काठमाडौं। सरकार परिवर्तन हुनासाथ राजदूत फिर्ता बोलाउने बेथितिको अन्त्य गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । शुक्रवार प्रतिनिधि सभा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरुले सरकार परिवर्तन भएसँगै राजदूतहरुलाई फिर्ता बोलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद भीम रावलले सरकार र मन्त्री फेरिनासाथ राजदूत फिर्ता बोलाउनुलाई बेथितिको संज्ञा दिनुभयो । यसरी समय अगावै राजदूतलाई फिर्ता बोलाउनाले विश्वजगतमा राज्य कमजोर हुने उहाँले बताउनुभयो ।
नेपालको कुटनीतिक क्षेत्र सुदृढ र प्रभावकारी नबनेको उल्लेख गर्दै उहाँले समयानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ‘हामीले कुटनीतिक नियोगमा पठाउने भन्या त राष्ट्रको हितको साधना गर्ने, त्यो देशको प्रतिनिधित्व गर्ने व्यक्ति हो । अनि एउटा मन्त्री फेरियो, राजदूत पनि फेरियो । यो बेथितीलाई बन्द गर्नुपर्छ । यो बन्द नगर्ने हो भने कुटनीतिक क्षेत्रमा पनि देशभरी जसरी आफ्नो सत्ता, पद, स्वार्थका लागि जे पनि गर्ने हाम्रो खराब प्रवृत्ति मौलाएको छ । कुटनीतिक क्षेत्रमा पनि यो हुनु भनेको के हो भने अन्तत्ः आजको प्रतिस्पर्धी विश्वमा विभिन्न दृष्टिकोणबाट राज्य एकदमै कमजोर हुने र हाम्रो कुटनीतिक क्षेत्रको केही वर्ष यताको तुलना ग¥यौँ भने त्यसमा कुनै सुदृढिकरण, प्रभावकारीता भन्दापनि युगानुकुल काम गर्न नसक्ने अवस्थामा पुगेको जस्तो आभाष हुन्छ । भाषा, कुटनीतिक विषयको ज्ञान, त्यो देश बारेको ज्ञान, त्यहाँको परिवेशको जानकारी राख्ने हुनुपर्छ ।’
सांसद रावलले साना देशका लागि कुटनीतिक क्षमता वृद्धि गर्नु देशको अस्तित्वसँग गासिने तर्क गर्नुभयो । त्यसैगरी उहाँले अहिले नेपालमा सिमानासँग सम्बन्धित विषय संवेदनशील भएर आएको भन्दै देशको सुरक्षा गर्ने र जनताको सुरक्षा गर्ने राज्यको प्रमुख कर्तव्य भएको बताउनुभयो । नेपालको सिमाना मिचिदा पनि परराष्ट्र मन्त्रालय मौन बसेको उहाँले बताउनुभयो ।
बैठकमा बोल्दै सांसद पुष्पा भुसालले सरकार परिवर्तन सँगै राजदूत फिर्ता बोलाउनुले राम्रो शन्देश नगएको टिप्पणी गर्नुभयो । उहाँले निश्चित समयसम्म राजदूतलाई फिर्ता बोलाउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘राजदूत नियुक्ती गरीसकेपछि मुलुकको सरकार परिवर्तन हुने बित्तिकै राजदूतलाई फिर्ता गर्ने जुन अभ्यास र प्रचलन अगाडी आयो यसको शन्देश त्यति राम्रो जान नसकेको हामीले अनुभुति गरेको हुनाले कम्तिमा यति समय अगावै फिर्ता गर्न नमिल्ने भनेर एउटा छलफल, संवाद चलाउन सक्छौँ ।’
सांसद भुसालले नेपालमा सरकार परिवर्तन भइरहने भन्दै राजदूत परिवर्तन भइरहँदा दुई देश विचको सम्बन्धमा समेत असर पर्ने धारणा राख्नुभयो ।











