९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

झापा-१ : रास्वपाकी निशा डाँगी निर्वाचित

झापा-१ : रास्वपाकी निशा डाँगी निर्वाचित
अ अ+ अ-

काठमाडौं। प्रतिनिधि सभा निर्वाचनमा झापा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की निशा डाँगी भारी मतान्तरले विजयी भएकी छन्।

निर्वाचन आयोगका अनुसार, डाँगी ४५ हजार ६८० मत प्राप्त गरेर सांसद निर्वाचित भएकी हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार केशवराज पाण्डेले १० हजार ५५० मत प्राप्त गरेका छन्।

त्यस्तै, श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याउँदा नेकपा (एमाले) का रामचन्द्र उप्रेतीले ७ हजार ६५९ मत प्राप्त गरेका छन्।

जनसेवक बन्ने अठोट बोकेर राजनीतिमा होमिनुभएकी निशा

मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेका बेला चार वर्षअघि निशा डाँगीको विद्रोही युवा मन राजनीतितर्फ डोरियो । जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ उहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डामुनि गोलबद्ध हुने कठिन तर चुनौतीपूर्ण बाटोमा होमिनुभयो ।

निराशालाई आशामा बदल्ने अठोटका साथ राजनीतिमा होमिनुभएकी २९ वर्षीया निशा डाँगी झापा निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार बनेर यही फागुन २१ गते सम्पन्न निर्वाचनमा ४५ हजार ६८० मत प्राप्त गरी प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

डाँगीको प्रतिनिधिसभामा यो दोस्रो यात्रा हो । यसअघि २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उहाँ २५ वर्षको उमेरमा समानुपातिकतर्फ निर्वाचित हुँदा मुलुककै कान्छी सांसद हुनुभएको थियो । समानुपातिक सांसदका रूपमा संसद्मा प्रवेश गर्नुभएकी उहाँले युवाहरूको समस्या समाधानका लागि सदनमा निरन्तर आवाज बुलन्द गरिरहनुभयो ।

क्षमता र सक्रियताकै कारण जनताको मन जित्न सफल सांसद डाँगीलाई यसपटकको आमनिर्वाचनको परिणामले थप परिपक्व र जनअनुमोदित नेताका रूपमा स्थापित गरिदिएको छ । युवाहरुको प्रतिनिधि बनेर राजनीतिक क्षितिजमा उदाउनुभएकी उहाँ भद्रपुर नगरपालिका–२ की बासिन्दा हुनुहुन्छ । सांसद डाँगी रास्वपाको हाल केन्द्रीय सदस्य हुनुहुन्छ ।

सांसद डाँगीले यसअघिको प्रतिनिधिसभामा पार्टीको सचेतकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको शिक्षा हासिल गर्नुभएको छ । भीमबहादुर र देवीमाया डाँगीको सुपुत्रीका रूपमा उहाँको जन्म २०५३ मङ्सिर १६ गते झापाको भद्रपुरमा भएको हो । पूर्णकालीन राजनीतिमा आउनुभन्दा अघि पाँच वर्षसम्म उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

पत्रकारिताबाट राजनीतिमा होमिँदा डाँगीलाई समाज, राजनीति र नागरिकका समस्या बुझ्न सहज भएको थियो । उहाँ भन्नुहुन्छ, “पत्रकारिताले मलाई समाज, नागरिकका वास्तविक समस्या र राजनीतिको भित्री पाटो बुझ्न सघायो ।”

निर्वाचनताका जनताको घरदैलोमा पुग्दा डाँगीले झापा–१ का स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकतालाई बुझ्ने तथा समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसर प्राप्त गर्नुभयो । भ्रष्टाचार, नातावाद र ढिलासुस्तीको चर्को आलोचक रहँदै आउनुभएकी उहाँ इमान्दार बनेर सुशासन कायम गर्न आफूहरूलाई मतादेश प्राप्त भएको मान्नुहुन्छ ।

“हामीलाई प्राप्त मतादेश इमानदारिता र सुशासनका लागि हो”, सांसद डाँगी दृढताका साथ भन्नुहुन्छ, “म आफ्नो भिजन र मिसनमा प्रष्ट छु । अबको यात्रामा मप्रति व्यक्त भएको जनविश्वास र भरोसालाई खेर जाने दिने छैन । देशको हितमा काम गर्नेछु ।”

देश र जनताको हितमा सही नीति निर्माण र निर्णय गर्ने स्थानमा पुग्नुभएकी सांसद डाँगीमा युवा जोश र जाँगरका साथै राजनीतिक अनुभव र परिपक्वतासमेत उत्तिकै रहेको छ । युवा जोश, शैक्षिक निखार र संसदीय अनुभव प्राप्त उहाँबाट झापा–१ का जनताले मात्र होइन, जेनजी आन्दोलनपछि परिवर्तन चाहने सिङ्गो देशका युवाले ठूलो अपेक्षा राखेका छन् ।रासस