२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते



अ+ अ-

खार्तुम। सुडानको दक्षिण कोर्डोफान राज्यमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

स्वयंसेवी संस्था सुडान डक्टर्स नेटवर्कका अनुसार बिहीबार दिउँसो काउडाको दक्षिण र पश्चिममा पर्ने डेबी र लुवैरी क्षेत्रमा सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थका लडाकुले गरेको आक्रमणमा महिला तथा बालबालिकासहित २१ जनाभन्दा बढीको मृत्यु भएको थियो । घटनामा अन्य धेरै घाइते भएका छन् ।

शुक्रबार बिहान भएको अर्को घटनामा डिलिङ सहरमा उक्त समूहका लडाकुले गरेको तोप प्रहारबाट एक बालकसहित पाँच जनाको मृत्यु भएको र अन्य घाइते भएको संस्थाले जनाएको छ ।

सुडान डक्टर्स नेटवर्कले डेबी र लुवैरीमाथिको आक्रमणको निन्दा गर्दै यो अगस्टको अन्त्यमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको जनाएको छ । संस्थाले सर्वसाधारणलाई लक्षित गरिएको आरोपसमेत लगाएको छ ।

डेबीस्थित एक ग्रामीण अस्पतालका चिकित्सकीय स्रोतले सिन्ह्वालाई दिएको जानकारीअनुसार अस्पतालमा २० भन्दा बढी शव र ११ जना घाइते ल्याइएको थियो । मानवीय अवस्था थप बिग्रने आशंकामा सर्वसाधारणले क्षेत्र छाडिरहेका छन् ।

डिलिङमा रहेका एक प्रत्यक्षदर्शीका अनुसार आवासीय क्षेत्रमा तोपका गोला प्रहार हुँदा करिब पाँच सर्वसाधारणको मृत्यु भएको र सातभन्दा बढी घाइते भएका छन् ।

लगाइएका आरोपबारे सुडान पिपुल्स लिबरेसन मुभमेन्ट–नर्थले कुनै प्रतिक्रिया दिएको छैन । सन् २०११ मा स्थापना भएको उक्त समूहले दक्षिण कोर्डोफान र ब्लु नाइल राज्यका केही क्षेत्रमा नियन्त्रण कायम गरेको छ ।

सुडानका कोर्डोफान राज्यहरूमा सरकारी सेना तथा अर्धसैनिक र विद्रोही समूहबीच लामो समयदेखि संघर्ष हुँदै आएको छ । सन् २०२३ अप्रिलमा सुरु भएको व्यापक द्वन्द्व अहिले चौथो वर्षमा प्रवेश गरिसकेको छ । यस द्वन्द्वमा हजारौँ मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस देशभित्र र बाहिर विस्थापित भएका छन् ।  (रासस/सिन्ह्वा)