काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन्।
तर उनले पार्टी सदस्यता भने यथावत् रहने बताएका छन्।
विष्टले कार्यव्यस्तताका कारण जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्न नसकेकाले राजीनामा दिएको बताए। उनले भने, “पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट मात्र राजीनामा दिएको हुँ।”
राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमिति बैठक बोलाएका थिए। बैठकका सहभागीहरूले उनलाई राजीनामा नदिन दबाब दिए पनि उनले थप सोचविचारपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए।
पार्टीको प्रचलनअनुसार उनले आफ्नो राजीनामा बागमती प्रदेश समितिमा बुझाएका छन्।
विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाको तर्फबाट काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए।










