३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल

निर्जन बन्दै हुम्लाको लिमी उपत्यकाः तीन वटै गाउँबीच स्थानान्तरणको सहमति

जलवायु संकटले बस्ती रित्तिँदै, सीमा सुरक्षा जोखिममा

निर्जन बन्दै हुम्लाको लिमी उपत्यकाः तीन वटै गाउँबीच स्थानान्तरणको सहमति
अ+ अ-

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर २ लिमी उपत्यकाका बासिन्दाहरू सामूहिक स्थानान्तरणको तयारीमा जुटेका छन् ।

जलवायु परिवर्तनजन्य विपद्को त्रासले पुख्र्यौली थलो छोडेर लिमीवासीहरु स्थानान्तरण हुन लागेका हुन् । लिमी छोडेर उनीहरुले टाक्ची गाउँमा जाने सहमति गरिसकेका छन् । केही दिनअघि मात्रै तीन गाउँहरुबीच स्थानान्तरण हुने सहमति भएको हो ।

स्थानीय समाजसेवी मंगल लामाकाअनुसार जाङ गाउँमा दुई घरधुरीसहित तिलमा १९ र हल्जीमा ९६ घरधुरी स्थानान्तरण हुने सहमतिमा पुगेका छन् । सबै बासिन्दा टाक्ची गाउँमा सर्ने सहमति भएको लामाले बताउनु भयो । लामाले सीमा सुरक्षा र पर्यावरण संरक्षणको चिन्ता पनि व्यक्त गर्नुभयो । लिमीवासीहरूको यो बाध्यताले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखाउँछ भने सीमा सुरक्षा र सांस्कृतिक धरोहर संरक्षणमा नयाँ चुनौती थपिएको छ ।

हुम्लाको नाम्खा गाउँपालिका–६ मा पर्ने लिमी उपत्यका हिमालपारिको एउटा लुकेको स्वर्ग हो । त्यहाँका तीन गाउँ—हल्जी, तिल र जाङ— सदियौंदेखि तिब्बती संस्कृतिको जीवन्त केन्द्र हुन् । कैलाश मानसरोवर दर्शनको प्रमुख मार्गमा पर्ने यो क्षेत्र, जहाँ हिउँले ढाकिएका चुचुरा, प्राचीन गुम्बा र शान्त उपत्यकाले मानिसलाई मोहित पार्छन् । तर आज यो उपत्यका निर्जन बन्दैछ । जलवायु परिवर्तनको प्रभावले यहाँका बासिन्दाहरू पुख्र्यौली थलो छोड्न बाध्य भएका छन् ।गत वर्षहरूमा बारम्बारको बाढी र हिमताल विस्फोटको जोखिमले लिमीवासीहरूलाई बस्नै नसक्ने बनायो । जाङ गाउँमा पहिले ६४ घरधुरी थिए, अहिले मात्र दुई बाँकी छन् । बाँकीहरू काठमाडौं वा अन्यत्र बसाइँ सरे । हल्जीमा ९६ र तिलमा १९ घरधुरीका बासिन्दाहरूले पनि अब टाक्ची गाउँतर्फ सामूहिक स्थानान्तरणको सहमति गरेका छन् ।

स्थानीय समाजसेवी लामाले भन्नुभयो, “कृषि शुरु भएपछि मानिसहरू विस्तारै तल सरे । अहिले बाढीले बस्न नसक्ने बनाएपछि तल्लो भेगमा खेती र माथिल्लो भेगमा पर्यटनको अवसर देखिएको छ । कैलाश दर्शन गर्नेहरूका लागि माथि सांस्कृतिक घरहरू बनाएर कल्चर जोगाउन सकिन्छ ।” 

उनीहरु आफूमात्र सरेका छैनन् त्यहाँस्थित सांस्कृतिक सम्पदा गुम्बाहरु पनि सँगै लगेका छन् । जलवायु परिवर्तनको विषय सबैको चासोको विषय भएको लामाले बताउनु भयो । हुम्ला इतिहास र संस्कृतिको धरोहर भएकाले त्यहाँको गुम्बा लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको स्थानीयहरुको भनाइ छ । देखाएर पैसा कमाउने हिमाली भेगहरु सरकारले बन्द गरेर राख्नु दुःखद् भएको स्थानीयहरुको गुनासो छ ।

“अब बस्नै नसक्ने अवस्था आएको छ । टाक्चीमा सबै सर्ने सहमति भएको छ,” उहाँ भन्नुहुन्छ,, “त्यहाँ खटिएका प्रहरीलाई समेत पर्याप्त कपडा र सुविधा छैन । आफू कठ्यांग्रिएर बस्नेले सीमा कसरी जोगाउन सक्छ ? त्यहाँका मानिसको रक्षा कसरी गर्नसक्छ ? स्थानीय पलायन भएपछि चोरीशिकारी बढ्छ, जडीबुटी र वनजंगल जोखिममा पर्छन् । सीमा सुरक्षामा ठूलो असर पर्छ ।”

हुम्लाको नाम्खा गाउँपालिका अन्तर्गत लिमी उपत्यकाका हल्जी, तिल र जाङ गाउँका बासिन्दाहरू जलवायु परिवर्तनको बढ्दो प्रभावले पुख्र्यौली थलो छोड्न बाध्य भएको नाम्खा वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ बताउनु हुन्छ । बारम्बारको बाढी, पहिरो र हिमताल विस्फोटको जोखिमले बस्नै नसक्ने अवस्था आएपछि उनीहरूले सामूहिक रूपमा टाक्ची गाउँतर्फ स्थानान्तरणको निर्णय लिएको उहाँको भनाइ छ ।  चीनको तिब्बतसँग जोडिएको यो संवेदनशील सीमावर्ती क्षेत्र कैलाश मानसरोवर दर्शनको प्रमुख मार्ग पनि हो । यो पलायनले राष्ट्रिय सुरक्षा, सांस्कृतिक संरक्षण र पर्यटनमा गम्भीर असर पार्ने देखिन्छ । लिमीवासीहरू जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेको बताउनु भयो ।

नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङ भन्नुहुन्छ, “हेलिकप्टर आउँछ, राहत ल्याउँछ भन्छन् तर एक दाना चामल पनि पुगेको छैन दुर्गम स्थानमा । हाम्रो पालिकामा बजेट नै पर्याप्त हुँदैन । जलवायु परिवर्तनले ठूलो क्षति गरिरहेको छ । पहिले हिउँ र हिउँ पहिरो मात्र समस्या थियो, अहिले तापक्रम बढेर नयाँ जोखिम थपिएको छ ।”

उहाँले सीमा सुरक्षाको चिन्ता पनि व्यक्त गर्नुभयो । नाम्खा गाउँपालिका–६ का अध्यक्ष तामाङको यो अभिव्यक्तिले हुम्लाको दुर्गम हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर, राहत वितरणको कमजोरी र सीमा सुरक्षाको आवश्यकतामाथि गम्भीर प्रश्न उठाएको छ ।  “सीमा सुरक्षा अहिलेसम्म स्थानीय जनताले नै अनौपचारिक रूपमा गर्दै आएका छन् । सरकारले त्यहाँ प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्छ ।” उहाँको भनाइ छ ।

यी कुराहरूले जलवायु परिवर्तनको प्रभाव कति गहिरो छ भन्ने प्रष्ट पार्छन् । बढ्दो तापक्रमले हिमताल पग्लिने र विनाशकारी बाढीको जोखिम बढाएको छ । आधारभूत सुविधाको अभाव र विपद्को त्रासले युवाहरू काठमाडौँ वा अन्यत्र पलायन भइरहेका छन् । बस्ती रित्तिँदा सीमा क्षेत्र निर्जन बन्दै जान्छ । जसले अवैध गतिविधिको ढोका खोल्न सक्छ । हल्जीको ऐतिहासिक रिन्चेनलिङ गुम्बा जस्ता सम्पदा संरक्षणविहीन हुनेछन् । परम्परागत रूपमा जोगाइएको वन र जडीबुटीमा पनि क्षति पुग्नेछ । कैलाश मार्गको पर्यटन सम्भावना खेर जाने जोखिम छ ।

लिमीवासीहरूको यो बाध्यतालाई नेपाल सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । सडक सुधार, विपद् व्यवस्थापन, आधारभुत सुविधा विस्तार र सांस्कृतिक पर्यटनमा लगानी नगरे हिमाली सीमा नै असुरक्षित बन्नसक्छ । यो संकटलाई समयमै सम्बोधन नगरे राष्ट्रिय सुरक्षा र हिमाली पहिचान दुवै संकटमा पर्नेछन् । लिमीवासीहरूको यो बाध्यता जलवायु परिवर्तनको प्रत्यक्ष मार हो । कैलाश दर्शनको मार्गमा पर्यटनको सम्भावना थियो तर सडक अभाव र विपद्को त्रासले सबै खेर जाँदैछ । युवाहरू शहर पलायन भइसके, बूढापाका र बच्चाहरू मात्र बाँकी छन् । एउटा हजारौं वर्षको संस्कृति रित्तिँदैछ ।

यो कथा केवल लिमीको होइन, हिमाली नेपालको हो । यदि समयमै सडक सुधार, विपद् व्यवस्थापन र आधारभूत सुविधा पुगेन भने यो उपत्यका पूरै निर्जन बन्नेछ । कैलाशको छायाँमा बनेको यो स्वर्गलाई बचाउन अब ढिला गर्नुहुँदैन । लिमीका बासिन्दाहरूको विदाई मन छुने छ— उनीहरूले थातथलो छोडेर जाँदै गर्दा पछाडि फर्केर हेर्नेछन् र हिउँ पग्लिएको उपत्यकाले उनीहरूलाई पनि पग्लिएर बगेजस्तै महशुस हुनेछ ।—न्युज एजेन्सी नेपाल