काठमाडाैँ । सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ४७ वर्षीय गिरिजानन्द साहको ज्यान गएको हो। प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले दुर्घटनाको विवरण जानकारी दिए ।
आज बिहान बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलस्थित भित्री सडकमा को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा विजय ऋषिदेव गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सोही दुर्घटनामा दुहबी–५ का दिपेन ऋषिदेव घाइते भएका छन् र उनको उपचार भइरहेको छ।
यस्तै, गएराति इटहरी उपमहानगरपालिका–१३ कोशी लोकमार्गमा कारको ठक्करबाट पैदलयात्री गिरिजानन्द साहको मृत्यु भएको छ। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–००१–००१ च ७५०५ नम्बरको कारले बाटो काट्दै गरेका साहलाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ठक्करपछि कार अनियन्त्रित भई सोही दिशातर्फ गइरहेको प्र १–०२–००३ ह ४८९८ नम्बरको टेम्पोलाई समेत ठक्कर दिएको थियो।
उक्त घटनामा टेम्पो चालक इटहरी–२० का ४४ वर्षीय वसन्त घिसिङ, टेम्पोमा सवार ५९ वर्षीय प्रेमकुमार गुरुङ तथा इटहरी–१२ का २२ वर्षीय कार चालक विकी विश्वकर्मा सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











