६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

भ्रष्टाचार सूचकांकमा नेपाल यस वर्ष ११३औं स्थानमा, कुन स्थानमा छन् अरु देश ?

भ्रष्टाचार सूचकांकमा नेपाल यस वर्ष ११३औं स्थानमा, कुन स्थानमा छन् अरु देश ?
अ+ अ-

काठमाडौं । नेपालको सुशासनको अवस्थामा सुधार हुँदै गएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई)मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गत वर्ष ३१ अंक पाएको नेपालले यस वर्ष ३४ अंक पाएर केही माथि उक्लिँदै सुधार गरेको हो । तर, अझै पनि नेपालको अवस्थामा आशा गरेअनुरूप सुधार आउन नसकेको अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । भ्रष्टाचार अवधारणा सूचकांकले ५० अंक ल्याउने मुलुकलाई सुशासनको अवस्था राम्रो भएको मान्ने गरेको छ । सूचकांकमा ५० भन्दा कम अंक पाउने मुलुक भ्रष्टाचारग्रस्त मानिन्छन् ।

नेपालको अवस्था अझै सुधारोन्मुख रहेको टीआईको निष्कर्ष छ । सन् २०१८ मा १२४औं स्थानमा रहेको नेपाल यस वर्ष ११३औं स्थानमा उक्लिएको छ । यस वर्ष नेपालले तीन अंक बढी पाएर कुल ३४ अंक बनाए पनि सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमध्ये २०औं स्थानमा छ । भ्रष्टाचार अवधारणा सूचकांक २०१९ का लागि ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सर्वेक्षण गरेका थिए । विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्स्म्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्ट (भीडीईएम) को सर्वेक्षणका आधारमा सूचकांक प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नेपाललाई विश्व बैंकले ३५ अंक दिएको छ भने वल्र्ड इकोनोमिक फोरमले ४० नम्बर, ग्लोबल इनसाइटले ३५ नम्बर, बर्टेल्स्म्यान फाउन्डेसनले २९ नम्बर, वल्र्ड जस्टिस प्रोजेक्ट ३५ नम्बर र भेराइटिज अफ डेमेक्रेसी प्रोजेक्टले २९ नम्बर दिएको छ । १ सय ८० मुलुकमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ट्रान्सफरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचारको नियन्त्रणको प्रयास सुधारोन्मुख भए पनि आशाअनुसारको प्रतिफल प्राप्त नभएको जनाएको छ । एक वर्षको अवधिमा भ्रष्टाचार नियन्त्रणका लागि स्थापित निकायहरू गत वर्षको तुलनामा बलियो र मजबुत देखिन थालेका छन् । गत वर्षको तुलनामा नेपालले एउटाबाहेक सबैजसो क्षेत्रमा बढी अंक पाएको छ ।

आयात–निर्यात, सार्वजनिक सेवा, कर भुक्तानी, ठेक्कापट्टा र न्याय प्राप्तिका लागि घुसखोरीको विषयमा स्थिति सुधार भएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल च्याप्टरका मुकुन्द प्रधानका अनुसार सन् २०१९ मा विश्वभर भ्रष्टाचार विरोधी अभियानमा शिथिलता आएको छ । पैसाले राजनीतिमा प्रभाव पारेका मुलुकमा भ्रष्टाचार मौलाएको देखिएको उनले बताए । सन् २००४ देखि नेपालमा ट्रान्सपरेन्सीको सूचांकमा समेटिन थालेको हो । सर्वेक्षणअनुसार निर्वाचनपछि पनि नेपालको सार्वजनिक क्षेत्रमा भ्रष्टाचार, व्यापार व्यवसायमा घुस, सार्वजनिक पद र अधिकारको दुरुपयोग, अनुगमन र कारबाहीमा कमी, सूचनामा नागरिकको पहुँचमा कमी, राजनीतिमा भ्रष्टाचार जस्ता दीर्घकालीन समस्या विद्यमान रहेको देखिन्छ ।

इन्टरनेसनल नेपालले भनेको छ, ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१९ मा नेपालले पाएको स्कोरले भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको देखिन्छ ।’ ट्रान्सपरेन्सी इन्टरनेसनलका अध्यक्ष डेलिया फरेरा रुवियोका अनुसार ‘सरकारी तहमा हुने भ्रष्टाचारबाट आजित जनतामा राज्यका निकायप्रतिको गिर्दो विश्वास हटाउन राजनीतिक सदाचारतर्फ उन्मुख हुनुपर्ने देखिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले शक्ति पृथकीकरणको प्रवद्र्धन, पक्षपातरहित बजेट र सेवामा सरोकारवालाको पहुँच, राजनीतिमा पैसाको प्रभावलाई न्यूनीकरण, स्वार्थको द्वन्द्वमा सम्बोधन, निर्णय प्रक्रियामा सरोकारवालाको अर्थपूर्ण पहुँच, निर्वाचनमा देखिने विकृतिको अन्त्य तथा नागरिक, सामाजिक अभियन्ता र पत्रकारहरूको सशक्तीकरणजस्ता विषयको सम्बोधनबाट भ्रष्टाचार नियन्त्रण गर्न र राजनीतिप्रति विश्वास जगाउन सरकारलाई सुझाव दिएको छ ।

भ्रष्टाचारमा कुन देशको अवस्था कस्तो ?

विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क छ । यसले ८७ अंक प्राप्त गरेको छ । विश्वमा सबैभन्दा बढी भ्रष्टाचार हुने देश सोमालिया रहेको जारी सूचीमा उल्लेख छ । सोमालियाले मात्रै ९ अंक प्राप्त गरेको छ । विश्वमा सुशासनको अवस्था सबैभन्दा उत्कृष्टको सूचीमा रहेका डेनमार्क र न्युजिल्यान्डले १०० अंकमा ८७ अंक पाएका छन् । त्यस्तै, फिनल्यान्डले कुल १०० अंकमा ८६ अंक प्राप्त गरेको छ । सुशासनमा उत्कृष्ट सिंगापुर, स्विडेन र स्विट्जरल्यान्डले ८५ अंक प्राप्त गरेका छन् ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा भेनेजुएला, यमन, सिरिया, दक्षिण सुडान र सोमालिया जनाएको छ । कुल १०० अंकमा भेनेजुएला १६ अंकसहित १७६औं र यमन १५ अंक पाएर १७७औं स्थानमा छ । सिररिया १३ अंकसहित १७८औं, दक्षिण सुडान १२ अंकसहित १७९ र सोमालिया ९ अंकसहित पुछारमा छ ।

दक्षिण एसियाली राष्ट्रमा भुटान कम भ्रष्टाचार गर्ने मुलुक:एसिया प्यासिफिक मुलुकमा सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा न्युजिल्यान्ड रहेको छ भने सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान देखिएको छ । सीपीआई २०१९ मा दुई तिहाइ मुलुकले ५० भन्दा कम अर्थात् औसत ४३ अंक पाएका छन् । २२ देशले भ्रष्टाचारको सूचकांकमा सुधार गरेका छन् भने २१ देशको स्कोर अझ तल झरेको छ ।

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देश भुटान हो । भुटान ६८ अंक प्राप्त गरी २५औं स्थानमा छ । दक्षिण एसियाली मुलुकमध्ये भुटान ६८ अंक प्राप्त गरी २५औं, भारत ४१ अंक प्राप्त गरी ८०औं, मालदिभ्स र श्रीलंका ३८ अंक प्राप्त गरी ९३औं, पाकिस्तान ३२ अकंसहित १२०औं, बंगलादेश २६ अंक प्राप्त गरी १४६औं र अफगानिस्तान १६ अंक प्राप्त गरी १७३औं स्थानमा छन् । त्यस्तै, चीन ४१ अंक प्राप्त गरी ८०औं स्थानमा छ ।

कसरी हुन्छ मापन ?

नागरिक र सेवाग्राहीले व्यक्त गर्ने अवधारणका आधारमा तय गरिने भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) प्रतिवेदन तयार गर्ने क्रममा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल आफैं प्रत्यक्ष संलग्न हुँदैन । विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र दातृ निकायले गर्ने सर्वेक्षणका क्रममा संकलन गरिने सूचनालाई विश्लेषण गरेर समग्र सूचक निकालिन्छ । अनुसन्धानका लागि विभिन्न स्रोतबाट तथ्यांक संकलन गरिन्छ ।

सम्बन्धित मुलुकमा भ्रष्टाचारको स्थितिबारे व्यवसायी तथा विभिन्न क्षेत्रका विज्ञ के सोच्छन् भनेर उनीहरूको धारणा बुझिन्छ । सार्वजनिक क्षेत्रमा रहेको भ्रष्टाचारबारे उनीहरूको धारणालाई विभिन्न अंक दिइन्छ । त्यसका आधारमा देशअनुसार विषयलाई स्कोर दिइन्छ । जहाँ अंक ० देखि १०० भित्रमा ० ले ‘सबैभन्दा भ्रष्टाचार हुने’ बुझाउँछ भने १०० ले ‘सबैभन्दा कम भ्रष्टाचार हुने’ भन्ने बुझाउँछ । राजधानी दैनिकबाट