काठमाडाैँ । प्रतिनिधिसभा निर्वाचन सुरक्षा प्रयोजनले नेपाल–भारत सीमा क्षेत्रको आवागमन बन्द हुने भए पनि मिथिला परिक्रमामा सहभागी भारतीय यात्रीलाई घर फर्कन सहज व्यवस्था मिलाइएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार फागुन १८ गते मध्यरातदेखि फागुन २१ गतेसम्म निर्वाचन सुरक्षा कारणले सीमा नाका बन्द हुने भए पनि परिक्रमामा सहभागी भारतीय यात्रीलाइ फर्कन सहजीकरण गरिनेछ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, भारतीय यात्रीलाइ फागुन १९ गते मध्याह्नदेखि बुधबार मध्याह्नसम्म घर फर्कन सुरक्षा कार्यालयमा खटिएका सुरक्षाकर्मीले सहयोग गर्नेछन्। सो क्रममा सीमा नाका बन्द भए पनि यात्रीलाइ केवल भारततर्फ फर्किन अनुमति दिइनेछ।
प्रजिअ यादवले थपे, “भारतीय यात्रीलाइ धनुषाको जयनगर र जटही, तथा महोत्तरीको मटिहानी र भिठ्ठामोर नाका हुँदै फर्कन सहयोग गरिनेछ। यसको लागि महोत्तरी र धनुषा जिल्ला प्रशासन कार्यालयबीच समन्वय मिलाइएको छ।”
१५ दिने परिक्रमामा सहभागी यात्रीलाइ अन्तिम दिन सोमबार जनकपुरमा रात्रिभोजको व्यवस्था गरिएको छ। मङ्गलबार बिहान पञ्चकोसी परिक्रमाको अन्तिम चरण सम्पन्न भएपछि, बुधबार मध्याह्नसम्म भारतीय यात्रीलाइ घर फर्कन सहजीकरण उपलब्ध गराइने जिल्ला प्रशासनले जनाएको छ। परिक्रमामा उल्लेख्य संख्यामा भारतीय साधु–सन्त र सर्वसाधारण सहभागी भएका छन्।
न्यूजपोलार
१५ फाल्गुन २०८२, शुक्रबार ०९:५७
न्यूजपोलार
१५ फाल्गुन २०८२, शुक्रबार ०९:५७
१५ फाल्गुन २०८२, शुक्रबार ०९:५७









