४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य



अ+ अ-

काठमाडौँ । अपराजित एपिएफ इस्ट बंगाललाई हराउँदै साफ महिला क्लव च्याम्पियनसिपको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछ ।
नेपालको लिग च्याम्पियन एपिएफ र भारतीय लिग च्याम्पियन इस्ट बंगाल क्लव शनिवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् ।

दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले यस क्षेत्रको फुटबल विकास गर्ने उद्देश्यअनुरूप क्लव च्याम्पियनसिपको अवधारणा शुरु गरेको हो । जहाँ एपिएफ र इस्ट बंगाल दुवै अपराजित रहँदै उपाधि भिडन्त तय गरेका हुन् । तुलनात्मक रूपमा एपिएफभन्दा इस्ट बंगाल बलियो देखिन्छ । यद्यपि, लिगको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरीको नजितामा चित्त बुझाएका थिए । यस च्याम्पियनसिपमा पाँच क्लव सहभागी थिए ।

इस्ट बंगालले नेपाली टोली एपिएफसँग प्रतिष्पर्धा गर्नुअघि तीन टोलीमाथि गोलवर्षा नै गरेको थियो । तर एपिएफसँग इस्ट बंगालको आक्रामक अग्रपंक्तिले रक्षापंक्ति पार गर्न सकेन । इस्ट बंगालकी स्टार स्ट्राइकर फजिला इक्वापुटलाई राष्ट्रिय टोलीकी सदस्य रहेको एपिएफको रक्षापंक्तिले रोक्यो । गोलस्कोरिङमा समस्या देखिएको एपिएफ र आक्रामक अगं्रपक्ती बीच हुने फाइनलमा रोमाञ्चक हुने अनुमान गरिएको छ । विपक्षीलाई सहग हुन नदिन इस्ट बंगालले लिगको अन्तिम खेलमा आफ्नो बलियो पक्ष देखाउन नचाहएको पनि हुनसक्छ । घरेलु दर्शकको राम्रो साथ पाए पनि एपिएफका लागि उपाधि जित्ने लक्ष्य कठिन बन्न सक्नेछ ।

एपिएफका प्रशिक्षक जीवेश पाण्डेले फाइनलका लागि मानसिक र शारीरिक रूपमा आफ्नो टोली तयार रहेको र उत्कृष्ट दिने बताएका छन् । उनले पछिल्लो खेलमा अंक बाँडे पनि यसपल्ट राम्रो खेल्ने उल्लेख गरेका छन् । गोल स्कोरिङमा एपिएफ चुकिरहेको थियो । प्रशिक्षक पाण्डेले पछिल्लो दुई दिनमा त्यसमा नै काम गरेको र फाइनलमा सुधार हुने अपेक्षा गरेका छन् । प्रशिक्षक पाण्डेले इस्ट बंगाल पनि रहेको टोली रहेको उल्लेख गरेका छन् । तर आफ्नो टोली उनीहरूभन्दा बलियो बन्ने उनको विश्वास छ । दर्शकको राम्रो साथ हुनुले आफ्नो टोलीका लागि उत्प्रेरणा मिल्ने प्रशिक्षक पाण्डे बताउँछन् ।

लामो समयदेखि देशले नै महिला फुटबलको उपाधि जित्न नसकेकोले यसपल्ट यो अवसर रहेको उनी बताउँछन् । उनले रक्षापंक्ति र अट्याकिङमा राम्रो गर्ने बताए । विपक्षीको रणनीतिअनुरूप खेल्ने प्रशिक्षक पाण्डेले बताएका छन् । टोलीमा चोटको समस्या भए पनि राम्रो खेल्ने उनको विश्वास छ । राष्ट्रिय टोलीका नै अधिकांश खेलाडी रहेकाले राम्रो नतिजा आउने उनी बताउँछन् ।

स्टार खेलाडी साबित्रा भण्डारी, प्रीति राई र सबिता रानामगरबिना खेलेको एपिएफको अट्याकिङ कमजोर देखिएको छ । चारमध्ये एपिएफले भुटानको ट्रान्सपोर्ट र इस्ट बंगालविरुद्ध गोल गर्न नै सकेन । पाएका अवसर पनि चुकाउँदा एपिएफ लिगको दोस्रो स्थानमा सीमित भएको थियो । एपिएफकी कप्तान अनिता बस्नेतले फाइनलका लागि आफ्नो टोली तयार र उत्साहित रहेको बताइन् । महिला फुटबललाई पनि उपाधि दिने उनको आशा छ । उनले यो च्याम्पियनसिप नेपाली महिला खेलाडीका लागि राम्रो अवसर बनेको पनि बताइन् ।

एपिएफमा अधिकांश राष्ट्रिय टोलीका सदस्य छन् । तर पनि उनीहरूको प्रदर्शन त्यति सुखद बन्न सकेको छैन । महिला साफ च्याम्पियनसिपअगाडि नेपाली खेलाडीलाई चोटसँगै खराब प्रदर्शन पनि सताएको छ । इस्ट बंगालका प्रशिक्षक एन्थोनी सामसनले आफ्नो घरेलु समर्थकमाझ एपिएफले राम्रो खेल्न नसकेको बताएका छन् । यो टोलीले लगातार क्लब च्याम्पियनसिप र महिला साफ च्याम्पियनसिप खेल्ने भए पनि उनीहरूको प्रदर्शन राम्रो नदेखिएको उनको भनाइ छ । तर फाइनलमा राम्रो खेल्ने र आफूहरूले पनि सोहीअनुरूप चुनौती दिनेको उनको विश्वास छ । यहाँ आफूहरू उपाधि जित्न आएको र त्यसैअनुरूप प्रदर्शन पनि गर्ने उनी बताउँछन् । पछिल्लो खेलमा एपिएफले राम्रो डिफेन्स गरेको पनि उल्लेख गरे ।

युगान्डा, नाइजेरिया र घानाका खेलाडी समेट्दै नेपाल आएको इंस्ट बंगालको बलियो पक्ष अग्रपंक्ती हो । उसका स्ट्राइकर फाजिला इक्वापुट सबैभन्दा महत्वपूर्ण खेलाडी हुन् । उनले तीन खेलबाट नै ७ गोल गरिसकेकी छन् । भारतीय लिगमा पनि उनले २४ गोल गरेर आफ्नो आक्रामक शैली प्रमाणित गरेकी थिइन् । उनै फाजिला फाइनलमा एपिएफका लागि चुनौती बन्न सक्नेछिन् । इस्ट बंगालको कप्तानसमेत रहेकी फाजिलले फाइनलमा प्रतिस्पर्धात्मक खेल हुने र आफूहरूले पनि राम्रो खेल्न आशा व्यक्त गरेकी छन् । आफ्नो खेलाडी र टोलीमाथि आफू विश्वस्त रहेको उनी बताउँछिन् ।

एपिएफले लिगमा दुई जित र बराबरी गरेको थियो । इस्ट बंगालले भने तीन जित र एक मात्र बराबरीको नतिजा सामना ग¥यो । एपिएफसँगको खेलबाहेक इस्ट बंगालको आक्रमण उत्कृष्ट रहँदै आएको छ । फाइनलमा पनि सोहीअनुरूप प्रदर्शन गर्ने भारतीय टोलीको विश्वास छ । एपिएफ पनि घरेलु समर्थकका माझ उत्कृष्ट खेल्दै महिला फुटबलमा लामो समयदेखिएको उपाधि खडेरी तोड्न लक्ष्यमा हुनेछ ।