२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोनाले डढेलोको रुप लिदैछ



अ+ अ-

आजवाट अमेरिकामा कोरोना भाइरसले डढेलोको रुप लिएको महसुस भएको छ । आजमात्रै १०० जनाभन्दा वढी अमेरिकी नागरिकहरुले कोरोना भाइरसको कारण मृत्युवरण गरेका छन् । अमेरिकामा अहिलेसम्म कुल ५ सय ४० जनाको निधन भइसकेको छ भने ४२ हजार ६०० संक्रमित पुष्टि भएका छन् । पक्कै पनि यो अमेरिकी समस्या मात्र होइन, अहिलेको तथ्यांक अनुसार विश्वभर ३ लाख ८१ हजार भन्दा वढी मानिसहरु संक्रमित भइसकेका छन् भने १६ हजार ५७२ को निधन भइसकेको छ ।

अमेरिकी सरकारी प्रयासको वावजुद कोरोनाको संक्रमण रोकिने लक्षण देखिएको छैन, झन्झन् तीव्र हुंदैछ । देशको कुल जनसंख्याको करिव ४२ प्रतिशत यानेकी कुल १३ करोड ८० लाख मानिसहरुलाई घरमानै वस्नका लागि ‘स्टे-एट-होम अर्डर’ जारी भएको छ । ‘स्टे-एट-होम अर्डर’ जारी भएका क्यालिफोर्निया, इलिनोइस, न्युजर्सी, न्युयोर्क, लुजियाना, कनेक्टिकट, वासिंगटन, ओहायो, न्यू मेक्सिको, म्यासाचुसेट्स, डेलावर, मिचिगन, वेष्ट भर्जिनिया, इण्डियाना, हवाइ राज्यमध्ये धेरैजसोमा आदेश कार्यान्वयनमा आइसकेको छ भने केहीमा आज र केहीमा भोली कार्यान्वयनमा आउंदैछ ।

भाइरस संक्रमणवाट पीडित हुंदै गएका जनतालाई कसरी राहत दिने भन्ने विषयमा सत्तारुढ रिपव्लिकन र विपक्षी डेमोक्रेटिक पार्टी सहमतिमा नपुग्दा सिनेटमा विल अड्किरहेको छ । समयमानै जनताले राहत पाउन सकेनन् भने कोरोना भाइरसभन्दा अर्को ठुलो विपत्ति आउने हो कि भन्ने त्रास सर्वसाधारणमा रहेको छ । विमान कम्पनी, व्यापारिक प्रतिष्ठान देखि सर्वसाधारण जनतालाई कसरी राहत दिने भन्ने विषयमा दुइ पार्टीको मत मिल्न सकेको छैन । कोरोनाको संकट गहिरिदै जांदा जातिवादी समस्या पनि आउलाकि भन्ने चिन्ता पनि सर्वत्र छ । सुरुका दिनमा राष्ट्रपति डोनाल्ड ट्रम्पलेनै कोरोना भाइरसलाई ‘चिनिया भाइरस’ भनिदिने गरेर पहिचानको समस्या सिर्जना भएको आरोप पनि लाग्दै गरेको छ तर राष्ट्रपति ट्रम्पले आज यसलाई जातिवादी समस्या हुन नदिने उदेश्यले ट्वीट गरेका छन् । ‘अमेरिकामा कोरोना भाइरसको संक्रमण वढ्दै जानुमा एशियन अमेरिकनको कुनै त्रुटी छैन’- ट्वीटरमा ट्रम्पले भनेका छन्- ‘हामी एशियन-अमेरिकन कम्युनिटीलाई अमेरिका र विश्वमा संरक्षण गर्नेछौ’।

विरामीहरुको संख्या दिनदिनै थपिंदै जांदा अहिले अस्पतालमा विरामी राख्ने ठाऊको अभाव हुंदै गएको छ । अमेरिकामा सवैभन्दा पहिला ‘स्टे-एट-होम’ को आदेश जारी गर्ने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले विरामीहरुको चापलाई धान्न आप्नो राज्यलाई तत्कालै ५० हजार वेड आवश्यक भएको वताएका छन् । यही अवस्था सवै राज्यमा रहेको छ । अमेरिकाका लागि अहिले सवैभन्दा ठुलो आपत्ति भनेको स्वास्थकर्मीहरुका लागि आवश्यक पर्सनल प्रोटेक्शन इक्विपमेन्ट (पीपीइ) जुटाउनुनै हो । विरामीहरुको चाप वढ्दै जांदा स्टकमा भएका पञ्जा, मास्क लगायत अन्य सामग्रीहरु दिनदिनै सकिदै गएका छन् । कतिपय अस्पतालमा १ सयभन्दा पनि तल मास्क रहेको छन्, जसले काम गर्ने चिकित्सक, नर्स र नर्स एडहरुको जीवन पनि खतरामा पर्ने देखिएको छ । यदि स्वास्थकर्मीहरुले पीपीइ पाएनन् भने विरामीहरु अस्पतालमा हुने तर स्वास्थकर्मीहरु ‘कल इन’ गरेर घरमा वस्ने अवस्था सिर्जना हुने खतरा पनि उत्तिकै छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्कलाई सेनिटाइज गरेर प्रयोग गर्न सकिने वताएपनि स्वास्थकर्मीहरुले यसलाई अस्वीकार गरेका छन् ।

न्युयोर्कका मेयरले यो हप्तालाई मात्रै धान्ने स्वास्थ सामग्री भएको वताएका छन् भने इलिनोयका गभर्नरले त स्वास्थ सामग्रीहरुको माग तीव्र वन्दै जांदा राज्यराज्यहरुवीचमा नै सामग्री किन्न अस्वस्थ प्रतिश्पर्धा सुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । यस्तो अवस्थामा एक नर्सले त्रसित हुंदै सीएनएनसंग भनेकी छिन्- ‘हामी अस्पताल पुग्दा आफुलाई वधशालामा पुर्याइएको भेडोझै महसुस गर्छौ’।

यति ठुलो महामारी हुंदापनि आज दिउसो म वसेको शहर लुइभेलमा अघिल्ला दिनहरुभन्दा जनजीवन सामान्य थियो । वालमार्टमा मानिसहरु निसंकोच किनमेलमा व्यस्त थिए र आज अन्य दिनभन्दा उपभोग्य सामग्रीहरु पनि वढी उपलव्ध थिए । अघिल्लो हप्ताहरुमा अत्याधिक सामान खरिद गरेकोले यो हप्ता वजारमा सामग्रीहरु देखिन थालेको हो तर मानिसहरु मनमौजी वन्दै गएको र कोरोना संक्रमणपट्टी ध्यान नदिएको कारण यो महामारी झन् वढ्ने चिकित्सकहरुले चेतावनी दिएका छन् । यथार्थमा भन्दा संसारको सर्वशक्तिमान देश अमेरिकाका आगामी दिनहरु ‘भगवान भरोसे’ छन् । सापकोटाको फेसबुक वालबाट