काठमाडौं । विभिन्न बहानामा उपभोक्ता ठगिनेक्रम बढिरहेकै बेला सरोकारवाला निकायले कारबाही प्रक्रिया तीव्र बनाएका छन् । उपभोक्ताबाट निर्माण सामग्री, औषधि, खाद्यान्नलगायतमा आफूहरू ठगिइरहेको गुनासा आएपछि कारबाही तीव्र पारिएको हो ।तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा बुधबार आयोजित ‘बजार अनुगमन, अपराध अनुसन्धानमा लागूऔषधको अवस्था र नियन्त्रणका उपाय’ विषयक अन्तक्र्रियामा काठमाडौं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारको नीति पूर्तिका लागि दत्तचित्त भएर लागेको बताए ।

‘विभिन्न आपराधिक र उपभोक्ता ठगीका घटना न्यूनीकरणमा सक्रिय भएका छौं,’ उनले भने, ‘नागरिकता, राहदानी लिनेक्रममा बिचौलियाबाट सेवाग्राही ठगिँदै आएकाले यस विषयमा आमनागरिकलाई सचेत हुन आग्रह गर्दछौं ।’ काठमाडौं उपत्यका शतप्रतिशत सुरक्षित रहेको दाबी गर्दै दाहालले उत्तिकै सचेत पनि आग्रह गरे । विगतजस्तै विभिन्न चाडपर्व शान्तिपूर्ण सम्पन्न गर्न सफल भएको बताउँदै उनले शान्ति सुरक्षामा काठमाडौं जिल्ला प्रशासन कार्यालय चुस्तदुरुस्त रहेको ठोकुवा गरेका छन् ।
वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विगतकालाई सम्मान र बाँकी काम प्राप्त सुझावका आधारमा अघि बढाइने बताए । उपभोक्ता हितका लागि विभिन्न कार्यक्रम अगाडि सारिएको बताउँदै उनले ‘एसएमएस सिस्टम, क्यु सिस्टम, विद्युतीय हाजिरी, उपभोक्ता सहायता कक्षा अप्रेसन’मा ल्याएको उल्लेख गरे । सूचना र मापदण्डमा आधारित व्यवस्थित अनुगमन र दिगो प्रभावकारी अनुगमन गरिरहेको जानकारी दिँदै सुवेदीले अनुगमन ‘सूचना प्रणाली’मा आधारित हुनुपर्ने जिकिर गरे ।
कालाबजारीमा संलग्नमाथि मुद्दासमेत चलाइएको उनले अवगत गराए । बजारमा फलामे डण्डी, सिमेन्ट, स्टिल तथा उपभोग्य वस्तुमा ठगी भइरहेको गुनासो आइरहेकोले दोषीलाई कारबाही गर्न विभाग तत्काल लाग्ने महानिर्देशक सुवेदीको प्रतिबद्धता छ । औषधि व्यवस्था विभाग महानिर्देशक नारायणप्रसाद ढकालले स्वदेशमा भित्रने औषधिको गुणस्तरियता, बजार व्यवस्थापन, फार्मेसी अनुमगन गर्दै आएको जानकारी दिए । ‘कसैलाई कारबाही गर्नेभन्दा पनि सबै पक्षलाई जिम्मेवार भई काम गरोस् भन्ने वातावरण सिर्जना गर्न विभाग लागिपरेको छ,’ उनले भने ।
साल्ट टेडिङ कर्पोरेसनका डीजीएम ब्रजेश झाले संस्थाबाट उपलब्ध गराउँदै आएका सामग्री बजारभन्दा सुलभ र गुणस्तरीयमा सम्झौता नगरेको दाबी गरे । प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले बजारमा उपभोक्ता ठगिएको गुनासा आएको, आमजनताले सरकार भएको अनुभूति गर्नका लागि सरोकारवाला निकायले काम गर्नुपर्ने भएकाले त्यसअनुरूप गर्न आग्रह गरे । राजधानी दैनिकबाट











