५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान News Polar ओलीको राजनीतिक प्रतिवेदन : जेनजी आन्दोलनपछि बढ्यो बाह्य चलखेल News Polar बाढी प्रभावितको पुनःस्थापनाबारे सञ्चारमन्त्री डा तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी

तँ भन्न पाईदैन, महिनामा एक दिन अनिवार्य वनभोज

तँ भन्न पाईदैन, महिनामा एक दिन अनिवार्य वनभोज
अ+ अ-

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता–कार्यकर्तालगायत सदस्यलाई सबैसँग मर्यादित, सरल र मिठासपूर्ण भाषा प्रयोग गर्दै अनुशासित, नैतिकवान् र जिम्मेवार बन्न निर्देशन दिएको छ । नेकपाले जारी गरेको आचारसंहितामा आफ्ना सदस्यलाई अनुशासन, जिम्मेवारीबोध र कर्तव्यबोधको पाठ सिकाइएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार जारी गरेको ११ बुँदे आचारसंहितामा पार्टीका नेता, कार्यकर्तासहित सबै सदस्यले अब शिष्ट भाषा प्रयोग गर्नुपर्ने उल्लेख छ ।

भ्रष्टाचार, कालोबजारी, गैरकानुनी कमिसन, करछली, अनियमितताजस्ता अपराध नगर्ने, गर्न नदिने तथा आफूसँग प्राप्त सूचना सरकारलाई उपलब्ध गराउने कर्तव्य निर्वाह गरी नमुना बन्नुपर्ने आचारसंहितामा उल्लेख छ । आचारसंहिता उल्लंघन गर्नेको सदस्यता खारेज गर्ने चेतावनी पनि नेकपाले दिएको छ । यो निर्देशनसँगै नेकपा सदस्यले अब कसैलाई पनि हेप्न र होच्याउन पाउनेछैनन् ।

‘परिवारका सदस्य र अरूसँग बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण बनाउनुपर्छ । कसैलाई पनि हेलाहोचो, एकारान्त तथा तँ भन्न पूर्ण रूपले बन्द गर्नुपर्छ । छोराछोरीको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, व्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ,’ अध्यक्षद्वय ओली र दाहालले जारी गरेको आचारसंहितामा उल्लेख छ ।पार्टीको सिद्धान्त, कार्यक्रम, नीति र विधान, नियमावली, निर्णय तथा आचारसंहिता पालना गर्नु प्रत्येक पार्टी सदस्यको कर्तव्य रहेको उल्लेख गर्दै नेकपाले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

आचारसंहिताको पालना नगर्ने तथा पटक–पटक सचेत गराउँदा पनि नसुध्रिने सदस्यलाई कानुनसँग सम्बन्धित सवालमा कानुनबमोजिम, पार्टी अनुशासनसँग सम्बन्धित सवालमा पार्टी विधान, नियमावली र निर्णयबमोजिम कारबाही गरिने नेकपाले जनाएको छ । झट्ट हेर्दा प्राविधिक जस्तो लाग्ने आचारसंहिता पार्टीले झेलिरहेका राजनीतिक तथा संगठनात्मक समस्याहरूको समाधानका लागि महत्वपूर्ण रहने नेकपाले जनाएको छ । पार्टीलाई गतिशील र अभिभारा वहन गर्न समर्थ तुल्याउन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सक्रिय रूपमा जुट्न केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीलाई निर्देशन दिइएको छ ।

नेकपाले आफ्ना सदस्यलाई परिवारका सदस्यहरू सबैजना सँगै बसेर खाना खानुपर्ने आचारसंहिता बनाएको छ । बालबालिका, अशक्त र ज्येष्ठ नागरिकलाई काम लगाउन नपाइने र उनीहरूसित प्रेम, सहयोग र सद्भावपूर्ण व्यवहार गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । परिवारमा गालीगलौज, झगडा, भेदभाव र छुवाछूत पूर्ण रूपले अन्त्य गर्नुपर्ने उल्लेख गर्दै नेकपाले चाडपर्व र अन्य कामका लागि खर्च गर्दा मितव्ययी हुनुपर्ने निर्देशन गरेको छ । यस्तै, घरभित्र र बाहिर पनि महिलाप्रति सम्मान प्रकट गर्नुपर्ने नेकपाले जनाएको छ ।

‘हामीलाई इतिहासले जनताको जनवाद कार्यान्वयन गर्ने, समृद्धि हासिल गर्ने र समाजवाद निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । हामी सही नीति र प्रभावकारी संगठनात्मक प्रबन्धका साथ अघि बढेका छौं । यसका लागि पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूले यी आचारसंहिता पालन गर्न जरुरी छ,’ नेकपाले जारी गरेको निर्देशनमा भनिएको छ । नेकपाले प्रत्येक पार्टी सदस्यले श्रमप्रति आस्था र श्रमजीवीप्रति सम्मान प्रकट गर्नुपर्ने उल्लेख गर्दै जुनसुकै प्रकारको श्रमिक बन्न तयार हुनुपर्ने जनाएको छ ।

आफूले गरेको श्रमबाट आर्जित कमाइबाट राज्यलाई कर तिर्नु र जीवन निर्वाह गर्नुपर्ने जनाउँदै नेकपाले पार्टीलाई आफ्नो कमाइबाट नियमित रूपमा सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने आचारसंहिता बनाएको छ । ‘बेलाबेलामा परिवारका सदस्य सबै जुटेर पारिवारिक बैठक बसी हार्दिकतापूर्ण वातावरणमा सबैले सबैलाई सल्लाह, सुझाव दिने र आलोचना गर्ने स्थिति निर्माण गुर्नपर्छ,’ नेकपाले जारी गरेको आचारसंहितामा उल्लेख छ, ‘१६ वर्ष पुगेका परिवारका सबै सदस्यबीच दिनभरि गर्नुपर्ने घरका कामहरू सम्पन्न गर्न कार्यविभाजन गर्नुपर्छ । कार्यविभाजन गर्दा सबभन्दा अप्ठेरो काम आफूले लिनुपर्छ ।’

सकेसम्म घरका सबै काम आफ्नै परिवारका सदस्यको सहयोगमा सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै नसक्ने अवस्थामा मात्र बाहिरबाट सहयोगी राख्नुपर्ने आचारसंहितामा उल्लेख गरिएको छ । आफूले काम गरिरहेको अवस्थामै सहयोग लिने गरी काममा लगाउनुपर्छ । खानपिन, बस–उठ गर्दा कुनै किसिमको भेदभाव नहुने गरी परिवारका अन्य सदस्यसँग गरिने व्यवहारसरह सम्बन्ध विकास गर्नुपर्छ । बालबालिकालाई घरेलु श्रमिकका रूपमा राख्न नमिल्ने आचारसंहितामा उल्लेख छ । पार्टी सदस्यले आफूमा व्यक्तिवादी, स्वार्थी भावना विकसित हुन नदिन कुनै किसिमको व्यवसाय वा उद्योग सञ्चालन गर्दा सकेसम्म सामूहिक नेतृत्वमा सञ्चालन गर्नुपर्छ ।

उनीहरूले सञ्चालन गर्ने व्यवसायमा संलग्न श्रमजीवीलाई न्यूनतम रूपमा पनि कानुनबमोजिमको पारिश्रमिक र सुविधा र सम्मानपूर्ण व्यवहार गर्नुपर्ने हुन्छ । समाजमा रहेका कुरीति, रूढीवादी संस्कार, भेदभाव, छुवाछूत र महिलामाथि हुने हिंसाविरुद्ध सधैं खडा हुन निर्देशन गरिएको छ । त्यस किसिमका गलत व्यवहार अन्त्य गर्न सांस्कृतिक सचेतना अभियान सञ्चालन गर्न सधैं प्रयत्न गर्नुपर्छ । कुनै पनि पार्टी सदस्यले महिला हिंसा र छुवाछूतपूर्ण व्यवहार गरेको प्रमाणित भएमा तुरुन्तै पार्टीबाट निष्कासन गर्नुपर्छ र त्यस्तो व्यक्तिलाई जनप्रतिनिधिमूलक निकायमा उम्मेदवार बन्न बन्देज लगाउनुपर्छ ।

पाँच वर्ष पुगेका बालबालिकालाई अनिवार्य विद्यालय पठाउनुपर्ने जनाउँदै नेकपाले घरमा सिक्ने सिकाउने उपयुक्त वातावरण सिर्जना गरी बालबालिका हुर्काउनुपर्ने हुन्छ । पार्टी सदस्यले नेपालको संविधान र प्रचलित कानुनलाई निःसर्त पालना गर्ने र कानुनबमोजिम कर तिर्ने आचरणको विकास गर्नुपर्छ । महिनामा एक दिन गाउँ वा टोलका सबै परिवारजनबीच वनभोज वा सहभोज गर्नुपर्ने उल्लेख गर्दै नेकपाले यसबाट सामूहिक भावना सिर्जना हुने विश्वास लिएको छ । त्यस्ता कार्यक्रममा मद्यपान, धूमपान र छाडा व्यवहार गर्न प्रतिबन्ध नै लगाउनुपर्छ ।

मनोरञ्जनका निम्ति शुभकामना आदान–प्रदान, मेलमिलाप, सार्वजनिक महत्वका विषयमा छलफल, नाचगान, नाटक, प्रवचन आदि सञ्चालन गर्नुपर्ने नेकपाले जनाएको छ । नेकपाले प्रत्येक सदस्यले आफ्नो दैनिकीमा सादा जीवन र उच्च विचारलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै आफूले मात्र होइन आफ्नो परिवार, गाउँ, टोल, सहरबजार, स्कुल, कलेज सबै ठाउँ र संस्थानमा यस किसिमको जीवनशैलीका निम्ति प्रोत्साहन गर्नुपर्ने निर्देशन गरेको छ । आफ्नो जीवनलाई सधैं जनताबीच खुला किताब जस्तै राख्न प्रयत्न गर्नुपर्छ ।

समाजमा रहेका कुरीति, कुसंस्कार र अन्धविश्वासजस्ता चलन समाप्त गर्न अग्रगण्य भूमिका खेल्नुपर्छ । समाजबाट बालविवाह, बहुविवाह, दाइजो, बोक्सी, छाउपडी, उचनीच, छुवाछूत, जातपात र जातिभेद जस्ता कुसंस्कार र कुरीति अन्त्य गर्न सक्रियतापूर्वक लाग्न आचारसंहितामा निर्देशन दिइएको छ । यस किसिमका दुष्कर्मबाट आफूलाई सुधार गर्न नचाहने तथा दुरुत्साहन गर्नेलाई कानुनबमोजिम सजायको भागिदार बनाउन सहयोग गर्न भनिएको छ । राजधानी दैनिकबाट