काठमाडौँ। नेकपा (एमाले) ले ११ औँ राष्ट्रिय महाधिवेशनसँग सम्बन्धित महत्वपूर्ण गतिविधि र सूचनाहरुको नियमित सम्प्रेषणका लागि ‘नययुग विशेष इ बुलेटिन’ को प्रकाशन सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ई–बुलेटिनको औपचारिक शुभारम्भ गर्नुभयो ।
अध्यक्ष ओलीले मुलुकमा प्रतिक्रान्ति रोक्न एमालेले थालेका अभियानमा साथ दिन आग्रह गर्नुभयो । उहाँले महाधिवेशनले लोकतान्त्रीकरण र संविधानवाद स्थापनाका लागि थप उर्जा दिने विश्वास व्यक्त गर्नुभयो ।
ई–बुलेटिनले महाधिवेशनका मुख्य एजेन्डा, पार्टीका नीतिगत दिशानिर्देशन, आगामी रणनीति तथा संगठन सुदृढीकरणसम्बन्धी सामग्रीहरू नियमित रूपमा उपलब्ध गराउनेछ ।
यही मङ्सिर २० गतेदेखि महाधिवेशन सम्पन्न नभएसम्म हरेक दिन साँझ ७ः ०० सो बुलेटिन प्रकाशन भइ इन्टरनेटमार्फत् सम्प्रेषण हुनेछ । महाधिवेशनका लागि गठित प्रचार समितिको योजनाबमोजिम बुलेटिन प्रकाशानारम्भ भएको हो । बुलेटिनबाट सञ्चारमाध्यमलाई थप समाचार बनाउन सहयोग पुग्नेछ भने पार्टीका नेता, कार्यकर्ता र प्रतिनिधिलाई आधिकारिक सूचना सहजरुपमा प्राप्त हुनेछ ।
बुलेटिन प्रकाशनका लागि प्रचार समितिका सदस्य एवं प्रेस चौतारी नेपालका उपाध्यक्ष चेतन अधिकारीको संयोजकत्वमा टोली गठन गरिएको छ ।
एमालेले महाधिवेशनका लागि पार्टीका सचिव पद्मा अर्याल संयोजक र केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम सचिव रहेको प्रचार कमिटी गठन गरिएको छ ।
प्रचार कमिटीले पार्टीका नेतहरुको नियमित भिडियो अन्तर्वार्ता, दैनिक ‘सूर्य खबर’ प्रसारण, महाधिवेशनको काउण्टडाउन प्रचार, जिङ्गल निर्माण र प्रसारण, नारा र थिमहरुको सम्प्रेषण, मिडिया संयोजकलगायतका काम गरिरहेको छ ।










