१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय

चन्द्रयात्राबाट सुरक्षित फर्कियो आर्टेमिस द्वितीय
अ अ+ अ-

ह्युस्टन। आधा शताब्दीपछि मानवलाई पुनः चन्द्रमाको नजिक पुर्‍याएको ऐतिहासिक आर्टेमिस द्वितीय अभियान शुक्रबार प्रशान्त महासागरमा सफल स्प्ल्यासडाउन (समुद्र वा पानीमा हुने अवतरण) सँगै सम्पन्न भएको छ ।

अत्यन्त जोखिमपूर्ण पुनःप्रवेश पार गर्दै अन्तरिक्ष यात्रीहरूले केवल सुरक्षित अवतरण मात्र गरेनन्, मानव अन्वेषणको नयाँ अध्याय सुरु गर्ने मार्ग पनि तयार पारे ।

करिब १० दिन लामो यस अभियानले चन्द्रमाको टाढाको भागदेखि दुर्लभ खगोलीय दृश्यहरू अवलोकन गर्‍यो । अन्तरिक्षको असीम शून्यताबीच देखिएको पूर्ण सूर्यग्रहण, ग्रहहरूको अद्भुत पङ्क्ति र पृथ्वीको झल्कोले यात्रालाई वैज्ञानिक मात्र नभई, भावनात्मक रूपमा पनि ऐतिहासिक बनायो ।

मिसन सम्पन्न गरी फर्किएका कमान्डर रिड वाइसम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानाडाका जेरेमी ह्यानसेन सान डिएगो नजिक समुद्रमा अवतरण गरेको क्याप्सुलबाट बाहिरिँदा उहाँहरूमा उत्साह र राहत दुवै झल्किएको थियो । सैन्य हेलिकप्टरहरूले उहाँहरूलाई एक–एक गरी उद्धार गर्दै अमेरिकी नौसेनाको जहाज युएसएस जोन पी मुर्तासम्म पुर्‍याएका थिए ।

नासाका प्रशासक जारेड आइज्याकम्यानले यस टोलीलाई ‘मानवताको प्रतिनिधि’ का रूपमा व्याख्या गर्दै उहाँहरूको योगदानले आगामी चन्द्र अवतरणका लागि आधार तयार गरेको बताउनुभयो । नासाको मिसन कन्ट्रोलमा पनि सफल अवतरणसँगै उत्सवको माहोल देखिएको थियो । अधिकारीहरूले यसलाई ‘नयाँ मूनसटको सुरुआत’ का रूपमा चित्रण गरेका छन् ।

ओरिअन क्याप्सुल ‘इन्टिग्रिटी’ ले पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा ध्वनिको गतिभन्दा ३३ गुणा तीव्र गतिमा यात्रा गरेको थियो । पुनःप्रवेशका क्रममा क्याप्सुल अत्यधिक तापमा रातो–तातो प्लाज्माले घेरिएको थियो, जसका कारण केही समय सञ्चार अवरुद्ध भएको थियो । यही क्षण मिसनको सबैभन्दा संवेदनशील चरण मानिएको थियो, जहाँ तापीय ढालको सफलतामाथि सम्पूर्ण टोलीको सुरक्षाको निर्भरता थियो ।

छ मिनेट लामो ब्ल्याकआउटपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा परिवारजन र वैज्ञानिकहरू दुवैले राहत महसुस गरेका थिए । अन्ततः करिब ३९ हजार ६९३ किलोमिटर प्रतिघण्टा गतिबाट घट्दै क्याप्सुल सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो ।

यस अभियानले विविधता र समावेशीताको सन्देश पनि दिएको छ । क्रिस्टिना कोच चन्द्रमातर्फ उड्ने पहिलो महिला बन्नुभयो भने भिक्टर ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र जेरेमी ह्यानसेन पहिलो गैर–अमेरिकी नागरिकका रूपमा इतिहासमा दर्ज हुनुभयो । उहाँहरूले आफ्नो अनुभव साझा गर्दै भावुक क्षणहरू पनि व्यक्त गर्नुभएको थियो ।

अप्रिल १ मा फ्लोरिडाबाट प्रक्षेपण गरिएको यो अभियानले चन्द्रमाको परिक्रमा नगरे पनि मानवले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दूरी—चार लाख छ हजार ७७१ किलोमिटर—पार गर्दै नयाँ कीर्तिमान बनायो । यस क्रममा अन्तरिक्ष यात्रीहरूले चन्द्रमाको टाढाको भागका दृश्यहरू क्यामेरामा कैद गरेका थिए, जुन मानव आँखाले यसअघि कहिल्यै देखेको थिएन ।

यात्राका क्रममा केही प्राविधिक समस्या पनि देखिएका थिए । पिउने पानी प्रणाली, इन्धन प्रवाह नियन्त्रण गर्ने भल्भमा समस्या देखिएको थियो र शौचालयमा समस्या आए पनि टोलीले ती चुनौतीहरू सफलतापूर्वक व्यवस्थापन गरेको जनाएको छ । पुनःप्रवेशपछि क्याप्सुलको तापीय ढालको थप परीक्षण गरिने तयारी गरिएको छ ।

नासाका अनुसार यो अभियान आगामी चन्द्र अवतरण योजनाको परीक्षण उडान थियो । संशोधित कार्यक्रमअनुसार अर्को चरणमा आर्टेमिस तृतीय मार्फत कक्षीय अभ्यास गरिनेछ भने सन् २०२८ मा आर्टेमिस चतुर्थअन्तर्गत चन्द्रमाको दक्षिणी ध्रुवमा मानव अवतरणको लक्ष्य राखिएको छ ।

अन्तरिक्ष यात्री वाइसम्यानले यस अभियानलाई केवल प्राविधिक उपलब्धि मात्र नभई मानवतालाई एकताबद्ध गर्ने अवसरका रूपमा लिन आग्रह गर्नुभयो ।

उहाँले पृथ्वीको सुन्दरता र ब्रह्माण्डमा यसको विशिष्ट स्थान सम्झनुपर्ने आवश्यकता औँल्याउँदै यस यात्राले सबैलाई साझा भविष्यतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । (रासस/एपी)