२२ मंसिर २०८२, सोमबार
,
Latest
गुणस्तरीय काम गरे भुक्तानीमा समस्या छैनः मुख्यमन्त्री कँडेल भृकुटीमण्डपमा आगामी पुस ५ गते ‘एकता सन्देश सभा’ नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री खनाल



अ+ अ-

सुदूरपश्चिम। अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर—दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को आज उद्घाटन गर्दै उहाँले गुणस्तरीय र भरपर्दो उत्तर—दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन नसकेको धारणा राख्नुभयो ।

अर्थमन्त्री खनालले भन्नुभयो,“उत्तर—दक्षिण कनेक्टिभिटी अति महत्त्वपूर्ण छ, कनेटिभिटीले नै विभिन्न हावापनी भएको भूगोल, विभिन्न संस्कृति र क्षमता भएकाहरूलाई सहज रूपमा आर्थिक गतिविधिमा सक्रिय बनाउँछ । सुदूरपश्चिममा यही नभएका कारण विकासमा समस्या भयो ।”

उहाँले स्रोतको उपयोग गर्दै ठूला परियोजना अगाडि बढाउनुपर्ने र अधुरा विकास आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सोचका साथ आफूले काम गरिरहेको बताउनुभयो ।

उहाँले भन्नभयो “ जेनजी युवापुस्तको आवाजले देशलाई परिवर्तनका लागि अगाडि बढ्न सन्देश दिएको छ । नवयुवाको परिवर्तनको चाहनालाई संस्थागत गर्न तोकिएको फागुन २१ मा निर्वाचन गर्नुछ । हामीसँग धेरै समय, सीमा पनि छैन, तथापि विकासका कामलाई एउटा लयमा लिनका लागि हाम्रो प्रयत्न जारी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सुदूरपश्चिम प्रदेश कृषि, पर्यटन, जलस्रोत, जडिबुटीलगायत स्रोतमा सम्भावनाको खानी भए पनि अपेक्षित विकास हुन नसकेको बताउनुभयो । अब सबै पक्ष मिलेर प्रदेशको विकासका लागि लाग्नुपर्ने र त्यसमा आफ्नो तर्फबाट पनि भूमिका रहने बताउनुभयो ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले पछिल्लो तथ्याङ्कले सुदूरपश्चिममा गरिबी घट्नुको साटो बढेको देखिएको भन्दै अब सही योजनामा लगानी गरेर स्रोतको उपयोग र आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिनुभयो ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले हरेक वर्ष आयोजना हुने महोत्सवमार्फत विभिन्न माग राखेर शालिन आन्दोलन थालिएको लामो समय भइसक्दापनि धेरै माग पूरा हुन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

समारोहमा सुदूरपश्चिमको विकास तथा अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै पत्रकार चित्राङ्गत थापा, स्वास्थ्य सेवातर्फ डा प्रदिप मिश्र, डा मोहन साउद, तीर्थराज पन्त, भाषा साहित्यतर्फ डा टिएन जोशी, शिक्षातर्फ प्राडा तुल्सीराम जोशी, उद्योग व्यापारतर्फ हेमराज पाठक, समाजसेवातर्फ सिवी चन्द, पर्यटनतर्फ व्यवसायी कलमबहादुर बम, कृषितर्फ रबिनकान्त पन्त, महिला उद्यमी राजकुमारी चौधरी, लोकसंस्कृतितर्फ चक्र बम, खेलकुदतर्फ शेरबहादुर सिंह र क्रिकेटर दिपेन्द्रसिंह ऐरी तथा युवा उद्यमी सुरज रैकालाई सम्मान गरिएको थियो ।

धनगढी उपमहानगरपालिका—१ मा रहेको मैदानमा भइरहेको महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा कृषिउपज प्रदर्शनी, हस्तकला, जडिबुटी, स्थानीय समुदायका खानाका परिकार, सांस्कृति कार्यक्रम, बाल उद्यानलगायत स्टल राखिएका छन् । रासस