२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेन–जी अभियन्ता रक्षा बमले मागिन चुनाव हुन दिन्ने भन्नेसँग संविधानबारेको धारणा ?



अ+ अ-

काठमाडौं । जेन–जी अभियन्तासमेत रहेकी जेन–जी फ्रन्टकी संयोजक रक्षा बमले चुनाव हुन्न दिन्ने भन्नेहरुसँग संविधानबारेको धारणा स्पष्ट पार्न माग गरेकी छन् ।

संयोजक बमले आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै चुनाव हुन दिन्नौं भनेर कसले किन भनिरहेको छ भन्ने प्रश्न गर्दै चुनाव गराउन नदिनेहरुले सरकारलाई नै कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएकी हुन् ।

उनले जेन–जी आन्दोलनपछि गठन भएको नागरिक सरकारलाई आन्दोलनको म्यान्डेट दिएको भन्दै लोकतान्त्रिक बाटोबाटै देशलाई निकास दिनुपर्ने बताएकी छन् ।

चुनाव हुन नदिने एमाले र केही जेन–जीका प्रतिनिधिप्रति कटाक्ष गर्दै उनले नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न आफूहरुले चाहेको स्पष्ट पारेकी छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छन्–

“चुनाव हुन दिन्नौ !” – यो कसले किन भनिरहेको छ ? अनि कुन घमन्ड र शानका साथ भनिरहेको छ ? यसो भन्न उनीहरूलाई कसले हिम्मत दिलाईरहेको छ ? चुनाव हुन दिन्नौ भनिरहेकाहरूको संविधान बारे के धारणा छ ? मूल प्रश्न यतिखेर यो हुनुपर्छ ।

तात्कालिन सरकारको तानाशाहीपन जोगाउनका खातिर भदौ २३ मा जसरी सरकार निरकुंश बन्यो र त्यसपछि जे जस्तो अवस्था सिर्जना भयो त्यो हामी सबै सामु प्रष्ट नै छ । लोकतन्त्रमाथि र संविधानमाथि त्यही बेला पनि हमला गर्न खोजिएकै हो। राज्यविहीनताको अवस्थामा समेत हामीले लोकतन्त्र भनिरह्यौ । संविधान भनिरह्यौ । र त्यसपछी बनेको नागरिक सरकारलाई हामीले प्रष्टसँग आन्दोलनको म्यान्डेट दिएका छौं। हाम्रो म्यान्डेटले सुशासन र जवाफदेहिताको माग गर्दै भ्रष्टाचारको छानविन, भदौ २३ र २४ का अपराधीलाई कारबाहीका साथै, संक्रमणकालीन अवस्थाबाट लोकतान्त्रिक निकास भनेर स्पष्ट रूपले भनेकै छ । र यतिखेर लोकतान्त्रिक निकाशबाट पर हट्नु भनेको सिङ्गो देशले त्यसको भार खेप्नु हो । फेरी अर्को तानाशाहको पाउमा लगेर देशको बागडोर सुम्पनु हो ।

उसो त भदौ २३ अगाडीसम्म तानाशाही निरंकुशता देखाईरहेका केपी ओली पनि त सत्तासँगको Break Up पछि, जनताले गरेको Rejection सहन नसकेर गुण्डुमा संसद पुनस्थापनाको एकोहोरो सुगा रटाई बम्किरहेकै छन । Rejected प्रेमी मधुशालामा बसेर रोएजस्तै छ उनको रूवाई । एकातिर ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ वाला रून्चे आक्रोश छदैछ तर अर्कोतिर एमालेले अर्को भाग पाईहालिन्छ कि भनेर दल दर्ता गराएको छ । यो कुराको लागि लोकतान्त्रिक बाटो अवलम्बन गरेकोमा भने एमालेलाई शंकाको सुविधा सहित लोकतान्त्रिक यात्रामा स्वागत भन्नैपर्छ । त्यो बाहेक संक्रमणकालीन अवस्थालाई झन अप्ठेरोमा पार्दै लोकतन्त्रलाई कमजोर बनाउनको लागि संविधानमा हमला गर्न चाहने जो जति छन, तिनीहरू सबै यतिखेर चुनावको बिपक्षमा छन र अहिलेको सरकारलाई कमजोर बनाउन चाहिरहेका छन ।

आखिर चुनाव हुन नदिएर कुन शून्यतामा मुलुकलाई पुर्‍याउन खोजिरहेका छन उनीहरू ? ‘नाई मलाई त्यही सत्ता चाहिन्छ’ भन्ने ओलीहरू र ‘हामी चुनाव दिन्नौं’ भन्ने Gen Z साथीहरू तपाईहरूलाई स्पष्ट होस, हामी त लोकतन्त्र चाहन्छौ। लोकतान्त्रिक निकास चाहन्छौ । र देशलाई नयाँ जनादेशका साथ हाम्रो आवाज बोल्नेहरूलाई संसदमा जनताको आवाज प्रतिनिधित्व गरिरहेको हेर्न चाहन्छौ ।

सबैले याद गरौ – लोकतन्त्रको बिकल्प उन्नत लोकतन्त्र नै हो ।

लोकतन्त्र – अमर रहोस ।

गणतन्त्र – जिन्दावाद ।