भक्तपुर। नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम धमाधम भइरहेको छ । आगामी २७ मङ्सिरमा हुने उद्घाटन समारोहको निर्माणस्थल र पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो चहलपहल देखिएको छ ।
देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माण जस्ता गतिविधि गरेसँगै भीड बढ्दै गएको हो ।
उद्घाटनस्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदै छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भीड थपिएको छ ।
मञ्च निर्माणमा खटिनु भएकी नेकपा एमाले भक्तपुर जिल्ला उपाध्यक्ष तथा वाग्मती प्रदेशकी स्वास्थ्य मन्त्री किरण थापाले रात-दिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताउनुभयो। उहाँका अनुसार मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको छ भने करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम तीव्रताका साथ जारी रहेको छ ।
चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको उहाँले बताउनुभयो । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक गेट निर्माण हुँदै छ ।
उद्घाटन समारोहस्थलमा तीन लाखसम्म अट्ने गरी तयारी भइरहेको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइँदै गरिएको उपाध्यक्ष थापाले बताउनुभयो ।
मञ्च निर्माण स्थलमा अनुगमन गर्न पुग्नुभएका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेसनल भोलेन्टियर तथा अन्य जनसंगठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्हमा उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्यालीसहित सहभागीहरू सभास्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको उहाँले बताउनुभयो ।
यसअघि पार्टी अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर भक्तपुरका चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उहाँका अनुसार वडाअनुसार कार्यकर्ताहरूले घरघरमा पुगेर करिब २२ हजार निमन्त्रणा पत्र वितरण गरिसकेका छन् । आजै विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएको र भोलिदेखि माइकिङ सुरु गरिने जानकारी उहाँले दिनुभयो ।
उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्याली प्रदर्शन गरी कार्यक्रमस्थल प्रवेश गर्ने तयारीसमेत समापन भइरहेको देउजाले बताउनुभयो । भक्तपुरबाट मात्रै करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।










