काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दलको नेता आगामी वैशाख ४ गते चयन गर्ने भएको छ । यसका लागि सो पार्टीले सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा निर्वाचन समिति पनि गठन गरेको छ । सो निर्वाचन समितिमा राजु कटुवाल र मुना भुसाल पनि सदस्य छन् ।
सो समितिले वैशाख २ गते निर्वाचन कार्यतालिका प्रकाशित गर्ने भएका छ भने ४ वैशाखमा निर्वाचन गर्ने निर्णय पनि आइतबार गरेको छ ।
दलको नेता चयनका लागि सर्वसम्मतिको प्रयास भए पनि सम्भव भने नदेखिएको कांग्रेस स्रोतले बतायो । अहिलेसम्म भएको चर्चामा संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदार मानिएका छन् ।
पछिल्लो समयमा केसीका कारण पार्टी सभापति गगन थापालाई पनि विवादमा तानिएको छ । किनभने केसी नेता थापाका ससुरा हुन् । यी दुई मुख्य दाबेदार नेता केसी र आङ्देम्बे दुवै समानुपातिक सांसद भएकाले प्रत्यक्ष निर्वाचितलाई दलको नेता बनाउनुपर्ने तर्क पनि कांग्रेसमा पछिल्लो समयमा जोडतोडका साथ उठेको छ ।
यसका लागि रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य पनि उम्मेबार बन्न सक्ने देखिन्छ । यस विषयमा गगन पनि सकारात्मक हुन सक्ने देखिएको छ । तर कांग्रेस स्रोतका अनुसार यदि केसीको पक्षमा परिणाम आउने जस्तो लागेन भने गगनले नै आचार्यलाई अघि सार्न सक्ने देखिएको छ ।
यता भिष्मराजको पक्षमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा देखिएका छन् । केसीलाई नेता बनाउँदा हिजो जेनजी आन्दोलनका क्रममा उठेको नेपो बेबी र नातावाद कृपावादको प्रसंग पुनः देशमा उठ्ने भएकाले केसीको पक्षमा विश्वप्रकाश नरहेको बताइन्छ ।
त्यसैले उनले जनजाति पनि हुने र विवादमा पनि नपरिने बाटो अपनाएको हुनसक्ने देखिएको छ । कांग्रेसको एक समाचार स्रोतका अनुसार संसदीय दलको नेताकै कारण पछिल्लो समयमा कांग्रेसका सभापति गगन र उपसभापति विश्वप्रकाशका बीचमा पनि असमझदारी देखिएको छ ।











