१५ श्रावण २०८३, शुक्रबार
,
Latest
थाइल्याण्डसँगको द्वन्द्वका कारण २० हजारभन्दा बढी कम्बोडियाली अझै विस्थापित इन्फान्टिनो फिफा नेतृत्वका लागि ‘गलत व्यक्ति’: प्रधानमन्त्री बर्नहम साम्प्रदायिक सद्भाव खलल पुर्‍याउने ३६ जना पक्राउ बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह सामाजिक सद्भाव कायम राख्न सबै पक्षले समन्वय र सहकार्य गर्ने निर्णय फरार प्रतिवादी पक्राउ पहिलो त्रैमासमा वस्तुको विश्वव्यापी व्यापार वृद्धि अपेक्षाभन्दा बढी : डब्ल्यूटीओ काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा १ हजार ३३ किलोभन्दा बढी गाँजासहित एक जना चालक पक्राउ काठमाडौँ महानगरपालिका कार्यक्षेत्र भएका एक हजार ९१२ सहकारीमध्ये ६६७ वटा नवीकरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल



फाइल फोटो
अ+ अ-

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतमा निर्माणाधीन सडक पूर्वाधारहरूको काम सन्तोषजनक रूपमा अघि बढेको बताउनुभएको छ ।

आज प्रदेश सरकारबाट निर्माण भइरहेका चार वटा सडक तथा पुलका योजनाहरूको स्थलगत अनुगमन तथा निरीक्षण पश्चात कँडेलले विगतको तुलनामा कामको गति बढेको बताउनभयो । विगतमा धेरै छलफल भए पनि काम हुन नसकेको र जनगुनासो बढेको ती क्षेत्रमा यसपटक निर्माण व्यवसायीहरूले काममा तदारुकता देखाएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशमा काम गर्ने निर्माण व्यवसायीले भुक्तानीको चिन्ता लिनु नपर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कर्णाली प्रदेशले एउटा सकारात्मक सन्देश दिएको छ । कर्णालीमा काम गरेबापतको भुक्तानी पाइन्छ । रकमको अभावले काम रोकिँदैन ।”‎

बजेट मात्र छुट्याएर नहुने भन्दै कार्यान्वयन गर्ने निकायको तत्परता र निर्माण व्यवसायीको इमानदारिता भएमा सरकारले आवश्यक स्रोतको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । “तपाईँहरू समयमै काम सक्नुहोस्, आवश्यक पर्ने बजेटको व्यवस्थापन सरकारले गर्छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

पश्चिम क्षेत्रमा विशेष गरी बड्डीचौर–खम्बागाडेलगायतका सडकमा विगतमा काम नहुँदा जनतामा नैराश्यता र अविश्वास पैदा भएको थियो । उहाँले रानीघाट–भुरिगाउँ सडकजस्ता लामो समयदेखि अल्झिएका आयोजनाले पनि अहिले गति लिएको जानकारी दिनुभयो । ‎कँडेलले सरकारी कामकारबाहीको प्रक्रियाले गर्दा काममा ढिलाइ हुने गरेको स्वीकार गनुभयो ।

बजेट भएर पनि टेन्डर प्रक्रिया, मूल्याङ्कन र छनोट गर्दा तीन–चार महिना लाग्ने र त्यसले गर्दा फागुन–चैतमा मात्र काम सुरु हुने परिपाटीको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “हामीले साउनबाटै टेन्डर निकाल्ने सुरुआत गरेका छौँ, ताकि समयमै काम सुरु होस्”, उहाँले भन्नुभयोे, “मनको गतिले मात्र हुँदैन, विधि र प्रक्रियाले पनि साथ दिनुपर्छ । यद्यपि कानुनी र प्रक्रियागत झन्झटहरूलाई सुधार गर्दै लैजानुपर्ने आवश्यकता छ ।”‎