काठमाडौं । राष्ट्रिय परिचयपत्र (नेशनल आइडी)प्राप्त गरेका नागरिकले अब मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय धाउनुपर्ने छैन।
निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रमा समावेश विवरणलाई नै मतदाता नामावलीसँग जोड्ने व्यवस्था लागू गरेको हो।
आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अनलाइनमार्फत फारम भरेपछि राष्ट्रिय परिचयपत्रमा रहेको बायोमेट्रिक विवरण स्वतः मतदाता नामावलीमा प्रयोग गरिनेछ ।
“नेशनल आइडीको भण्डारमा रहेका बायोमेट्रिक विवरण अनलाइनमा भर्नुभएको निवेदनसँग जोड्ने र छानबिनपछि नामावली प्रकाशन गर्ने निर्णय गरेका छौं,” उनले भने, “यसले नागरिकका सबै माग सम्बोधन गर्नेछ ।”
उनका अनुसार आयोगले मतदाता नामावली संकलनलाई सहज बनाउन बुधबार राति नै आवश्यक प्राविधिक तयारी सम्पन्न गरेको हो। अब अनलाइनमार्फत फारम भर्ने नागरिकका बायोमेट्रिक विवरण राष्ट्रिय परिचयपत्र डेटाबेसबाटै लिइनेछ।
निर्वाचन आयोगले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको छ। समयसीमा नजिकिँदै जाँदा ठूलो संख्यामा नाम दर्ता गर्न बाँकी नागरिकलाई सहजता प्रदान गर्न आयोगले यो व्यवस्था ल्याएको हो।
आयोगको निर्णयसँगै कार्यालयहरूले नयाँ प्रणाली कार्यान्वयनमा ल्याइसकेका छन् । आयोगले यस प्रणालीले मतदाता नामावली संकलनमा पारदर्शिता र सहजता बढाउने विश्वास व्यक्त गरेको छ।









