१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘कृषकलाई मौसमले ठग्दो रहेछ’

‘कृषकलाई मौसमले ठग्दो रहेछ’
अ अ+ अ-

तनहुँ।  “पाँच वर्ष कतारमा काम गरेँ, त्यहाँ बस्दा सन्तुष्ट थिइन, अहिले घरमै बसेर सुन्तलाखेती गरिरहेको छु”, व्यास नगरपालिका–१३ बेनीकोटका लेखबहादुर थापाले भन्नुभयो, “सुन्तलाखेतीबाटै घर खर्च चलाउन सहयोग पुगेको छ ।”

छुट्टीमा घर आउँदा अरुले सुन्तला बेचेरै मनग्य आम्दानी गरेको देखेपछि आफू पनि सुन्तलाखेतीमा लागेको उहाँको भनाइ छ । विदेश गए पनि दुःख गर्नुपर्ने तर त्यही दुःख स्वदेशमै गर्नसके केही होला की भनेर सुन्तलाखेतीमा लागेको थापाले बताउनुभयो ।

थापाले विदेशमा गएर परिश्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाउन सके यहीँ आत्मसन्तुष्टि मिल्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “मैले यस वर्ष रु तीन लाख ७० हजारको सुन्तला बिक्री गरेको छु । मेरो २५० बोट सुन्तला रहेको छ । यसलाई अझै विस्तार गर्नसके आम्दानी बढाउन सकिनेछ ।”

थापाले यस वर्ष बेनीकोटमा सुन्तलामा रोग लागेका कारण उत्पादन कमी भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँका केही ठाउँमा सुन्तलाका के रोग लाग्यो, बोट नै मर्न थाल्यो । कृषि ज्ञान केन्द्रबाट पनि आउनुभएको थियो, तर के रोग लाग्यो थाहा पाउन सकिएन ।”

कृषक गिरबहादुर आले पनि वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेती गरिरहनुभएको छ । उहाँले भन्नुभयो, “विदेश भने पनि सबैको राम्रो कमाइ हुँदैन, विदेशमा गएर उमेर कटाउनुभन्दा सुन्तलाखेतीमा लाग्नुभन्दा केही राम्रो होला भनेर यसमै लागेको छु ।” उहाँले यस वर्ष साढे तीन लाख बढीको सुन्तला बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँले विगतका वर्षभन्दा यस वर्ष सुन्तलामा उत्पादन कमी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जरो कुहिने रोग लाग्यो, जलवायु परिवर्तनको कारण हो की के हो । कृषकलाई मौसमले पनि ठग्दो रहेछ ।”

अगुवा कृषक दलबहादुर थापाले यस वर्ष रु १६ लाखको सुन्तला बिक्री गरेको बताउनुभयो । उहाँले अघिल्लो वर्ष रु १३ लाखको सुन्तला बिक्री गर्नुभएको थियो । उहाँका अनुसार यहाँका १०० भन्दा बढी कृषक सुन्तलाखेतीमा लागेका छन् । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला हो ।

उहाँले भन्नुभयो, “विगत केही वर्षदेखि यहाँका सुन्तला बोट मर्दै जान थालेको छ । कृषि प्राविधिक आएर हेरेर औषधि पनि सिफारिस गर्नुभयो, तर सुधार भएको छैन ।” थापाका अनुसार यहाँ उत्पादित सुन्तला काठमाडौँ कालीमाटीमा बिक्री गरिन्छ । बजारीकरणको कुनै समस्या नरहेको बताउँदै उहाँले भन्नुभयो, “प्रतिकेजी सुन्तला रु रु १०० सम्म बिक्री हुने गरेको छ । विगतका वर्षमा रु ९५ सम्म बेच्थ्यौँ, यो वर्ष मूल्य केही बढी पाएका छौँ ।”

भिरालो जग्गा रहेकाले यहाँ अन्य खेती गर्न समस्या भएपछि कृषकहरू सुन्तलाखेतीमा लागेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मकै, कोदोखेती गर्न त मिल्छ, तर सुन्तला लगाउनका लागि उपयुक्त रहेकाले सबैजना सुन्तलाखेतीमै आबद्ध हुनुहुन्छ ।”

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला सुन्तला टिप्न र बिक्री गर्न व्यस्त छन् । बेनीकोटका १०० घर सुन्तलाखेतीमा आबद्ध छन् । यहाँका कृषकले रु २० हजारदेखि रु १६ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

यहाँ प्रत्येक वर्ष कात्तिकदेखि मङ्सिर महिनामा सुन्तला टिपेर बिक्री गर्ने गरिन्छ । कृषक आफैँले सुन्तला बिक्री गर्नुपर्दा व्यास नगरपालिकाले प्रतिक्रेट रु दश कर लिने गरेको कृषकको गुनासो छ । रासस