५ असार २०८३, शुक्रबार
,
Latest
कक्षा १२ को नतिजा सार्वजनिक प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण किस्पाङ प्रतिभाको खोजीः वक्तृत्वकला र चित्रकला प्रतियोगिता सम्पन्न पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अक्टुबरको पलेँटीमा आउँदैछिन् ज्ञानु राणा



अ+ अ-

न्यूजपोलार ए.आई.

नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक ज्ञानु राणा प्रस्तुत हुने

कार्यक्रम यही आउँदो शुक्रबार र शनिबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै

ज्ञानु राणाले गाएका अनगन्ती गीतहरूले लोकप्रियताको शिखर चुमेका छन्

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो ।

 

 

काठमाडौं । अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रममा यसपटक ज्ञानु राणा प्रस्तुत हुने भएकी छिन् । कार्यक्रम यही आउँदो शुक्रबार र शनिबार नेपालयको ‘आर’शालामा आयोजना हुँदैछ । यो पलेँटीमा प्रसिद्ध लोक कलाकार धर्मराज थापाको सम्झना पनि गरिने भएको छ । ज्ञानु राणा कलाकार धर्मराज थापाकी सुपुत्री हुन् ।

आफ्नो पिताजीको प्रेरणाले नै गायनमा लागेको बताउने ज्ञानु राणाले आफ्ना सुपुत्र विकाश जङ्ग राणालाई समेत पलेँटीमा सहभागी गराउने भएकी छिन् । विकाश जङ्गले धर्मराज थापाका लोकप्रिय गीतहरू सुनाउने भएका छन् । त्यसैले यसपालीको पलेँटीलाई तीनपुस्ते सृजनात्मक सङ्गमको रुपमा पनि लिन सकिन्छ ।

ज्ञानु राणाले गाएका अनगन्ती गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् । उनी मुख्यगरि लोक गायनमा भिजेकी कण्ठ-शिल्पी हुन् तर उनले गाएका आधुनिक गीत, गजल र भक्ति गीत पनि उत्तिकै प्रभावशाली छन् । उनले प्रसिद्ध गायक नारायण गोपालसँग सह गायन गरेका ‘मान्छेको माया यहाँ’ र ‘सिरीमा सिरी नि कान्छा’ आजसम्म पनि उत्तिकै रुचाइएका गीतको लहरमा पर्छन् । त्यस्तै गोपाल योञ्जनले बुनेको अद्भूत तामाङसेलो ‘च्याङ्बा होए च्याङ्बा’ गीतलाई त अहिलेको पुस्ताले पनि उत्तिकै माया दिएको पाइन्छ ।

नारायण गोपाल र गोपाल योञ्जनका साथै उनले अनेकौं लोक गायकसँग पनि सह गायन गरेकी छिन् । पलेँटीमा प्रस्तुत हुने ज्ञानु राणाका युगल गीतमा गायक रुपक चौधरीले साथ दिने भएका छन् ।

यसपालीको कार्यक्रमले नेपाली सङ्गीतको स्वर्णिमकाल सम्झाउने कुरा पलेँटीका संयोजक आभासले बताएका छन् । उनी भन्छन्- ‘ज्ञानु दिदी नेपाली लोक गायन र आधुनिक गायनकी दोभान हुन् । यसपालीको पलेँटीमा पुरानो पुस्तालाई ‘नोस्टल्जिक’ बन्ने अवसर जुट्नेछ र नयाँ पुस्तालाई लोकप्रियताको ‘अर्ग्यानिक’ सौन्दर्यको अनुभूति गर्ने अवसर ।’

आयोजकका अनुसार यसपालीको पलेँटीमा ‘चौतारीमा मै बसे होला कि’, ‘भिज्यो तिम्रो रातो पछ्यौरी’, ‘आज मादल बजेको किन’, साइँली रिमै चौँरी गाई’,’हरियो डाँडामाथि’ जस्ता झण्डै डेढ दर्जन गीतहरू प्रस्तुत हुनेछन् ।

दशैँभन्दा पहिलेदेखि नै पलेँटीको तयारीमा जुटेकी ज्ञानु राणा निक्कै उत्साहित देखिन्छिन् । आउँदो पलेँटीबारे राणा भन्छिन्- ‘मैले १४ वर्षको उमेरमा गीत गाउन थालेकी हुँ, बुवाले हात समातेर रेडियो नेपाल पुर्‌‍याएको हिजो जस्तो लाग्छ । युग पो बितिसक्यो ।’भावुक देखिएकी ज्ञानु राणा अगाडि भन्छिन्-‘गीत धेरै गाइयो । श्रोता, दर्शकसँग अगाध माया पाइयो । गलाले साथ दिउन्जेल गाइरहने हो । पलेँटीका श्रोता, दर्शकले पनि अवस्य माया दिनुहुनेछ ।’

पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । पलेँटी कार्यक्रम यही अक्टुबर महिनाको अन्तिम शुक्रबार; ३१ तारिख र नोभेम्बर १ तारिखका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको ‘आर’सालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।

यसपालीको पलेँटीदेखि कार्यक्रम स्थलमा आएर प्रत्यक्ष कार्यक्रम हेर्न अनुकूल नहुने सङ्गीत प्रेमीका निम्ति नयाँ व्यवस्था सुरु गरिएको छ । विभिन्न कारणले नेपालकै अन्य क्षेत्रमा वा देशभन्दा बाहिर रहेर कार्यक्रममा प्रत्यक्ष आउन सम्भव नहुनेहरूका लागि पलेँटीको ‘पे पर भ्यू प्ल्याटफर्म’ सुरु गरिएको छ । जस अन्तर्गत सङ्गीतप्रेमीले अनलाइनबाटै निश्चित रकम तिरेर आफ्नो फोन, कम्युटर वा टेलिभिजनमा पलेँटीको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्न पाउनेछन् । त्यसका निम्ति www.paleti.com.np मै प्रवेश गरेर निर्धारित शुल्क तिरेपछि ‘लाइभ’ अवलोकन गर्न मिल्ने लिङ्क उपलब्ध गराइने ब्यबस्था गरिएको छ ।