१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो…

जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो…
अ अ+ अ-

काठमाडौँ । भदौ २३ गते, विसं २०८२ । गतिहीन राजनीतिक र शासकीय अभ्यासको अन्त्य गर्दै मुलुकको भाग्य र भविष्य बदल्ने सङ्कल्पका साथ नवयुवा तत्कालीन सरकार र राजनीतिक दललाई खबरदारी गर्न बिहानैदेखि माइतीघर मण्डला आसपास केन्द्रित भरहेका थिए । सडकमा युवाहरूको एउटै आवाज थियो– मुलुकमा व्याप्त भ्रष्टाचार अब निर्मूल हुनुपर्छ, सुशासन र सेवा प्रवाहमा सुधार आउनुपर्छ, स्वास्थ्य, शिक्षा र रोजगारका क्षेत्रमा सरकार संवेदनशील बन्नुपर्छ । अवसरको न्यायोचित बाँडफाँट हुनुपर्छ । ‘डिजिटल प्लाटफर्म’ लाई प्रतिबन्ध होइन, झन् सहजीकरण गर्नुपर्छ ।

यी यस्तै जनसरोकारका विषय उठाएर सुरु भएको भद्र विरोध प्रदर्शनमा ठूलो सङ्ख्यामा युवापुस्ताको सहभागिता थियो । त्यसमा आम नागरिकको नैतिक समर्थन र सहयोग थियो । ‘डिजिटल युग’मा हुर्केको जेनजी पुस्ता र प्रविधिको प्रयोगबाट दैनिक रोजीरोटी चलाइरहेका युवा सामाजिक सञ्जाल प्रतिबन्धको घटनाबाट निकै रुष्ट थिए ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ का बिमलबाबु भट्ट समकालीन पुस्ताले उठाएका मुद्दाप्रति सहमत हुनुहुन्थ्यो । उहाँमा आफ्नो पुस्ताले मुलुकको विद्यमान दूरावस्था परिवर्तन गरेरै छाड्छ भन्ने दृढ विश्वास थियो । त्यसमा आफ्नो पनि योगदान हुनुपर्छ भनेर भट्ट त्यस दिन बिहानै ‘आन्दोलनमा नजानु’ भन्ने पारिवारिक दबादलाई अस्वीकार गर्दै आन्दोलनको मुख्य केन्द्र रहेको नयाँ बानेश्वरमा पुग्नुभयो ।

युवाहरूले थालेका प्रदर्शनको अग्रमोर्चामा उहाँ खडा हुनुभयो । प्रदर्शनकै क्रममा नयाँ बानेश्वर चोकमा प्रहरी र युवाबीच घम्साघम्सी र घकेलाधकेल भयो । लगत्तै सुरक्षाकर्मीबाट गोली चल्यो । भट्टको छातीमा गोली लाग्यो । सङ्घीय संसद्भवनको दक्षिणतर्फको मुख्य प्रवेशद्वार अघि ढल्नुभएका भट्टलाई साथीहरूले नजिकैको निजामती अस्पताल पुर्‍याए । अस्पताल पुर्‍याउँदा उहाँले शाहदत प्राप्त गरिसक्नुभएको थियो ।

त्यसैदिन विदेश जाने सम्झौता हुँदै थियो

मुलुकमा रोजगारीको उचित अवसर नपाएपछि बारपाक सुलिकोट–५ गोरखाका दाजुभाइ अनिल र बिमलबाबु वैदेशिक रोजगारीका लागि युरोप जाने तयारीमा जुटिरहनुभएको थियो । लामो समयदेखि काठमाडौँमा मामा हरिराम भट्टको छत्रछायाँमा हुर्केरहेका दुवै दाजुभाइले पोर्चुगल जानका लागि वैदेशिक रोजगार कम्पनीलाई सात लाख पैसासमेत बुझाइ सक्नुभएको थियो ।

वैदेशिक रोजगारबाट परिवारको आर्थिक अवस्था सुधार गर्ने र घर व्यवहार चलाउने भट्टको सपना थियो । “नेपालमा जागिर नपाएपछि भाञ्जामा नैराश्यता थियो, घरको आर्थिक स्थिति पनि त्यति राम्रो थिएन, अनि विदेश जाने प्रक्रियामा हुनुहुन्थ्यो”, सुशानस योद्धा भट्टको मामा हरिरामले भन्नुभयो ।

विमलले विजय न्यौपानेमार्फत वैदेशिक रोजगारीमा जान पैसा बुझासक्नुभएको थियो । भाञ्जाले पैसा बुझाएका बारेमा बुझ्न त्यसदिन मामा हरिराम एयरपोर्ट पुग्नुभएको थियो । त्यहाँ न्यौपानेसँग भेटेपछि उहाँले भाञ्जालाई फोन गर्नुभयो । त्यतिबेलासम्म बिमल कोठामै हुनुहुन्थ्यो । त्यसैदिन अपराह्न ४ बजे वैदेशिक रोजगारीका लागि सम्झौता गर्ने तय भएको थियो ।

“सम्झौताका लागि घरबाट हिँडेको भाञ्जा त्यतैबाट आन्दोलनमा जानुभएछ, करिब १ बजेतिर उहाँलाई गोली लागेछ”, मामा हरिरामले भन्नुभयो, “गोली लागेर पहिलो सहिद बिमल नै हुनुभएछ ।”

उहाँ (मामा) एयरपोर्ट क्षेत्रमै हुनुहुथ्यो । अपराह्न ३ बजेतिर उहाँलाई एक्कासि फोन आयो । फोनमा कसैले भन्यो– “बिमलको मोबाइल म सँग छ ।”

“मैले किन भनेर सोधेँ । उताबाट जवाफ आयो– बिलमलाई गोली लागेको छ, सिभिल अस्पतालमा आउनु,” बिमलका मामा हरिरामले भन्नुभयो । उहाँका अनुसार आन्दोलनमा गोली लागेर ल्याइएकामध्ये मृत्यु भएको पहिलो व्यक्ति विमल नै हुनुहुँदो रहेछ । पहिचानका लागि बिमलको निधारमा १ नम्बर लेखिएको ‘ट्याग’ टाँसिएको थियो ।

मृत्युको खबर एक सातापछि…

जेनजी आन्दोलनका क्रममा बिमलसहित ७६ जनाको निधन भयो । गाउँमै रहनुभएकी बिमलका आमा सीतालाई छोराले साहदत प्राप्त गरेको एक सातापछि मात्रै जानकारी दिइयो । आफन्तहरूले उहाँलाई बिमललाई गोली लागेको र अस्पतालमा उपचार भइरहेको मात्र खबर गरिएको थियो ।

आमा सीताले छोराका शव घर ल्याउने दिन भदौ ३० गते मात्र भाउजु र बहिनीबाट छोराको निधनको खबर थाहा पाउनुभएको थियो । आमा सीता आफूलाई सहारा दिने कान्छो छोरा निधनबाट ठूलो शोकमा हुनुहुन्छ । “सुख दुःखमा सहारा दिने घरको टाठोबाठो, अनि बलियो खम्बा उहीँ थियो, कान्छो ढलिहाल्यो”, भक्कानिँदै बिमलकी आमाले भन्नुभयो । बिमल काठमाडौँमा रहँदा धेरैजसो मामा घरमा नै बस्ने गर्नुहुन्थ्यो ।

बर्खायाममा घरको सबै काम सकेर भदौ ५ गते आमासँग बिदाबारी भएर बिमल निस्कनुभएको थियो । उहाँले मिल्यो भने छिट्टै विदेश जाने भन्नुहुन्थ्यो । सहिदकी आमा सीता अहिले खेतीपाती, गाई र बाख्रापाठा पालेर बसिरहनुभएको छ । “असारमा आएर कान्छोले धान र कोदो रोप्यो, अहिले घरभरी अन्न छ, खाने बेलामा बाबु हामीबीचमा छैन”, आमाी सीताले भन्नुभयो । बिमल गाउँमा सबैको प्यारो हुनुहुन्थ्यो । उहाँको निधनको पीडामा रसाएका गाउँलेका आँखा अझै ओभाएका छैनन् ।

बिमल माछा, मासु, र दूध, घिउको पारखी हुनुहुन्थ्यो । जतिबेला बिमल घरमा जानुहुन्थ्यो, आमाले छिमेकीबाट खोजेर ल्याएर पनि दूधदही खुवाउनुहुन्थ्यो । बिमलका आमा सीता सहिद परिवारलाई रोजगारी र मासिक भत्ता उपलब्ध गराउन सरकारलाई सुझाव दिनुहुन्छ ।

भाइ गुमाउँदाको शून्यता

बिमलका दाजु अनिलका अनुसार भदौ २३ गते अफिस जानु अघि आन्दोलनमा सहभागी हुने इच्छा जाहेर गरेका भाइलाई पटक–पटक आन्दोलनमा नजान भन्नुभयो । जवाफमा बिमलले भनुभयो, “जेनजीले उठाएका मुद्दा ठीक छ, क्रान्ति गर्नुपर्छ । आन्दोलनमा हामी नगएको जान्छ र भन्यो । त्यो विषयमा हामी दाजुभाइबीच झगडा जस्तै भयो ।”

त्यो दिन सम्झँदै दाजु अनिले भन्नुभयो, “अघिपछि जस्तै त्यो दिन पनि म बिहान ९ बजे अफिस गएँ । ऊ सुतिरहेको थियो । भाइले तपाईं पनि अफिस नजानुस्, आज हामीसँगै बसौँ भन्यो । जुन कुरा मैले मानिन अहिले पछुतो भएको छ । म बसेको भए सायद भाइ त्यहाँ जान्थेन कि भन्ने लाग्छ १”

परिवारको कान्छो सदस्यकारूपमा २०५९ मङ्सिर १० गते जन्मिनुभएका बिमलले मामा घरमा बसेर विद्यालय शिक्षा लिनुभएको थियो । उहाँले काठमाडौँको चामुण्डा एकेडेमीबाट विद्यालय शिक्षा पूरा गर्नुभयो । भाइसँगको अन्तिम संवाद स्मरण गर्दै अनिल सम्झनुहुन्छ, “भाइ ११ बजेर २१ मिनेटसम्म घरमै थियो । त्यति बेला पनि मैले फेरि भनेको थिएँ आन्दोलनमा नजा ।”

दाजु अनिलले अपराह्न २ बजेतिर फोन गरेर भाइ आन्दोलनमा गए नगएकाबारे बुझ्न फोन गर्नुभयो । तर त्यो फोन भाइ नभइ अर्कैले उठायो र उसले भन्यो– “तपाईँको भाइलाई गोली लागेको छ, अहिले कता पो हुनुहुन्छ ।”

“म आत्तिए, कहाँ छ भनेर सोधेँ । सिभिल अस्पताल भन्ने जवाफ पाएँ । म त्यस बेला न्यूरोडमा अफिसमा काम गरिरहेको थिएँ,” अनिलले भन्नुभयो, “म तत्कालै अफिसबाट निस्किए । सुन्धरामा आएँ ।”

त्यसअघि मामाको साथीले थाहा पाएर पहिले नै खबर गरिसक्नुभएको रहेछ ।

त्यस दिनको घटनाक्रम सम्झँदै अनिलले रासससँग भन्नुभयो – कर्फ्यू लागेकाले सुन्धरा पुगे पनि तत्काल त्यहाँ जान सवारीसाधन भेटिएन । २ बजे त्यहाँबाट चढेको बसले घुमाएर साँझ ६ बजे पेप्सीकोला झारिदियो । त्यसपछि ट्याक्सी चढेर आएको थिएँ कर्फ्यूका कारण तीनकुनेबाट अघि बढ्न सकिन । त्यसबीचमा मामा अस्पताल पुग्नु भयो । उहाँबाट भाइको छातीमा गोली लागेर निधन भएको खबर सुनेपछि विक्षिप्त जस्तै भएँ ।

अस्पतालले त्यहाँका शव राति नै महाराजगञ्ज शिक्षण अस्पतालमा लगेको रहेछ । भदौ २५ गते मात्रै भाइको अनुहार देखेँ । सानै उमेरदेखि आफ्नो काँधमा राखेर हुर्काएको भाइलाई काठमाडौँमासमेत अभिभाकत्व दिएको थिएँ । निम्नस्तरको किसान परिवार भएकाले सामान्य धान, मकै र कोदो उब्जनी भए पनि सजिलै घर धान्न सक्ने अवस्था थिएन, उहाँले आफ्नो पृष्ठभूमि सम्झिनुभयो – पछिल्लो समय दुवै जना विदेशजाने सोचमा थियौँ ।

दाजु अनिलका अनुसार मिलनसार, साहासिक, हक्की स्वभावका बिमलको फुटबल, हाइजम्प, जिम्न्यास्टिक रोजाइका खेलकुदमा पर्थ्यो । गाउँमा खसी काट्न पर्‍यो भने सबैलाई सघाउहुन्थ्यो । बिमल असारको मध्यतिर घर गएर आमा–बालाई धान र कोदो रोप्न सहयोग पुर्‍याउनुभयो । घरको त्यो काम सकेर भदौको पहिलो हप्ता काठमाडौँ फर्कनुभएको थियो । त्यसलगत्तै दाजुभाइ विदेश जाने सोच बनाउनुभयो र म्यानपावर कम्पनीलाई पैसा बुझाउनुभयो ।

अनिल भन्नुहुन्छ, “हरेक गतिविधिमा उसको सम्झना हुन्छ । लामो समयको अन्तरालमा जन्मिएको कान्छो भाइ मैले नै बोकेर हुर्काए । उसले के खाने, के कसो गर्ने भनी सोधिरहन्थ्यो । सँगैँ खाइखेली गरियो । भाइ गुमाउनुपर्दा असह्य पीडा छ । पलपलमा सम्झना हुन्छ । कोठमा बाहिर गएको बेला दिनको १० पटकसम्म फोन गर्थ्यो, त्यो नहुँदा शून्य जस्तै भएको छ ।”