काठमाडाैँ । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरेको छ।
मन्त्रालयले एक सूचना जारी गर्दै सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न अनुरोध गरेको हो।
मन्त्रालयका अनुसार वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन तथा उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमार्फत आवश्यक व्यवस्था मिलाइएको छ। उक्त होल्डिङ सेन्टरमा आवास, भोजन, स्वास्थ्य सेवा, बालबालिकाको शिक्षा तथा मनोवैज्ञानिक परामर्शलगायतका आधारभूत सेवा उपलब्ध गराइने व्यवस्था रहेको छ।
सरकारले आर्थिक अवस्थाका कारण स्वव्यवस्थापन गर्न नसक्ने तथा वास्तविक भूमिहीन नागरिकलाई दशरथ रंगशालास्थित प्राथमिक दर्ता केन्द्रमा उपस्थित भई सरकारी सेवा सुविधाको लाभ लिन पनि अनुरोध गरेको छ।
मन्त्रालयले नागरिकहरूको सुरक्षित, व्यवस्थित तथा दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी पनि दिएको छ।










