४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन

लोकतन्त्र र लोकतान्त्रिक निष्ठाले जितेको दिन
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित पद्मोदय नमुना मावि केन्द्रमा बिहीवार प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्दै अशक्त ज्येष्ठ नागरिक ।तस्बिरः कुलदीप न्यौपाने-रासस
अ+ अ-

काठमाडौँ: नेपालको राजनीति जब अनिश्चयको भुमरीमा फस्न खोज्छ र सडकमा आक्रोशको लहर चल्छ, तब धेरैलाई लाग्छ– अब प्रणाली नै पो ढल्ने हो कि ! मुलुकमा यस्तो क्षण पटक–पटक आएको छ ।

निकट विगत अर्थात् भदौ २३ र २४ गतेको त्यो ‘जेनजी विद्रोह’ पछिको स्मरण गरौँ त ! जनमानसको मन मनमा जुन सन्नाटा र संशय छाएको थियो । त्यसले नेपालको लोकतान्त्रिक भविष्यमाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको थियो । तर, आज सम्पन्न निर्वाचनले ती तमाम संशयलाई चिर्दै एउटा बलियो सन्देश दिएको छ कि नेपाली लोकतन्त्र संकटमा झन् सम्हालिन्छ र यसले निकास खोज्न जान्दछ ।

गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन हुँदा धेरैलाई यो केवल ‘आवश्यकताको सिद्धान्त’को एउटा कमजोर ‘त्यान्द्रो’ मात्र लागेको थियो । विद्रोहको राप, भौतिक संरचनाको क्षति र कानुनी राज्यविहीनताको त्यो तरल अवस्थामा छ महिनाभित्र निर्वाचन हुन्छ भन्नु केवल स्वेत कल्पनाजस्तो थियो ।

चरम अविश्वास थियो । घोर निराशा थियो । देशैभरि सन्नाटा छाएको थियो, मानौँ ठूलै आँधीबेहरीपछिको सन्नाटा । त्यसभित्र शुन्यता थियो । हुन पनि मुलुकमा जेनजी पुस्ताको यस्तो अकल्पनीय विद्रोह भयो कि त्यो कुनै नियमित आकस्मिकता थिएन । सिंहदरबारदेखि मुुलुकका महत्वपूर्ण भौतिक संरचनामा क्षति पुग्यो । दुई दिनको आन्दोलनबाट मानिसहरुका आशा र आस्थाका धरहरा एकाएक ढल्न थाले । अनुशासन भड्कियो । कानुनी राज्यविहीनताको अवस्था सृजना भयो ।

भदौ अन्तिम साताको मुलुकको परिस्थिति सम्झिनुस् त ! अवस्था यति तरल बन्न पुग्यो कि भोलि के हुन्छ भन्ने कुराको कुनै अनुमान गर्न सक्ने अवस्था थिएन । थरिथरीका अनुमानले नेपाली लोकतन्त्रको भविष्य अँध्यारो सुरुङभित्र छिर्दै गरेको भनेर टिप्पणी हुन्थे । यसले चुनाव सम्भव हुन्छ भन्ने कल्पनाको क्षितिज निकै दूर थियो ।

सुरुका दिनमा न राजनीतिक दल न त आमजनताले आजको दिन देख्न पाइएला भन्ने विश्वास गरेका थिए । यतिसम्म कि देश सम्पूर्ण रुपमा चुनावमा होमिसकेको अवस्थामा पनि केही दिनअघिसम्म अनेकन शङ्का उपशङ्का व्यक्त भइरहेका थिए ।

भनिन्छ नी, आकाश ढाकेको कालो बादलभित्र पनि चाँदीको घेरा हुन्छ । हो, त्यही चाँदीको घेराभित्र भविष्य देख्यो, सम्माननीय सुशीला कार्की नेतृत्वको सरकारले । सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको संवैधानिक जुक्ति भनेर कोरिदिएको निर्वाचन सम्पन्न गर्ने ‘लक्ष्मण’ रेखामा रहेर प्रधानमन्त्री कार्कीले निर्वाचनलाई आफ्नो अर्जुनदृष्टि बनायो । त्यसैले त आज असम्भवजस्तै लाग्ने निर्वाचन सम्भव भएको छ । जब राजनीतिक दलहरू नै निर्वाचनको निष्पक्षता र सुरक्षालाई लिएर द्विविधामा थिए, तब सरकारले निर्वाचनलाई लोकतन्त्र जोगाउने र संविधानलाई पुनः लिकमा ल्याउने एकमात्र संकल्प लियो ।

एकातिर सिंहदरबारमा आगो पुत्ताउँदै थियो, अर्कोतिर सरकारप्रति नै राजनीतिक दललगायत सरोकारवाला आश्वस्त भइसकेका थिएनन् । उनीहरु निर्वाचनको निष्पक्षता र सुरक्षामाथि प्रश्न उठाएर अनेक अड्कल गरिरहेका थिए, तर सरकार आफ्नो लक्ष्यबाट विचलित भएन ।

विस्तारै अविश्वासलाई विश्वासमा परिणत गर्न प्रयत्न गरिरह्यो । कार्की नेतृत्वको सरकारले कमजोर मनोबलमा रहेको भनिएको सुरक्षा निकाय, निर्वाचन आयोग र सरोकार भएकाहरुलाई विश्वासमा लिँदै अघि बढ्यो । लिकबाट झण्डै बाहिरिन खोजेको संविधानलाई पुनःबहाली गर्न, कानुनी राज्यलाई निरन्तरता दिन र विद्रोहमार्फत जेनजी पुस्ताले खोजेको सुशासन स्थापना गर्न निर्वाचन बाहेकको अर्काे विकल्प थिएन ।

प्रतिनिधिसभा विघटन भएको वा कार्यकाल सकिएको छ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था थियो । यो मर्म बुझेको व्यक्ति भएकाले पनि होला पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको सरकारले त्यो दायित्वबाट विचलित नभई युगीन जिम्मेवारी पूरा गरेको छ । यसका लागि सरकार नेपाली जनताका लागि धन्यवादको पात्र छ । प्रधानमन्त्री कार्कीको अविचलित निष्ठा र साहसमा उहाँका सारथी गृहमन्त्री ओमप्रकाश अर्यालको सालिनता र धैर्यताले पनि आज यो रुप र स्वरुपमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको हो भन्दा फरक नपर्ला ।

फेरि दोहो¥याउँछु, मतगणना सुरु हुँदै गर्दा बाकसभित्र कसको भाग्य कस्तो छ, भन्ने चासो स्वाभाविक हो, तर यो क्षणमा कुनै व्यक्ति वा दलको जीतभन्दा पनि पद्धतिको जीत ठूलो कुरा हो । यो जीत प्रधानमन्त्री सुशीला कार्की र हामी नेपाली जनताको हो । प्रधानमन्त्री कार्की, जसको अदम्य साहसको जित हो ।

उहाँले जेनजी समूहको धम्की र दबाबका बीच पनि आफ्नो न्यायिक निष्ठा र कार्यकारी दृढता डगमगाउन दिनुभएन । यसमा गृहमन्त्री अर्यालको सालिनता र निर्वाचन आयोगको अहोरात्र खटाई उत्तिकै प्रशंसनीय छ । जेनजी विद्रोहले एउटा स्पष्ट संकेत दिएको थियो कि अबको पुस्ता पुरानो ढर्राको ‘कन्जरभेटिभ’ अभ्यासबाट सन्तुष्ट छैन । त्यसैले यो निर्वाचनले अब नेपाललाई ‘लिबरल डेमोक्रेसी’ र वास्तविक सुशासनतर्फ डो¥याउने नयाँ ढोका खोलेको छ ।

भनिन्छ, बाटो चुके दिनको फेर हुन्छ तर मौका चुके युगको फेर । आज हामी गर्व र ढुक्कका साथ भन्न सक्छौँ कि अब फेरि हामीले कठिन दिनको सामना गर्नुपर्ने छैन । किन भने हामीले सङ्कटका बीच पनि मौका चुकाएनौँ । अवसर पनि गुमाएका छैनौँ । अब हामीले न त सरकार गठन गर्न कुनै अवश्यकताको सिद्धान्तको साहारा लिनुपर्नेछ र न त लोकतन्त्रको सम्वर्धन र गणतन्त्रको संरक्षणका लागि कुनै बाधा अड्काउ नै फुकाउनुपर्ने बाध्यता छ ।

हामीले लोकतान्त्रिक शासन व्यवस्थाका लागि विश्वमा सर्वस्वीकृत विधि निर्वाचन बडो शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गरेका छौँ र यही विधिबाट अघि बढ्ने प्रण गरेका छौँ । त्यसैले आजको दिन लोकतन्त्रले जितेको दिन हो र हिजोको सङ्कट एवं अप्ठेरो परिस्थितिबाट अब सहज र प्रजातान्त्रिक मार्ग पहिल्याउन प्रण गरेको दिने हो ।

अब बाकसमा बन्द भएका मतपत्रहरू केवल उम्मेदवारका भविष्य होइनन्, ती त नेपालको सुदृढ लोकतन्त्रका नयाँ आधारशिला हुन् । यो निर्वाचन सम्पन्न भएसँगै मुलुक राष्ट्रिय एकताको बाटोमा फर्किएको छ र लोकतान्त्रिक संस्कारको जीत भएको छ । प्रतिकूलताका बीच पनि मुलुकलाई यो बिन्दुसम्म ल्याउने वर्तमान सरकार र दृढ सङ्कल्पित नेतृत्व, यसमा सहयोग गर्ने सबै राजनीतिक दल साँच्चै नै धन्यवादका पात्र छन् ।रासस