३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह

धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह
अ+ अ-

गण्डकी । हिन्दू धर्मग्रन्थमा उत्तरतर्फ बगेका नदीलाई महातीर्थका रुपमा लिने गरिएको छ । संसारमा समान्यतः उत्तरतर्फ बगेका नदी निकै कम रहेका छन् । तिनै दुर्लभ उत्तरबाहिनी नदीमध्येमा बागलुङको ढोरपाटनस्थित उत्तरगङ्गा नदीलाई लिइन्छ । यिनै उत्तरबाहिनी गङ्गाको मुहानमा रहेको उत्तरगङ्गा ढोरबराह यस क्षेत्रकै महत्वपूर्ण तीर्थका रुपमा चासो र चर्चा कमाएको छ ।

उत्तरगङ्गा धामका रुपमासमेत चिनिएको यो तीर्थस्थलमा विशेषतः जनैपूर्णिमा र वैशाख शुल्क पूर्णिमा दिन विशेष मेला लाग्ने गरेको मन्दिरका पूजारी चामबहादुर बुढाले जानकारी दिनुुभयो । उत्तरतर्फ भई बग्ने उत्तरगङ्गा नदीको मुहान नै उत्तरगङ्गा ढोरबराह भएको जानकारी दिँदै उहाँले यहाँ आएर दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेको बताउनुुभयो ।

यस स्थलमा हरेक वर्ष जनैपूर्णिमा र वैशाख पूर्णिमाका दिन मेला भर्न बागलुङसहित पर्वत, म्याग्दीलगायत जिल्लाका साथै कास्की, स्याङ्जालगायतका स्थानबाट दर्शनार्थीहरू आउने गरेका छन् । मेलाका अवसरमा भक्तजनले भेडाको बलिसहित पूजाआजा गर्दै आएको उहाँले जानकारी दिनुुभयो । मेलामा सहभागी बन्नका लागि आउने भक्तजनले ढोरबराहमा पूजा गर्नुअघि यहाँ आउने बाटोमा रहेको रुद्रावती गङ्गाको उद्गमस्थल रुद्रतालमा स्नान एवम् पूजा गर्दै ढोरपाटन देउरालीमा पाती चढाएर जाने प्रचलन छ ।

यहाँ बर माग्ने पनि अनौठो मौलिक परम्परा छ । उत्तरगङ्गा ढोरबराहमा बर माग्न आउनेहरू सबैभन्दा पहिले रुद्रतालमा र त्यसपछि देउराली भञ्ज्याङमा रहेको देउराली थानमा धजा चढाउने गर्दछन् । त्यहाँबाट आएर यहाँका बाइस धारामा नुहाएर बराह मूलमा गएर बत्ती बालेर फूलपाती, अक्षताले भगवान शिवको बाहन बहरे गोरुलाई पूजा गरी २२ वटा ध्वजा चढाउँछन् । “यहाँ आएर दर्शन गरेमा सन्तान नभएकालाई सन्तान प्राप्त हुने, नबोलेका बच्चा बोल्ने आदि विश्वास रहेको छ”, उहाँले भन्नुभयो, “रोजगारी प्राप्ति, राम्रो स्वास्थ्य आदिको कामना गर्दै पनि यहाँ दर्शनार्थी आउने गरेका छन् ।”

पूजा गर्ने क्रममा बराहमूलको कुण्डमा बुलबुल गरेर पानीका फोका उठेमा राम्रो भएको मानिने फोका नउठेमा ग्रहदशा बिग्रेको मानिने जनविश्वास छ । ढोरबराह मन्दिरमा रहेका बाइस धारा कहिल्यै पनि नसुक्नु यहाँको अर्को विशष्टिता हो् । बाइस धारामा स्नानसहित पूजाआजा गर्ने र धाराको जल घरमा लगेर छर्केमा विभिन्न किसिमका अनिष्टबाट मुक्त हुने जनविश्वास रहेको पूजारी बुढाले जानकारी दिनुुभयो । कतिपयले आफन्तको स्वर्गारोहण भएमा जन्मकुण्डली उत्तरगङ्गामा बगाउने प्रचलन पनि रहेको बुढापाकाहरु बताउँछन् ।

पछिल्लो समयमा ढोरपाटनसम्म आउने बाटो सहज बन्दै गएपछि टाढाटाढाबाट दर्शनार्थीहरू आउने क्रम बढ्दै गएको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य रामबहादुर घर्ती मगरले जानकारी दिनुुभयो । पछिल्ला दुुई तीन वर्षयता दर्शनार्थी तथा पर्यटक आउने क्रम बढिरहेको बताउँदै उहाँले स्वदेशी पर्यटकका साथै विदेशी पर्यटकको आगमन पनि बढिरहेको जानकारी दिनुुभयो । “दर्शनार्थीसँगै स्वदेशी तथा विदेशी पर्यटक पनि आउन थालेपछि यहाँका स्थानीयले पर्यटक लक्षित होटेल तथा घरबासका लागि पनि लगानी बढाउँदै गएका छन्”, ढोरपाटन सामुदायिक होमस्टेका सञ्चालकसमेत रहनुुभएका मगरले भन्नुुभयो, “पर्यटकीय चहलपहलले स्थानीयवासीको उत्पादन खपत हुनुुका साथै यसले विभिन्न किसिमका रोजगारीसमेत सिर्जना गरेको छ ।”

नेपालको एक मात्र शिकार आरक्षका रुपमा रहेको ढोरपाटन शिकार आरक्षभित्र रहेका कारण पनि यो पर्यटकीय रुपमा अर्को आकर्षण हो । ठूलो उपत्यकाको दक्षिणतर्फ अवस्थित सुर्तिवाङ पहाडको उत्तरतर्फबाट उत्तरगङ्गाको र दक्षिणपट्टी रहेको रुद्रतालबाट रुद्रवतीगङ्गाको उत्पत्ति भएका कारण समग्र यस क्षेत्रको धार्मिक महत्व रहेको छ । रुद्रतालमा सतिदेवीको रुद्र अर्थात घाँटी पतन भएको हुँदा रुद्रतालबाट जलप्रवाह भएर रुद्रबतीगङ्गा, बडिगाड खोलाहुँदै कालीगण्डकीमा मिसिएको ठाउँलाई रुद्रवेणी अर्थात् रुरुक्षेत्रका रुपमा लिने गरिएको अर्का स्थानीय बेगबहादुर विकले जानकारी दिनुुभयो ।

सुर्तिवाङ पहाडको देउराली भञ्ज्याङमा रहेको ठाडो ढुङ्गामा साउनको पहिलो हप्ता गाईको दूधले धार दिएपछि मात्रै बर्खाको समयमा सुर्तिवाङ्मा चरनको लागि लगेका गोठमा खिर, कुराउनी र ताईरोटी पकाउने प्रचलन रहेको स्थानीयवासी बताउँछन् । उत्तरगङ्गा ढोरबराहमा यहाँको पूजाआजाको व्यवस्थापनका लागि प्रत्येक वर्ष बोलपत्र आह्वान गर्ने गरेको उत्तरगङ्गा ढोरबराह संरक्षण समितिका पूर्व सदस्य घर्तीले जानकारी दिनुुभयो ।

पूजाका लागि जिम्मा पाएको व्यक्तिले मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीले चढाउने भेटीघाटीका साथै भेडाको बलि दिने क्रममा टाउँको बिक्रीबाट आम्दानी गर्ने गर्दछन् । सामान्यतः जनैपूर्णिमाका दिन एक हजारभन्दा बढी भेडाको बलि हुने गर्दछ भने वैशाख पूर्णिमामा पाँच सय भन्दा बढी भेडाको बलि हुने गर्दछ । अघिपछि पनि विभिन्न तिथि पारेर भाकलसहित पूजाआजा गर्न दर्शनार्थी आउने गर्दछन् ।

मालपोत कार्यालयले प्रत्येक वर्ष जेठको १५ गतेदेखि ३० गतेसम्म समयावधि तोकेर बढाबढका लागि सूचना निकाल्ने गरेको उहाँले जानकारी दिनुुभयो । अघिल्लो वर्षमा बढाबढका क्रममा रु १२ लाखको बोलपत्र स्वीकृत भएको थियो । मन्दिरको संरक्षणसँगै पछिल्ला समयमा यहाँको भौतिक पूर्वाधार विकासका लागि पनि राज्यको चासो बढेको उहाँले जानकारी दिनुुभयो । मन्दिर परिसरमा जलकुण्डसहित पार्क निर्माणका साथै पाटनका ठाउँठाउँमा परम्परागत शैलीका पुल निर्माण भइरहेको उहाँले बताउनुुभयो ।

उत्तरगङ्गा ढोरबराहको धार्मिक महत्वका विषयमा विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख भएको पाइन्छ । हिन्दू धर्मग्रन्थमा उल्लेख भएअनुुसार परापूर्वकालमा एकजना निकै चलाख र बुद्धिमान कागभुसुण्डी नाम गरेका ऋषि कागको रूपधारण गरेर उत्तरगङ्गा ढोरबराहमा आई तपस्या गरी बसेका थिए । तपस्याको क्रममा उनी भगवान शिवको सम्पर्कमा बसेका थिए र एक दिन भगवान शिवले माता पार्वतीलाई रामकथा सुनाउँदा उनले पनि सुनेका थिए ।

वशिष्ठ ऋषिले राजा रामलाई यही पुण्यभूमिमा आएर कागभुसुण्डीसँग शिक्षा लिएमा तिमी धर्म, अर्थ, काम, क्रोधबाट मोक्ष हुनेछौँ भनी बताएका थिए । कागभुसुण्डी ऋषिले यहाँ र मुक्तिनाथ दुवै ठाउँमा तपस्या गरी बसेको भन्ने शास्त्रहरुमा उल्लेख गरेको हुँदा मुक्तिनाथ र उत्तरगङ्गा ढोरबराह दुई दाजुभाइ हुन् भन्ने लोकोक्ति पनि रहेको छ । त्यस्तै यहाँको अर्को लोकोक्ति बलि राजासँग जोडिएको छ । बलि राजाले म स्वर्गको राजा हुन पाउँ भनी १२ वर्ष तपस्या गरेका थिए । उनको तपस्या असार मसान्तका दिन पूरा हुँदै थियो तर भगवान विष्णुले उनलाई स्वर्गको राजा हुनबाट रोक्न तपस्या भङ्ग गरी दिए । उनले बलि राजालाई तिमिलाई स्वर्ग मिल्दैन तर स्वर्ग जस्तै सुन्दर ठाउँ मिलाई दिन्छु भनि ढोरपाटनमा ढकमक्क फुल फूलेको समय जनैपूर्णिमाको दिन पारेर बराहको रूपमा प्रकट गराएका थिए भन्ने उल्लेख छ ।

बलि राजाको कठोर तपस्याले गर्दा उत्तरगङ्गा ढोरबराहको उत्पत्ति भएको हो भन्ने धार्मिक विश्वास छ । अर्को तेस्रो लोकोक्ति बहर गोरूसँग सम्बन्धित छ । रासस