सरकारको कार्यशैलीसँग जोडेर आलोचना गरेकी छन्। विद्युत् प्राधिकरणका एक कर्मचारीकी श्रीमतीले सुरुङमा फसेका श्रीमान्को तत्काल उद्धारका लागि सरकारसँग आग्रह गर्दा समेत आफूहरूमाथि हिंसात्मक व्यवहार भएको भन्दै उनले प्रश्न उठाएकी छन्।

झाँक्रीले विपद्का बेला समयमै सूचना जारी र प्रभावकारी समन्वय हुन नसक्दा ठूलो जनधनको क्षति भएको दाबी गरेकी छन्। बिहान ८ः४५ बजे बाढी आउने सूचना प्राप्त भए पनि समयमै सर्वसाधारणलाई जानकारी गराइएको भए क्षति कम गर्न सकिने उनको भनाइ छ।

उनले सरकारको अहंकार र अकर्मण्यताका कारण उद्धारमा ढिलाइ भएको आरोप लगाउँदै भनिन्, ‘ढिलो उद्धार गर्नु भनेको लास मात्र उठाउनु हो।’

विपद् प्राकृतिक भए पनि समयमै सूचना, उद्धार र समन्वय गर्न नसक्नुको जिम्मेवारी सरकारले लिनुपर्ने झाँक्रीको तर्क छ। उनले बाढी तथा अन्य विपद्का कारण ज्यान गुमाउने र बेपत्ता हुने घटनालाई केवल ‘भाग्य’ वा ‘विपद्’ भनेर पन्छाउन नहुने बताएकी छन्।

झाँक्रीले सरकारप्रति अन्धसमर्थन गर्ने प्रवृत्तिमाथि पनि प्रश्न उठाउँदै प्रधानमन्त्रीले गरेका सबै काम सही नै हुन् भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएकी छन्। उनले सरकारको कामको मूल्यांकन गर्नुपर्ने र कमजोरीबारे प्रश्न उठाउन पाउनुपर्ने बताएकी छन्।

साथै, सञ्चारकर्मी प्रकाश सुवेदीको कार्यक्रममा प्रधानमन्त्री शाहका समर्थकले आफूलाई एक दिन अप्ठ्यारो पार्न सक्ने विषयमा बोलेका कारण आफू र आफ्नो परिवारलाई लक्षित गर्दै घरमा आगो लगाउन आएको घटनासमेत उनले स्मरण गरेकी छन्।

झाँक्रीले अन्त्यमा सरकारको विपद् व्यवस्थापन, उद्धारमा भएको ढिलाइ र त्यसबाट भएको मानवीय क्षतिको जिम्मेवारीबारे प्रश्न उठाउँदै ‘अब बोल्न सुरु गरौँ, हत्यारा को हो?’ भन्दै आफ्नो अभिव्यक्ति टुंग्याएकी छन्।