२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्रीलाई हर्कराज राईको सुझावः वैदेशिक ऋण घटाउनेतिर केन्द्रित हुनुहोस् मन्त्रिपरिषद् बैठक जारी पूँजीगत खर्च द्रुत गतिका साथ हुनेगरी सम्बन्धित मन्त्रालयलाई अख्तियारी दिइएको छः अर्थमन्त्री वाग्ले सेनाले पुराना प्रमाणहरू खोज्ने र प्रक्रियागत रूपमा बेरुजु घटाउने कार्यलाई प्राथमिकतामा राखेको छः प्रधानसेनापति सिग्देल पूर्व बालसैन्यलाई सम्मानजनक परिपूरण उपलब्ध गराउन सर्वोच्चको परमादेश पाल्पामा घरघरमै पुग्यो राहदानी सेवा लुम्बिनी प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली स्वीकृत प्रतिनिधिसभाः सांसदद्वारा शुद्ध पानीदेखि सार्वजनिक शौचालय व्यवस्थापनको विषय उठान सार्वजनिक लेखा समितिद्वारा बेरुजु न्यूनीकरण र फर्स्योटमा नीतिगत सुधारको जोड, विभिन्न निकायको प्रगति सार्वजनिक शिक्षा र स्वास्थ्यको बजेट संरचनाप्रति प्रमुख सचेतक थापाको आपत्ति, पुँजीगत खर्च बढाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले ‘विष वृक्ष’ रोप्न खोज्योः विद्यार्थी संगठनमाथिको प्रतिवन्धविरुद्ध सडक र सदनबाटै लड्ने चेतावनी’



 तस्बिरः एआई 
अ+ अ-

काठमाडौँ। सरकारले शैक्षिक संस्थाहरूमा विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने तयारी गरेपछि त्यसको विरोधमा कानुन व्यवसायी र विद्यार्थी नेताहरूले मोर्चाबन्दी शुरु गरेका छन् ।

सरकारको यो कदम असंवैधानिक र अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि विपरित भएको भन्दै उनीहरूले मुलुकमा फासीवादको लक्षण देखिन थालेको टिप्पणीसहित कडा संघर्षको चेतावनी दिएका छन् ।

सरकारको १०० दिने कार्ययोजनामा विद्यार्थी संगठन खारेजीको प्रश्ताव आएपछि चौतर्फी विरोध शुरु भएको हो । अधिवक्ता, नागरिक समाज र विद्यार्थी संगठनका नेताहरूले यसलाई लोकतन्त्र र संविधानले प्रत्याभूत गरेको मौलिक हकमाथिको गम्भीर प्रहारको संज्ञा दिँदै सरकारले ‘विष वृक्ष’ रोप्न खोजेको आरोप लगाएका छन् ।

अधिवक्ता अञ्जिता खनाल, विश्लेषक युग पाठक र विभिन्न विद्यार्थी संगठनका नेताहरूले सरकारको यो कदमलाई फासीवादी चरित्रको संज्ञा दिँदै यसले मुलुकलाई निर्दलीयता र अधिनायकवादतर्फ धकेल्ने चेतावनी दिएका छन् ।

अभिवक्ता अञ्जिता खनालले सरकारको नीति तथा कार्यक्रममा विद्यार्थी संगठन खारेजीको कुरा ल्याउनु असंवैधानिक र अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि विपरित भएको बताउनु भयो । उहाँले संविधानको धारा १७ ले प्रत्येक नागरिकलाई संस्था खोल्ने र स्वतन्त्र रूपमा बोल्ने अधिकार दिएको स्मरण गराउँदै यस्तो कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

खनालले प्रधानमन्त्रीको पोशाकका विषयमा पनि प्रश्न उठाउनुभएको छ । सेनाको कार्यक्रममा राष्ट्रिय पोशाक (दौरा सुरुवाल) लगाएर जाने प्रधानमन्त्रीले प्रतिनिधि सभामा नीति तथा कार्यक्रम प्रश्तुत गर्दा टि–सर्ट लगाएकोमा आपत्ति जनाउनु भयो । बहुदललाई पचाउन नसक्ने र विचारको संरक्षण नगर्ने हो भने मुलुक निर्दलीयतातिर जाने खतरा रहेको खनालको विश्लेषण छ । उहाँले विद्यार्थी संगठनहरूलाई नडराउन आग्रह गर्दै विद्यार्थीको हकहितका लागि लड्ने बताउनु भयो । संविधानले दिएको व्यवस्था कसैले खारेज गर्न नसक्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा राष्ट्रियता झल्कने ठाउँ हो । त्यहाँ प्रधानमन्त्रीले राष्ट्रिय पोशाक लगाउनु पर्दैन ? हामीले बालेन्द्र साहलाई हेर्ने दृष्टिकोण के हो ? उहाँले राम्रो काम गर्दा समर्थन छ, तर कानून र संविधान भन्दा माथि कोही छैन । फाँसी दिने ऐन बनाउँछु भन्नु अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि विपरीत छ । अहिले बौद्धिक वर्ग र मिडियामा एक प्रकारको सन्नाटा छ । एकतर्फी प्रतिवेदनहरू आउँदा पनि कोही बोल्दैनन् । पत्रकारहरू संकुचित हुनुभएको छ, बोल्नै सक्नुहुन्न ।’

लेखक तथा विश्लेषक युग पाठकले नेपाली राजनीतिमा फासीवादको स्पष्ट लक्षण देखिन थालेको र मुलुक भयानक वैचारिक संकटमा फसेको बताउनु भयो । । प्रधानमन्त्री साहको कार्यशैली, नयाँ राजनीतिक दलहरूको उदय र विद्यार्थी संगठन खारेजीको बहसलाई जोड्दै उहाँले यस्तो विश्लेषण गर्नुभयो ।

पाठकले प्रधानमन्त्री साहलाई एउटा पदको वरिपरि मात्र सिमित व्यक्तित्व नभई एउटा ‘सिम्बोल’ का रूपमा व्याख्या गर्नुभयो । सरकारले विद्यार्थी संगठनहरू खारेज गर्नुपर्ने आशयका ‘उर्दी’ जारी गरेकोप्रति टिप्पणी गर्दै पाठकले यसलाई फासीवादको क्लासिक उदाहरण बताउनु भयो । उहाँले राजनीतिक दल र विद्यार्थी संगठनहरू अहिले ‘कोमा’ मा गएको जस्तो देखिएको र मिडियासमेत ‘अनफलो’ अभियानको डरले बोल्न नसकेको आरोप लगाउनु भयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयलाई संकेत गर्दै पाठकले उक्त पार्टीसँग नेपाली समाजका संरचनात्मक समस्या बुझ्ने र समाधान गर्ने कुनै स्पष्ट वैचारिक दस्तावेज नभएको दाबी गर्नुभयो । उहाँले रास्वपाको वाचापत्रलाई ‘नव–उदारवादी अर्थ–राजनीतिक कार्यक्रम’ को निरन्तरता मात्र भएको टिप्पणी गर्नुभयो । पाठकले सामाजिक सञ्जाललाई समाजको वास्तविक प्रतिविम्व मान्न नसकिने बताउनु भयो । उहाँले मानिसहरू एउटा ‘कालो आकृति’ सँग डराइरहेको र संस्थाहरूले आत्मसमर्पण गरेको स्थिति डरलाग्दो भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बौद्धिकहरू बालेनको चस्मा, लुगा र हिँडाइबाट फ्यासिनेट भइरहेका छन्, तर यो डिस्कोर्सभित्र फासीवादको स्पष्ट लक्षण लुकेको छ । संसारभर फासीवादीहरूले गर्ने पहिलो काम भनेकै जनताका संगठनहरू खारेज गर्नु हो । पार्टीका आफ्ना वैचारिक लाइन हुन्छन्, जसले समाजलाई कता लैजाने भन्ने तय गर्छ । विद्यार्थी संगठन नहुने हो भने विचारको मन्थन कसरी हुन्छ ?’

नेपाली कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनका नेता विराज थापाले सरकारले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने तयारी गरेको भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

थापाले सरकारको १०० दिने कार्ययोजनामा समेटिएको यो प्रश्ताव लोकतान्त्रिक व्यवस्था र संविधानमाथि नै गम्भीर प्रहार भएको बताउनु भयो । थापाले सरकारको कदमलाई कानूनी सिद्धान्त ‘डक्ट्रिन अफ पोइजनस ट्रि’ (विष वृक्षको सिद्धान्त) सँग तुलना गर्नुभयो । उहाँले संविधानले प्रत्याभूत गरेको संघ–संस्था खोल्ने मौलिक अधिकार विरुद्ध सरकार जान खोजेको भन्दै यो निर्णय अदालतमा पुगेको खण्डमा तत्काल खारेज हुने दाबी गर्नुभयो ।

विद्यार्थी संगठनको आवश्यकता हुने खाने वर्गलाई भन्दा पनि आवाजविहीन र सीमान्तकृत समुदायका विद्यार्थीलाई भएको थापाको तर्क छ । विद्यार्थी संगठनलाई अपराधीकरण गर्ने नरेटिभ सेट गरेर तल्लो तहको मान्छेको आवाज मार्न खोजिएको उहाँले आरोप लगाउनु भयो ।

विद्यार्थी नेताहरू विद्यार्थी नहुने र लामो समय क्याम्पस ओगटेर बस्ने गुनासोलाई सम्बोधन गर्न आफूहरूले ‘क्रान्तिकारी सुधार’ गरिसकेको उहाँले जानकारी दिनुभयो । थापाकाअनुसार अहिले मुख्य तीन विद्यार्थी संगठनहरूमा ३२ वर्षे उमेर हदबन्दी र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा २८ वर्षे उमेर हदबन्दी लागू भइसकेको छ । यसले गर्दा चन्दा उठाउने र मसल देखाउने प्रवृत्ति अन्त्य भई वास्तविक विद्यार्थीले नेतृत्व गर्ने वातावरण बनेको उहाँले बताउनु भयो ।

थापाले विद्यार्थी संगठनमाथिको प्रहारलाई ‘सफ्ट कु’ को संज्ञा दिँदै यसले देशलाई सेनाको शासन वा अधिनायकवादतर्फ धकेल्ने खतरा रहेको औंल्याउनु भयो । संसदीय व्यवस्थामा प्रधानमन्त्री चुनिएपछि संसदलाई सम्बोधन नगर्ने र सेनाको कार्यक्रममा मात्र बोल्ने प्रवृत्तिले लोकतन्त्रलाई ‘पाकिस्तानी मोडेल’ तिर लैजान खोजिएको हो कि भन्ने प्रश्न उठाउनु भयो ।

उहाँले भन्नुभयो, ‘तपाईंले विष रोप्नुभयो भने त्यहाँबाट अमृत फल्दैन । सरकारले अहिले विष रोप्ने काम गरेको छ । रातो बङ्गला वा युलिएन्समा पढ्नेलाई संगठन नचाहिएला, तर ल क्याम्पस, आर.आर. र विश्वभाषा जस्ता सरकारी क्याम्पसमा पढ्ने र एक्लै आवाज उठाउन नसक्ने विद्यार्थीका लागि संगठन ढाल बनेको छ ।’

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी) निकट विद्यार्थी संगठनका नेता नरेन्द्र बिकेले प्रधानमन्त्री साह नेतृत्वको सरकारले ल्याएको १०० बुँदे शासकीय सुधारको प्रश्तावमा विद्यालय र विश्वविद्यालयमा दलीय विद्यार्थी संगठनहरूलाई प्रतिवन्ध लगाउने विषयप्रति आपत्ति जनाउनु भयो । उहाँले शिक्षा क्षेत्रमा देखिएका तमाम समस्याहरूको जड विद्यार्थी संगठन नभई स्वयं नेपाल सरकार र राज्यको दृष्टिकोण भएको दाबी गर्नुभयो । नेता बिकेले नेपालको शिक्षा क्षेत्रको सबैभन्दा ठूलो समस्या सरकारको नीति, कानून र व्यवहारमा रहेको बताउनु भयो ।

उहाँले  संविधानको धारा ३१ मा निःशुल्क र अनिवार्य शिक्षाको ग्यारेन्टी भएपनि अहिलेसम्म शिक्षा ऐन आउन नसक्नु र आएपनि माफियाहरूको स्वार्थमा संशोधन हुनु विडम्बनापूर्ण रहेको उल्लेख गर्नुभयो । राज्यले ७० लाख विद्यार्थीमध्ये २० लाखलाई महँगो निजी शिक्षामा छोडेर द्वेध शिक्षा प्रणाली लागू गरेको उहाँको आरोप छ । सरकारको विद्यार्थी संगठनमाथि प्रतिवन्ध लगाउने प्रश्तावलाई उहाँले युवाहरूलाई देशभक्त राजनीतिबाट टाढा राख्ने साम्राज्यवादी रणनीति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको शिक्षा क्षेत्रको समस्याको जग विद्यार्थी संगठन होइन, नेपाल सरकार हो । सरकारको दृष्टिकोण, दलाल पुँजीवादी चरित्र र नवउदारवादी चिन्तनले शिक्षालाई व्यापार बनाएको छ । नेपालको राजनीतिमा युवाहरूको नर्सरी नै बन्द गरेर विदेशी युथ काउन्सिलका बिरुवाहरू सार्ने प्रयास भइरहेको छ । यो देशभक्त र अर्गानिक नेतृत्वलाई सिध्याउने खेल हो ।’

विश्वविद्यालयहरूमा उपकुलपतिदेखि पियनसम्म राजनीतिक भागबन्डा हुनु, मेरिटोक्रेसी लागू नहुनु र पढेका विद्यार्थीहरू विदेश पलायन हुनु शिक्षा क्षेत्रको मुख्य चुनौती भएको उहाँले बताउनु भयो । उनले ६२–६३ को आन्दोलनपछि विद्यार्थी संगठनहरू पनि कतिपय ठाउँमा चुकेको स्वीकार गर्दै अब नयाँ ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेता बिकेले विद्यार्थी संगठनमाथिको प्रतिवन्ध स्वीकार्य नहुने भन्दै सडक, सदन र अदालत तीनै ठाउँबाट संघर्ष गर्ने घोषणा गर्नुभयो । –न्युज एजेन्सी नेपाल