१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उज्यालो नेपाल पार्टीले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक

उज्यालो नेपाल पार्टीले निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक
अ अ+ अ-

काठमाडौँ। उज्यालो नेपाल पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले ‘गफ होइन काम, भाषण होइन परिणाम’ नारासहित सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर विस्तृत योजना अघि बढाएको हो । कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीले संविधान, शासन प्रणाली र राज्य संरचनालाई नागरिकमैत्री बनाउने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने तथा अर्थतन्त्रलाई उत्पादनमुखी बनाउँदै रोजगारी विस्तार गर्ने स्पष्ट रोडम्याप प्रस्तुत गरेको जानकारी दिनुभयो ।

सुशासन र संरचनात्मक सुधारमा जोड 

प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा समयमै पाउने अधिकार सुनिश्चित गरिने, प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाइने तथा सार्वजनिक पदाधिकारी र कर्मचारीको वार्षिक सम्पत्ति विवरण अनलाइनमार्फत सार्वजनिक गरिने उल्लेख छ ।

शासन खर्च घटाउने उद्देश्यले प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ । सङ्घीय मन्त्रालय १५ वटामा सीमित गर्ने, प्रदेश मन्त्रालय ५ देखि ७ वटासम्म राख्ने तथा राज्यमन्त्री र सहायकमन्त्री नराख्ने व्यवस्था मिलाइने पार्टीको प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको अवधारणा पनि अघि सारिएको छ । पार्टीले सरकार गठनपछि हरेक वर्ष प्रतिबद्धता कार्यान्वयनको ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समृद्धिका लक्ष्य र आर्थिक रूपान्तरणको लक्ष्य

उज्यालो नेपाल पार्टीले सन् २०३० सम्म कूल गार्हस्थ उत्पादन (जिडिपी) ७० अर्ब अमेरिकी डलर र २०३५ सम्म १११ अर्ब डलर पु¥याउने लक्ष्य निर्धारण गरेको छ । सन् २०३५ सम्म नेपाललाई उच्च मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने दाबी गरिएको छ ।

निर्यातलाई सन् २०३० मा १० अर्ब डलर र सन् २०३५ सम्म २० अर्ब डलरसम्म विस्तार गर्ने लक्ष्यसहित जलविद्युत्, जडीबुटी, सिमेन्ट, पर्यटन र आइटीलाई प्राथमिकता क्षेत्रका रूपमा अघि बढाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

ऊर्जा क्षेत्रमा सन् २०३० सम्म १२ हजार मेगावाट र सन् २०३५ सम्म २५ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने तथा भारत, बङ्गलादेश र चीनतर्फ विद्युत् निर्यात विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ । विद्युत निर्यातबाट वार्षिक पाँच अर्ब डलर राजस्व प्राप्त गर्ने लक्ष्य पार्टीले राखेको छ ।

रोजगारी र युवा केन्द्रित कार्यक्रम

पार्टीले सन् २०३० मा नौ लाख र सन् २०३५ मा १५ लाखसम्म प्रतिवर्ष रोजगारी वृद्धि गर्ने लक्ष्य प्रस्तुत गरेको छ । युवा स्व–रोजगारी अभियान, न्यून ब्याज ऋण र पाँच लाख रुपैयाँसम्मको स्टार्टअप अनुदानमार्फत युवालाई उद्यमशील बनाइने प्रतिबद्धतापत्रमा उल्लेख छ । सातै प्रदेशमा १६–३५ वर्षका युवाका लागि युवा रोजगार मेला आयोजना गरी निःशुल्क सीप सिकाउने व्यवस्था मिलाइने छ ।

पार्टीको प्रतिबद्धतापत्र अनुसार प्रत्येक घरमा रोजगारी अभियान ः पाँच वर्षमा १० लाख युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न उद्यमशीलता कोषबाट रु १० लाखसम्म निब्र्याजी ऋणसहित मेन्टरसीपको व्यवस्था गरिनेछ । युवा नेतृत्व तालिमः १८–३५ वर्ष उमेरका युवालाई समानुपातिक आधारमा १०१ सदस्यीय युवा संसद् गठन गरी नेतृत्व विकासका लागि कार्यक्रम सञ्चालन गरिनेछ ।

कृषि, पर्यटन र पूर्वाधार

कृषिमा डिजिटल आइडीमार्फत अनुदान सिधँै किसानको खातामा पठाउने, ५० प्रतिशत कृषि क्षेत्रलाई जैविक बनाउने तथा लागत मूल्यमा २० प्रतिशत थप गरी खरिद गर्ने व्यवस्था गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ । पर्यटनतर्फ सन् २०३५ सम्म वार्षिक ५० लाख विदेशी पर्यटक भित्रयाउने लक्ष्य राखिएको छ । धार्मिक, आध्यात्मिक, स्वास्थ्य, शिक्षा तथा साहसिक पर्यटनलाई प्राथमिकता दिँदै नेपाललाई अन्तरराष्ट्रिय पर्यटन हबका रूपमा विकास गरिने प्रतिबद्धता छ ।

पूर्वाधारतर्फ आगामी पाँच वर्षमा आठ हजार किलोमिटर कालोपत्र सडक, ४ हजार किलोमिटर ग्राभेल र ३ हजार किलोमिटर नयाँ ट्रयाक खोल्ने योजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ । रेलमार्ग, जलमार्ग र स्मार्ट सिटी अवधारणालाई प्राथमिकतामा राखिएको छ ।

स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षा

हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालन गर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक विशेषज्ञ चिकित्सक राख्ने योजना सार्वजनिक गरिएको छ । विश्वविद्यालय तहसम्म निःशुल्क शिक्षा, नवजात शिशुको नाममा रु १५ हजार बचत खाता र डिजिटल कक्षासहित ‘स्मार्ट स्कूल’ अभियान सञ्चालन गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

सामाजिक सुरक्षातर्फ भूमिहीनलाई जग्गा वितरण, सस्तो आवास कार्यक्रम तथा आकस्मिक मृत्युका घटनामा परिवार संरक्षण प्याकेज लागू गरिने पार्टीले जनाएको छ ।

भ्रष्टाचारविरुद्ध कडा नीति

भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिलाई आजीवन सार्वजनिक पदमा प्रतिबन्ध लगाउने र सम्पत्ति राष्ट्रियकरण गर्ने नीति अघि सारिएको छ । ‘उज्यालो हटलाइन’ स्थापना गरी सूचनादातालाई अदालतबाट ठहर भएको रकमको पाँच प्रतिशत पुरस्कार दिने व्यवस्था मिलाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

जवाफदेहिताको प्रतिबद्धता

पार्टीले आफ्नो प्रतिबद्धतापत्र विज्ञ र सरोकारवालासँगको छलफल तथा अध्ययनका आधारमा तयार गरिएको जनाएको छ । नेपालमा विगतमा लोडसेडिङ अन्त्य गरिएको उदाहरण दिँदै अन्य क्षेत्रमा योजनाबद्ध ढङ्गले सुधार सम्भव रहेको दाबी गरिएको छ । सरकार गठन भए हरेक वर्ष प्रगति विवरण सार्वजनिक गर्दै जनतामाझ प्रत्यक्ष मूल्याङ्कनका लागि प्रस्तुत गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।