२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’



अ+ अ-

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउनुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘प्रदेश तथा स्थानीय तहमा बजार अनुगमन निरीक्षणमा संलग्न पदाधिकारी एवं कर्मचारीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा सचिव कर्णले कर्णालीको माटो र यहाँ उत्पादन हुने खाद्यबाली अन्य प्रदेशभन्दा सुरक्षित रहेको बताउनुभयो ।

“हाम्रो खाद्य स्वच्छ र गुणस्तर हुनुपर्छ । शरीरलाई चाहिने आवश्यक तत्व यहाँ उत्पादन हुने खाद्यबालीमा पाइन्छ”, उहाँले भन्नुभयो, “मूलतः कर्णाली प्रदेशले रासायनिक प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनमा जोड दिने अभियान अगाडि बढाएको छ ।” अझै पनि खाद्य स्वच्छता तथा गुणस्तरका बारेमा सरोकार भएकाको समन्वय एवं सहकार्यमा स्वच्छ तथा गुणस्तर खाद्य प्रयोगबारे नागरिक तहसम्म सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले स्वच्छ तथा गुणस्तर खाद्य प्राप्तिका लागि सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन हुनुपर्ने बताउनुभयो । खानाजन्य रोगका कारण मानव जीवनमा जोखिम बढ्दो भएकाले स्वच्छ र गुणस्तरयुक्त खाना आवश्यक भएको उहाँको भनाइ छ ।

उक्त कार्यक्रमका सहभागीहरूले अत्याधुनिक जीवनशैलीका कारण मानव स्वास्थ्य सर्नेभन्दा नसर्ने रोगले ग्रसित हुँदै गएकाले आलीदेखि थालीसम्म आउने वस्तु स्वच्छ र सुरक्षित हुनुपर्ने सुझाव दिएका छन् ।

सहभागीहरूले नागरिकको सोच, स्वाद र दृष्टिमा दोष एवं भ्रम भएकाले त्यसलाई चिर्नका लागि खाद्य उपभोगका बारेमा सचेतनामूलक कार्यक्रम आवश्यक भएको सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् । रासस