२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा केन्द्रीय कमिटी बैठकमै पार्टी नेतृत्व र सरकारको चर्को आलोचना



अ+ अ-

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व र सरकारको चर्को आलोचना भएको छ । केन्द्रीय सदस्यहरूलाई विभिन्न १५ समूहमा विभाजन गरी पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा चर्को बहस गर्दै केन्द्रीय सदस्यहरूले नेतृत्वलाई सच्चिन सुझाव दिएका छन् ।

पार्टी विधानअनुसार केन्द्रीय कमिटी बैठक नबसेको, पार्टी नेतृत्व र सरकारले आफूखुसी काम गरेको, जनताको चाहना र आवश्यकताअनुसार सरकारको काम नभएको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गरेको एक केन्द्रीय सदस्यले बताए । ‘पार्टी विधानअनुसार बैठक बस्दैन तर नेतृत्वले आफूखुसी काम गर्नुहुन्छ,’ ती नेताले भने, ‘विधानअनुसार अहिलेसम्म पोलिटब्युरो कमिटी गठन गर्न नसक्नु नेतृत्वको असक्षमता नै हो ।’

पार्टी विधानअनुसार अहिलेसम्म पोलिटब्युरो कमिटीको गठन भएको छैन । गठन भएको स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको बैठक नियमित बसाउन नेतृत्वले नै रुचि नदेखाएको आरोप उनको छ । समूहगत छलफलमा सहभागी नेताहरूले व्यक्ति हेरेर पार्टीको विधान संशोधन गर्न लागेकोमा आपत्तिसमेत जनाए । तत्कालीन एमाले र माओवादीका समान हैसियतका नेताहरूलाई अपमान गर्ने तर केही नेताका लागि विधान संशोधन गरी अवसर प्रदान गर्नु ठीक नभएको एक केन्द्रीय सदस्यले बताए ।

पार्टी महासचिव पौडेलले सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने उद्देश्यले विधान संशोधन प्रस्ताव बैठकमा प्रस्तुत गरेका छन् । विधान संशोधन प्रस्तावमाथि आफ्नो धारणा राख्दै नेताहरूले तत्कालीन एमालेका उपध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूषाललाई स्थायी कमिटीमा सीमित गरी उपाध्यक्ष रहेका गौतमलाई मात्रै एकीकृत पार्टीको उपाध्यक्ष बनाउन खोज्नु राम्रो नभएको बताए । यसैगरी, बैठकमा अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे समेत विरोध भएको छ ।

एमसीसी सम्झौताको नेपालको हितमा नभएको भन्दै केन्द्रीय सदस्यहरूले पारित गर्न नहुने धारणा राखेका छन् । तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलगायतका नेताहरूले एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेका छन् । नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार एकदेखि आठसम्मको आठवटा समूह राष्ट्रियसभा गृहमा, नौदेखी ११ सम्मको तीनवटा समूह पार्टी कार्यालय पेरिसडाँडामा र १२ देखि १५ सम्मको चारवटा समूह पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल गरिरहेको छ ।

१५ वटै समूहमा प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन, महासचिव पौडेलको विधान संशोधन प्रस्तावका साथै सरकार र पार्टी नेतृत्वको कार्यशैली, एमसीसी सम्झौतालगायतका विषयमा चर्को बहस र छलफल भइरहको छ । उनीहरूले दिएका सुझाव समूहका नेताले शुक्रबारको बैठकमा प्रस्तुत गर्नेछन् । अहिले छलफल जारी नै रहेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीबार र शुक्रबार समूहहरूमा छलफल गरेर समूह नेताले समूहको निष्कर्ष प्रस्तुत गर्नेछन् ।

शुक्रबार १ बजेसम्ममा छलफल गरिसक्नुपर्नेछ । १ बजेदेखि बैठकमा समूहको निष्कर्ष प्रस्तुत गरिने कार्यतालिका रहेको छ । १० नम्बरको समूहमा टोली नेता टुंगो लगाउन विवाद भएको छ । समूह १० मा महेश बस्नेत, यज्ञराज सुनुवार, महबुब अन्सारी, युवराज ज्ञवाली र यशोदा अधिकारीलगायतका नेताहरूले समूह नेताका लागि प्रतिस्पर्धीमा रहेकाले टुंगो लगाउन सकस भएको हो । अन्य समूहको टोली नेता टुंगो लागिसकेको छ ।

समूह एकमा उर्मिला अर्याल र आनन्द पोखरेल (दुवै जना नेता), समूह दुईमा कमला रोक्का (नेता) र कृष्णध्वज खडका, कृष्ण राई (उपनेता), समूह तीनमा खिमलाल भट्टराई (नेता), समूह चारमा जगन्नाथ खतिवडा (नेता), समूह पाँचमा ठाकुर गैरे (नेता), समूह ६ मा दिनानाथ शर्मा (नेता) चयन भएका छन् । यसैगरी, समूह सातमा पूर्णकुमारी सुवेदी (नेता) र निरज आचार्य (उपनेता), समूह आठमा विन्दा पाण्डे (नेता), बलराम बास्कोटा र बलावती शर्मा (उपनेता), समूह नौमा भगवती चौधरी (नेता), भाष्कर काफ्ले (उपनेता) चयन भएका छन् । यसैगरी, समूह ११ मा राजेन्द्र राई (नेता), समूह १२ मा रेणु दाहाल (नेता), समूह १३ मा लेखनाथ न्यौपाने (नेता) र सावित्री भूसाल (उपनेता), समूह १४ मा राम कार्की (नेता) र शिवमाया तुम्बाहाङ्फे (उपनेता) तथा समूह १५ मा हिमाल शर्मा (नेता) चयन भएका छन् । राजधानी दैनिकबाट