१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधिको शासनमाथि ‘सेलेक्टिभ जस्टिस’ को प्रहारः कानूनविद्को नजरमा सरकारको स्टन्टबाजी



अ+ अ-

काठमाडाैँ । हालै सार्वजनिक भएको कार्की आयोगको प्रतिवेदन र त्यसको कार्यान्वयनको सन्दर्भमा सरकारले चालेका कदमहरूले विधिको शासन र न्यायको आधारभुत सिद्धान्तमाथि गम्भीर प्रश्न खडा गरेको छ । यो प्रतिवेदन र यसको कार्यान्वयन प्रक्रिया ‘सेलेक्टिभ जस्टिस’ (चयनमुखी न्याय) को एउटा ज्वलन्त उदाहरण बनेको छ ।

जसले लोकतान्त्रिक मूल्य–मान्यतालाई नै चुनौती दिएको देखिन्छ । कार्की आयोगलाई भदौ २३ र २४ गते (ऐतिहासिक घटनाक्रमका सन्दर्भमा) दुवै दिनका घटनाहरूको तथ्य संकलन र छानबिन गर्ने जिम्मेवारी दिइएको थियो । तर आयोगले बदनियतपूर्ण ढंगले आफ्नो कार्यक्षेत्र परिवर्तन गरी केवल २३ गतेको घटनामा मात्र केन्द्रित भयो र २४ गतेको पक्षलाई पूर्णतः बेवास्ता गर्‍यो ।

यसको मुख्य कारण २४ गतेका घटनाका ‘बेनेफिसियरी’ (लाभार्थी) हरू नै अहिले सत्ताको बागडोर सम्हालिरहेको कानूनविद्हरु बताउँछन् । २४ गतेको घटनालाई छुँदा अहिलेका धेरै सांसद र शक्तिमा रहेका व्यक्तिहरू तानिने डरले यसलाई ‘अनटच्ड’ राखिएको प्रस्ट देखिने कानूनविज्ञहरूको भनाइ छ । यो समय अभावले नभई एउटा निश्चित राजनीतिक मिसन पूरा गर्न गरिएको प्रपञ्च भएको उनीहरूको निष्कर्ष छ ।
नेपाल बार एसाेसिएसनका अध्यक्ष प्राध्यापक डाक्टर विजयप्रसाद मिश्रले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन निष्पक्ष नभएको र यसले स्वतन्त्र न्यायपालिकामाथि प्रहार गरेको बताए । अध्यक्ष मिश्रले प्रतिवेदनको विश्वसनीयतामाथि प्रश्न उठाउँदै पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्दा अपनाइएको प्रक्रियालाई ‘नकारात्मक सुरूवात’ को संज्ञा दिए ।

शनिवार बिहान गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन दबाएको आरोपमा ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवं नेपाली काँग्रेस नेता रमेश लेखकलाई पक्राउ गरिएको थियो ।  अध्यक्ष मिश्रकाअनुसार आयोगका अध्यक्ष कार्कीको पहिले नै व्यक्त भइसकेको ‘सबैलाई कारबाही गर्नुपर्छ’ भन्ने अभिमतले गर्दा उनको निष्पक्षतामा सुरूदेखि नै प्रश्न उठेको थियो । सर्वोच्च अदालतले समेत उनलाई नैतिक रूपमा योग्य नभएको निर्णय गरिसकेको अवस्थामा प्रतिवेदन आउनु आफैँमा विवादास्पद रहेको मिश्रको तर्क छ ।

राज्यले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्री जस्ता व्यक्तिहरू भागेर जाने वा सवुत नष्ट गर्ने आशंका पाल्नु गलत भएको मिश्रको धारणा छ । उनले ८० वर्ष पुगिसकेका व्यक्तिहरूलाई सुतिरहेको अवस्थामा झिसमिसेमै सयौँ प्रहरी परिचालन गरेर पक्राउ गरिनु ‘लिमिटेड गभर्मेण्ट’ (सिमित सरकार) को अवधारणा विपरित भएको बताए ।

फौजदारी अपराध संहितामा रहेको ‘जरुरी पक्राउ पुर्जी’ को व्यवस्थालाई सरकारले मिसयुज गरेको मिश्रको आरोप छ । यो व्यवस्था तत्काल भाग्न लागेको वा अपराध गरिरहेकै अवस्थामा फेला परेको अभियुक्तका लागि मात्र भएको तर अहिलेको मामिलामा त्यस्तो कुनै अवस्था नरहेको उनले स्पष्ट पारे ।

९०७ पेजको प्रतिवेदन सरकारले एकै रातमा पढेर कारबाहीको निर्णय गर्नु असम्भव रहेको भन्दै उनले भने, “महान्यायाधिवक्ताको अधिकार क्षेत्रमाथि आयोगले अतिक्रमण गरेको छ । क्याबिनेटले मुद्दा चलाउने निर्णय गर्ने अधिकार राख्दैन, यो प्रहरी र सरकारी वकिलको काम हो । सरकारको यो कदम पूर्वाग्रही देखिन्छ ।”

नेपाल बार एशोसिएशनले यो प्रतिवेदनले स्वतन्त्र न्यायपालिका र कानून व्यवसायीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै थप अध्ययन शुरु गरेको छ । मिश्रले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पनि झिकाएर अध्ययन गरिने जानकारी दिए।

अहिलेको प्रतिवेदन ‘प्रि–माइन्डसेट’ र ‘न्यारेसन क्रिएसन’ का लागि तयार पारिएको खण्डित प्रतिवेदन भएकोले यसको स्वीकार्यता नहुने उनको दाबी छ । मिश्रले दासढुङ्गा दुर्घटनाको समयमा जस्तै निष्पक्ष र उच्च छवि भएका व्यक्तिहरूको नेतृत्वमा अर्को छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरेका छन् ।

प्रतिवेदन भनेको सरकारलाई जानकारी गराउने माध्यम मात्र हो । तर यसैको आधारमा न्यायिक प्रक्रिया नअपनाई सूर्योदय हुनुभन्दा अगाडि नै पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरिनु गलत रहेको उनको भनाइ छ । सयौँ प्रहरी तैनाथ गरेर कुनै ठूलो भूमिगत अपराधीलाई जंगलमा पक्राउ गर्न लागेको जस्तो शैली अपनाइएको उनले बताए ।

८० वर्ष पुगिसकेका र भागेर जाने सम्भावना नभएका व्यक्तिहरूलाई बिदाको दिन र झिसमिसेमा पक्राउ गर्नु राज्यको विवेकहीनता हो । निराशालाई आशाको किरण दिएर जनतालाई खुशी पार्नुपर्नेमा कसैलाई हिरासतमा लिएर सस्तो लोकप्रियता खोज्ने तरिका नकारात्मक रहेको बारको निष्कर्ष छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीकाअनुसार कार्की आयोग एउटा जाँचबुझ आयोग मात्र हो । यो कुनै अदालत होइन । तर यसले आफ्नो क्षेत्राधिकार नाघेर पत्रकारको योग्यता तोक्नेदेखि सर्वोच्च अदालतका फैसलाहरूमाथि टिप्पणी गर्नेसम्मका काम ग¥यो । सर्वोच्च अदालतभन्दा माथिल्लो निकाय जस्तो गरी आफूलाई प्रश्तुत गर्नु विधिशास्त्रीय दृष्टिकोणले अत्यन्तै कमजोर र गलत रहेको उनको भनाइ छ । जाँचबुझ ऐन अन्तर्गत बनेको आयोगले अदालतलाई प्रतिस्थापन गर्न नसक्ने त्रिपाठीले बताए ।

सरकारले शनिवार मात्रै ‘जरुरी पक्राउ पुर्जी’ जारी गरेर पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई गिरफ्तारी गरेको छ, त्यो न्यायिक प्रक्रियालाई बाइपास गर्ने एउटा कपटपूर्ण बाटो भएको त्रिपाठी बताउनु हुन्छ । लोकतन्त्रमा कसैलाई पनि पक्राउ गर्नुअघि अदालतको अनुमति लिनु अनिवार्य हुन्छ । ‘जरुरी पक्राउ पुर्जी’ एउटा अपवाद मात्र हो, जुन प्रमाण नष्ट हुने वा अभियुक्त भाग्ने विशेष परिस्थितिमा मात्र प्रयोग गरिन्छ ।

तर अहिलेको सामान्य अवस्थामा पनि अदालतलाई अविश्वास गर्दै यो प्रक्रिया अपनाउनुले सरकारको स्वेच्छाचारिता झल्काउने उहाँ बताउनु हुन्छ । विधिको उचित प्रक्रिया पूरा नगरी गरिने कुनैपनि गिरफ्तारी ‘आर्बिट्ररी एरेस्ट’ (स्वेच्छाचारी गिरफ्तारी) हो । जसको विरुद्धमा संविधानले नै नागरिकलाई हक प्रदान गरेको छ ।

आयोगको प्रतिवेदन आफैँमा अभियोग पत्र होइन । यो केवल एउटा सिफारिस मात्र हो । यसको आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन । यसका लागि विस्तृत फौजदारी अनुसन्धानको आवश्यकता पर्दछ । प्रहरीले प्रमाण जुटाउने र सरकारी वकिलले अभियोजन गर्ने प्रक्रिया पूरा नगरी हतार–हतारमा स्टन्टबाजी गर्नु कानूनी राज्यको उपहास भएको उनले बताए ।

अर्कोतर्फ राष्ट्रिय मानव अधिकार आयोगले पनि यसै विषयमा आफ्नो प्रतिवेदन बुझाएको छ । तर सरकारले त्यसलाई सार्वजनिक नगरी केवल आफ्नो अनुकुलको कार्की आयोगको प्रतिवेदनलाई मात्र प्रिम्याच्योर (अपरिपक्व) ढंगले कार्यान्वयन गर्न खोज्नुमा दुराशय देखिएको उनको भनाइ छ ।

न्याय चयनमुखी हुनुहुँदैन । गत भदौ २३ र २४ गतेको घटना गम्भीर अपराध हो र त्यसमा संलग्न कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । तर न्यायको नाममा गरिने ‘पिक एण्ड चुज’ ले अर्को अन्याय र स्वेच्छाचारिता मात्र पैदा गर्छ । सरकारले सबै प्रतिवेदनहरूको समग्र अध्ययन गरी एउटा स्पष्ट रोडम्याप र पारदर्शी प्रक्रियामार्फत अनुसन्धान अगाडि बढाउनुपर्छ । विधिको शासन सबैका लागि समान हुनुपर्छ, कसैकाप्रति लक्षित वा पूर्वाग्रही हुनुहुँदैन ।