न्यूजपोलार ए.आई.
मुक्तिनाथ क्षेत्रमा भारी हिमपात
हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित
हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह
मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना
काठमाडौं । मुस्ताङको मुक्तिनाथ मन्दिर र आसपासमा भारी हिमपात भएको छ ।
हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् । गएरातिदेखि नै भारी हिमपात भएको हो । हिँडडूल गर्न कठिन भएको छ ।
यस क्षेत्रमा आधाफिटसम्म हिउँ परेको छ । होटल तथा व्यवसाय सञ्चालन गरेकाहरुले हिउँ पन्छाएका छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मुस्ताङले विज्ञप्ति जारी गर्दै हिमपात भइरहेकाले यात्रामा ननिस्किन पदयात्रीलाई आग्रह गरेको छ ।
मुस्ताङका उच्च हिमाली क्षेत्र, मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिक लगायतका क्षेत्रहरूमा भारीदेखि हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।
त्यसैले उक्त क्षेत्र भएर पदयात्रा नगर्न/नगराउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
मुस्ताङको अन्य भागमा समेत बुधबारसम्म हिमपात र वर्षाको सम्भावना रहेकाले पर्यटक तथा तीर्थयात्रीहरुले मौसम पूर्वानुमानसम्बन्धी जानकारी लिएर यात्रा गर्न भनिएको छ ।

फोटो- जिल्ला प्रहरी कार्यलय मुस्ताङ










