१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारको उपसचिव हुँ भन्दै धम्क्याउने पूर्व बैंक कर्मचारी पक्राउ



अ+ अ-

काठमाडौँ। आफूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव भन्दै सर्वसाधारणलाई धम्क्याउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार डोटी घर भई हाल काठमाडौंको तारकेश्वरमा बस्दै आएका ३७ वर्षीय ऐभान बहादुर महरालाई पक्राउ गरिएको हो।

महराले तारकेश्वर क्षेत्रमा आफू अख्तियारको उच्चपदस्थ कर्मचारी भएको र किर्ते कागजपत्र देखाएर स्थानीयलाई धम्क्याउने गरेको सूचनाका आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनलाई तारकेश्वर नगरपालिका–९, टुसाल चोकबाट विभिन्न सरकारी निकायका नक्कली लेटरप्याड र कागजातसहित नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिए।

प्रारम्भिक सोधपुछका क्रममा महरा राष्ट्रिय वाणिज्य बैंकका पूर्व कर्मचारी भएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेटरप्याड, राष्ट्रिय वाणिज्य बैंकको डेपुटी म्यानेजर पदको परिचयपत्र, विभिन्न बैंकका स्टेटमेन्ट, एटीएम कार्ड, चेकबुक र हिसाबकिताब राखिएको डायरी बरामद गरेको छ।

पक्राउ परेका महरामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टराईले बताए।