२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी तयार हुदैछ एमालेको ११ औँ महाधिवेशन स्थल



अ+ अ-

भक्तपुर। नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन सभा हुने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा निर्माणको काम धमाधम भइरहेको छ । आगामी २७ मङ्सिरमा हुने उद्घाटन समारोहको निर्माणस्थल र पार्टी केन्द्रीय कार्यालयमा महाधिवेशन प्रतिनिधिहरूको बाक्लो चहलपहल देखिएको छ ।

देशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माण जस्ता गतिविधि गरेसँगै भीड बढ्दै गएको हो ।

उद्घाटनस्थल विश्व सम्पदा सूचीमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण हुँदै छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण भइरहेको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइँदै गर्दा स्थलमा कार्यकर्ता र स्थानीय नागरिकको भीड थपिएको छ ।

मञ्च निर्माणमा खटिनु भएकी नेकपा एमाले भक्तपुर जिल्ला उपाध्यक्ष तथा वाग्मती प्रदेशकी स्वास्थ्य मन्त्री किरण थापाले रात-दिन मञ्च निर्माण, अस्थायी संरचना स्थापनासहितका काम जारी रहने बताउनुभयो। उहाँका अनुसार मञ्चको मुख्य संरचना लगभग तयार भइसकेको छ भने करिब ३० वटा अस्थायी शौचालय, प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू बनाउने काम तीव्रताका साथ जारी रहेको छ ।

चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको उहाँले बताउनुभयो । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिनेछन् । मञ्चको उत्तरतर्फ करिब ३० वटा अस्थायी शौचालय निर्माण भइरहेको छ । त्यस्तै उद्घाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक गेट निर्माण हुँदै छ ।

उद्घाटन समारोहस्थलमा तीन लाखसम्म अट्ने गरी तयारी भइरहेको छ । प्रमुख दर्शकस्थलतर्फ २५ हजार कुर्सी राखिने र एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइँदै गरिएको उपाध्यक्ष थापाले बताउनुभयो ।

मञ्च निर्माण स्थलमा अनुगमन गर्न पुग्नुभएका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले कार्यक्रम भव्य र अनुशासित बनाउन १० हजार नेसनल भोलेन्टियर तथा अन्य जनसंगठनका स्वयंसेवक परिचालन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार पोसाकसहितका ५ सय ५० स्वयंसेवक विशेष रूपमा व्यवस्था गरिनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ गते मध्यान्हमा उद्घाटन गर्ने कार्यक्रम रहेकाले पूर्वतर्फबाट जगाती र पश्चिमतर्फबाट गठ्ठाघर हुँदै विशाल र्‍यालीसहित सहभागीहरू सभास्थलतर्फ जाने व्यवस्थासमेत मिलाइएको उहाँले बताउनुभयो ।

यसअघि पार्टी अध्यक्ष ओलीको हस्ताक्षरसहितको निमन्त्रणा पत्र लिएर भक्तपुरका चारै नगरपालिका क्षेत्रमा घरदैलो अभियान सकिएको एमाले भक्तपुर जिल्ला अध्यक्ष बचन देउजाले जानकारी दिनुभयो । उहाँका अनुसार वडाअनुसार कार्यकर्ताहरूले घरघरमा पुगेर करिब २२ हजार निमन्त्रणा पत्र वितरण गरिसकेका छन् । आजै विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएको र भोलिदेखि माइकिङ सुरु गरिने जानकारी उहाँले दिनुभयो ।

उद्घाटनका दिन भक्तपुरका सबै वडाबाट सांस्कृतिक झाँकीसहितको र्‍याली प्रदर्शन गरी कार्यक्रमस्थल प्रवेश गर्ने तयारीसमेत समापन भइरहेको देउजाले बताउनुभयो । भक्तपुरबाट मात्रै करिब २५ हजार कार्यकर्ता सहभागी गराउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।