उनले सीमा नाकामा सर्वसाधारणले भोग्नुपरेको सास्ती र राज्यको उदासिनताका कारण अवस्था ‘विद्रोहको नजिक’ पुगेको चेतावनी दिएका हुन्। अध्यक्ष ठाकुरका अनुसार सीमा क्षेत्रका भन्सार तथा सुरक्षाकर्मीहरूले स्वविवेकिय (तजबिजी) अधिकारको दुरुपयोग गर्दै सर्वसाधारणलाई अनावश्यक दुःख दिने गरेका छन्। कानून स्पष्ट नहुँदा हाकिमहरूको मनपरी चल्ने र त्यसले भ्रष्टाचार तथा सास्ती झन् बढाएको उनको आरोप छ।

विगतमा काम र खाद्यान्नका लागि मानिसहरू नेपाल आउने गरेको स्मरण गर्दै उनले अहिले अवस्था उल्टिएको बताए। सीमा सुरक्षाका नाममा विशेषगरी महिलाहरू बढी प्रताडित भइरहेको भन्दै उनले आक्रोश व्यक्त गरे।
ठाकुरले सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा पनि करको बहानामा घण्टौँसम्म रोकेर राख्ने, अनुहार हेरेर व्यवहार गर्ने तथा सर्वसाधारणलाई अपमानित गर्ने कार्य भइरहेको उल्लेख गरे। खाद्यान्न तथा नुन–तेलका लागि भारतीय बजारमा निर्भर रहनुपर्ने बाध्यता रहेको भन्दै उहाँले गरिब नागरिकहरू आधा–एक किलो चामल, पीठो, नुन र कुकिङ तेलका लागि सीमा पार गर्न बाध्य भएको बताउनुभयो। यस्ता साना परिमाणका सामग्री ल्याउँदा समेत लुटिने वा खोसिने डर रहेको उनको भनाइ छ।
उनले सरकारका मन्त्रीहरू जनताको समस्याभन्दा बैठकमा व्यस्त रहेको आरोप लगाउँदै भने, “हामी विद्रोही होइनौँ, तर राज्यको यस्तो व्यवहार जारी रहिरह्यो भने विद्रोहको निकै नजिक पुग्नेछौँ।”
नेपाल–भारतबीचको ‘रोटी–बेटी’ सम्बन्धमा राज्यले कठोर व्यवहार देखाएको भन्दै उनले आपत्ति जनाए। विवाहका गाडीहरू रोक्ने र जन्तीलाई पैदल हिँडाउन बाध्य पार्ने कार्यले दुई देशबीचको सांस्कृतिक सम्बन्धमा असर परेको उनको तर्क छ।
वर्तमान सरकारलाई ‘हेलिकप्टर सरकार’ को संज्ञा दिँदै अध्यक्ष ठाकुरले राजधानीमा बस्ने मन्त्रीहरूलाई मधेसका जनताको वास्तविक पीडा थाहा नभएको टिप्पणी गरे। साथै, मधेसका बुद्धिजीवी र सञ्चारमाध्यमले विस्तारै आवाज उठाउन थाले पनि सत्ताले अझै मधेसको आवाजलाई बेवास्ता गरिरहेको उनको गुनासो छ।
न्यूजपोलार
१० बैशाख २०८३, बिहीबार १०:४२
न्यूजपोलार
१० बैशाख २०८३, बिहीबार १०:४२
१० बैशाख २०८३, बिहीबार १०:४२









