२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रासदीपछि आएको यो नयाँ बर्षले देशमा आशा र भरोसा जगाओस्



अ+ अ-

काठमाडौँ:अत्यासलाग्दो बर्ष २०८२ पार गरेर हामी नेपाली पात्रो अनुसारको नयाँ बर्ष २०८३ लाई स्वागत गर्ने तयारीमा छौँ । यो नयाँबर्षले मुलुक र मुलुकबासीले बर्ष २०८२ मा ब्यहोरेको भय र त्रासलाई दुर गर्दै देश विकास र सम्भावनाका नयाँ गोरेटो र भरोसाहरुको भर दिन सकोस् भन्ने कामना गर्दछौँ ।

बर्ष २०८२ नेपाल र नेपालीका लागि एक प्रकारको अत्यासलाग्दो र बडो त्रासदीपूर्ण बर्षका रुपमा रह्यो । खासमा गत भदौमा भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले हामी नेपालीलाई एक प्रकारको त्रासदी दियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जहाँ प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सबैजसो मन्त्रालयहरु छन् । सिंहदरबारको परिसरमै सर्वाेच्च अदालत पनि छ । ती सम्पदामाथिको आगजनी एवं देशव्यापी रुपमा चलेको आन्दोलनका कारण उत्पन्न ध्वंसात्मक परिस्थितिले मुलकु र मुलुकबासीलाई नै भदौको अन्तिम साता नेपालीका मनमनमा त्रास मात्र थपिदियो ।

भदौ २३ गतेका दिन नेपालका युवायुवतीहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा हिंसा भड्किन पुग्यो र त्यसबाट त्यसैदिन कम्तीमा १९ जना बालबालिकाको ज्यान गयो । त्यो दुर्घटना यो बर्षको बिर्सन लायक घटना थियो । प्रहरीको गोलीबाट यतिका धेरै नागरिकको ज्यान गएपछि भड्किएको हिंसाले नै देशैभरि हिंसा मच्चायो र देशको राजनीतिक मात्र नभएर भौतिक संरचनामा नै फेरबदल ल्याइदियो ।

एकातर्फ देशका यी महत्वपूर्ण संरचना जलेका थिए भने अर्कातर्फ देशभरका जेलहरुबाट कम्तीमा पनि १० हजार कैदी बन्दीहरु भागेर मानिसमा त्रास फैलाएको थियो । नेपालले धेरै ठूला कष्ट र प्राकृतिक प्रकोपहरु व्यहोरेको छ । केही बर्ष अघि विश्वले नै भोगेको कोभिड १९ को त्रासदी ब्यहोर्यो भने आजभन्दा १० बर्षअघि मात्र भूकम्पको त्रासदी पनि भोग्यो । यी सब खालका प्राकृतिक प्रकोप ब्यहोरेको नेपालले गत भदौको मानव निर्मित प्रकोप सहन निकै कठिन भयो । आफ्नै आँखा अगाडि दनदनी बलेका राष्ट्रिय संरचना र सम्पदाहरु देखेर मन थाम्न नसकेका अवस्थाबाट पार पाउन नेपाली नागरिकले निकै धैर्यता साँध्नुपर्यो । बर्ष २०८२ को सबैभन्दा त्रासदीपूर्ण घटना नै त्यही थियो, जुन जनता र देशको संरचनाले सँगसँगै भोग्यो, देख्यो ।

यो त्रासदीका बीचमा पनि तोकिएकै समयमा निर्वाचन सम्पन्न भयो र नयाँ नयाँ सरकार पनि बन्यो । नयाँ सरकार नयाँ पुस्ताको नेतृत्वमा बनेपछि भने अहिले विगतमा नेपाली मनमा लुकिबसेका त्रासदीहरु मेटिने आशा पलाएको छ । मुलुकको संसद यति धेरै युवा पुस्ताका नागरिकबाट बनेको र सरकार पनि युवाहरुकै बाहुल्यता मात्र होइन कि युवाहरुकै संरचनामा निर्माण भएकाले अबका दिन सुनौला होलान् कि भन्ने भरोसा जनताले गरेका छन् ।

विगतमा पुराना र ठूला भनिएका राजनीतिक दलहरुकै लिँडेढिपी र युवा पुस्ता र समूहलाई नगन्ने गरेका गल्तीहरुबाट उत्पन्न परिस्थितिले ल्याएको आगजनीबाट बनेको खरानीबाट यो नयाँ पुस्ता उठ्ला र युवा बाहुल्यताको यो सरकारले देशलाई समय र युगअनुरुप अघि बढाउन सक्ला भन्ने अपेक्षामा नेपाली जनता रहेका छन् । त्यसैले नयाँ बर्ष २०८३ ले नेपालीहरुको जीवनमा नयाँ उत्साह, उमंग र आशाको सन्देश बोकेर आओस् भन्ने अपेक्षा गर्दछौँ ।

हरेक वर्षको जस्तै यस वर्षको सुरुवात पनि हामी सबैका लागि नयाँ संकल्प, नयाँ लक्ष्य र नयाँ सम्भावनाहरूको ढोका खोल्ने अवसर हो । विगतका अनुभवहरूबाट सिक्दै, सफलताहरूलाई सम्झँदै र असफलताहरूबाट पाठ सिक्दै नयाँ रूप र स्वरुपमा ग्रहण गर्दै हामी नयाँ वर्षलाई स्वागत गर्न तयार भएका छौँ ।

त्यसैले पनि लाग्छ, नयाँ वर्ष केवल पात्रो परिवर्तन मात्र नभएर आत्ममूल्यांकन गर्ने, आफ्ना कमजोरीहरू सुधार गर्ने र जीवनलाई सकारात्मक दिशामा अघि बढाउने समय पनि हो भन्ने स्वरुपमा लिनु पर्दछ । यस पावन अवसरमा पुराना दुःख, निराशा र नकारात्मक सोचलाई बिर्सेर नयाँ सोच, ऊर्जा र आशाका साथ अघि बढ्ने र परिवार, समाज र राष्ट्रप्रति हाम्रो जिम्मेवारीलाई थप संवेदनशील र जिम्मेवार रुपमा महसुस गर्ने अवसरका रुपमा लिनुपर्दछ ।

नयाँ वर्ष २०८३ ले नेपाली जनताको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस् र नयाँ बर्षका हरेक दिनलाई अर्थपूर्ण रुपमा आफ्नो लक्ष्यतर्फ अघि बढाउन सकौँ । यिनै आशा र उत्साहका साथ नयाँवर्ष २०८३ को हाम्रा सबै शुभचिन्तक तथा पाठक बर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।




भर्खरै