मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राजदूत स्टिभ विटकफसँग मङ्गलबार दिउँसो क्रेमलिनमा भेटवार्ता गर्नुहुने भएको छ ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँगको नियमित ब्रिफिङमा विटकफसँगको बैठक भोलि दिनको दोस्रो भागमा हुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
यसअघि अमेरिकी तथा युक्रेनी अधिकारीहरूबीच भएको प्राथमिक छलफलपछि वासिङ्टनले प्रस्ताव गरेको सम्भावित शान्ति–ढाँचाबारे दुवै पक्षको संवाद अघि बढिरहेको छ । संयुक्त राज्य अमेरिकाले मस्को–किएभ युद्ध अन्त्य गर्न एक प्रकारको ‘आधारभूत रूपरेखा’ प्रस्तुत गर्न चाहेको बताउँदै आएको छ ।
राष्ट्रपति पुटिनले गत हप्ता आफ्नो कडा मागहरू दोहो¥याउँदै किएभलाई मस्कोले दाबी गरेका क्षेत्रमा आत्मसमर्पण गर्नैपर्ने अन्यथा रुसी सेनाले ‘आवश्यक परे बलपूर्वक नियन्त्रण लिने’ चेतावनी दिनुभएको थियो ।
राजदूत विटकफले पुटिनलाई यसअघि पनि क्रेमलिनमा धेरै पटक भेट्नुभएको छ । तर उहाँले मस्कोसँगको संवादमा अपनाउनुभएको शैलीबारे अमेरिकाभित्र नै आलोचना भएको छ । प्रारम्भिक अमेरिकी योजना क्रेमलिनको मागतर्फ बढी झुकाव भएको जस्तो देखिएको भन्दै कतिपय अधिकारीहरू र विश्लेषकहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।
यता युरोपेली सङ्घ (इयु) ले आगामी हप्ता ‘युक्रेनका लागि अत्यन्त महत्त्वपूर्ण’ हुने चेतावनी दिँदै कूटनीतिक गतिविधि बढाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार पेरिसमा रहेर किएभका लागि युरोपेली समर्थन विस्तार गर्न सक्रिय हुनुहुन्थ्यो ।
अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षदेखि जारी युद्ध अन्त्य गर्न सम्भावित सम्झौताको सम्भावनाबारे आशावादी मनोवृत्ति प्रकट गर्नुभएको छ ।
पुटिन–विटकफ भेटले शान्ति प्रक्रियामा नयाँ मोड आउने कि नआउने भन्ने विषयले अहिले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ ।(रासस/एएफपी)










