२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इटालीकाे परिस्थिति अझ भयावह, एकै दिन ७९३ जनाकाे मृत्यु, मृतक संख्या ४,८०० नाघ्याे



अ+ अ-

काठमाडौं

युराेपमा काेराेना भाइरसकाे सर्वाधिक प्रभाव परेकाे इटालीमा मृतककाे संख्या लगातार उकालाे लागेकाे छ । परिस्थिति अझै भयावह बन्दै गएकाे विश्वका संचार माध्यमहरूले जनाएका छन् । शनिबार मात्र इटालीमा ७९३ जनाकाे ज्यान गएकाे छ, र यीमध्ये अधिकाँश बुढ्याैली उमेरका मानिसहरू रहेका छन् । कोरोना भाइरसका कारण एकै दिन यति ठूलाे संख्यामा मानिसकाे मृत्यु भएकाे याे पहिलाे घटना हो ।

इटालीकाे सेनाले शवहरू उठाएर शवदाह गृहसम्म लैंजादै गरेकाे दृश्य । तस्वीरः इपिए

काेराेनाभाइरसकाे तथ्याँक सार्वजनिक गरिरहेकाे वर्ल्डओमिटर्स डट इन्फाेका अनुसार, इटालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८२५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो । चीनमा हालसम्म ३ हजार २६१ जनाकाे ज्यान गएकाे छ ।

इटालीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ । योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको छ ।

इटालीकाे उत्तरी लाेम्बार्डी क्षेत्रमा बढी प्रभाव देखिएकाे काेराेनाभाइरसका कारण मृत्यु भएकाहरूकाे अन्तिम संस्कार गर्ने ठाउँकाे समेत अभाव हुन थालेकाे भन्दै यहाँ चिन्ता व्यक्त गरिएकाे खबर छ ।

युराेपका अन्य कतिपय देशकाे अवस्था पनि नाजूक बन्दै गएकाे छ । स्पेनमा १३७८, जर्मनीमा ८४, फ्रान्समा ५६२, बेलायतमा २३३, नेदरल्यान्ड्समा १३६, बेल्जीयममा ६७, स्वीडेनमा २० जनाकाे मृत्यु भएकाे छ । यी मुलुकमा लकडाउन गरिए पनि मृतककाे संख्या र संक्रमितकाे संख्या निरन्तर बढेकाे छ । स्पेनमा शनिबार एकै दिन २६७ जनाकाे ज्यान गएकाे छ ।

संक्रमितकाे संख्याका दृष्टिले चीन र इटालीपछि अमेरिका पुगेकाे छ । यहाँ शनिबारसम्ममा करिब २७ हजार व्यक्ति संक्रमित भएका छन् । अमेरिकाका कैयाैं राज्यमा लकडाउन गरिए पनि शनिबार एकै दिन ७ हजारभन्दा बढीमा संक्रमण देखिएकाे छ ।