१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास
अ अ+ अ-

हेटौँडा । मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो ।

करिब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज ९पिँजरा० राखेर प्रतिघनमिटर चार दशमलव पाँच किलोका दरले माछा उत्पादन भइरहेको इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिनुभयो । पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा रहेको सङ्घले जनाएको छ ।

बलामीका अनुसार तरकारीखेतीमा प्रयोग गरिने कीटनाशक र रासायनिक मल बर्सात्को समयमा खोलानाला हुँदै तालमा मिसिन्छ । उहाँले भन्नुभयो, “यो विषादी मिसिएको पानी तालमा पुग्दा माछाको प्राकृतिक खाना (माछाले खाने सुक्ष्म जीवहरू जसलाई प्लाङ्कटन भनिन्छ) र सूक्ष्म जीवमा असर पुग्छ, जसले गर्दा माछा पहिले जस्तो गतिमा बढ्दैनन् ।”

विशेषगरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा भर पर्छन् । विषादीले ती स्रोतहरू नष्ट गर्दा माछाको तौल र वृद्धि दुवैमा कमी आएको मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष बलामीले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार सङ्घले हाल ६५० परिवारलाई शेयर सदस्य बनाई माछा उत्पादन, बिक्री र लाभांश बाँडफाँटको व्यवस्था गरेको छ । यसै आम्दानीले विद्यालय सञ्चालनदेखि सामुदायिक पूर्वाधार मर्मतसम्म सहयोग पुग्ने गरेको छ ।

माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ । उहाँले भन्नुभयो, “पहिले दुई किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि गाह्रो छ, माछाको प्राकृतिक खाना घटेकाले पनि तिनीहरूको वृद्धि क्षमता घट्दै गएको हो ।” उहाँले आफ्नो होटलमा राखिने परिकारमध्ये कुलेखानी तालको माछा विषेश मान्ने गरिएको बताउनुभयो ।

ताल वरपरका गाउँमा स्थानीय समुदायले माछापालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । माछा बिक्रीबाट आउने आम्दानीले गाउँको विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा ठूलो योगदान पुर्‍याउँदै आएको छ । माछाको आकार घटेपछि कृषकले अहिले आर्थिक घाटा बेहोर्नुपरेको मगरले बताउनुभयो ।

कुलेखानी–कलङ्कीका युवा संसार बलामीका अनुसार, तालमा माछा हाल्ने, हेरचाह गर्ने र बिक्री वितरणको काम इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घले गर्छ । उहाँले भन्नुभयो, “तालले गाउँका सयौँ घरलाई रोजगारी दिएको छ, तर माछा साना हुन थालेपछि आम्दानी घटेको छ, जसले गाउँको अर्थतन्त्रमा पनि असर पारेको छ ।” ताल र माछाको कारण पर्यटन प्रव्रद्धन भएको उहाँको भनाइ छ ।

सरकारी निकायको दृष्टिकोण

मत्स्यविकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले विषादीका कारण माछाको तौल घट्नु गम्भीर विषय भएको बताउँदै यसको वैज्ञानिक अध्ययन सुरु गरिएको जानकारी दिनुभयो । “हालै गरिएको परीक्षणमा पानीमा रासायनिक अंशको मात्रा सामान्यभन्दा माथि पाइएको छ, त्यसैले यसले माछाको वृद्धि दरमा असर पारेको हुनसक्छ”, उहाँले भन्नुभयो ।

निमित्त प्रमुख पौडेलका अनुसार केन्द्रले हाल सिल्भर कार्प, बिगहेड, कमन कार्प, ग्रास कार्प, रहु, नैनी, भाकुर, टिलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।

हरेक वर्ष भदौ महिनाको तेस्रो साता करिब दुई लाख भुरा माछा तालमा छाड्ने गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार कुलेखानीको माछा प्राय: स्थानीयस्तरमै खपत हुने भएकाले यसको गुणस्तर जोगाउन तालको पानीको स्वच्छता अत्यावश्यक छ । त्यसैले केन्द्रले विद्यालय र समुदायमा जलाशय संरक्षण र स्वस्थ मत्स्यपालनका तालिम सञ्चालन गर्दै आएको छ ।

विषादी र वातावरणीय असर

मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा व्यावसायिक तरकारीखेती तीव्र गतिमा फैलिँदै गएको छ । किसानले उत्पादन बढाउने उद्देश्यले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोसजस्ता विषादी प्रयोग गर्ने गर्छन्, जसले पानी र माटोमा दीर्घकालीन असर पुर्‍याउँछ ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज यादवले विषादीले माछाको प्राकृतिक खाना र शरीरमा क्षति पुग्ने भएकाले उत्पादन र तौलमा कमी आएको जानकारी दिनुभयो ।

“विषादीले पानीको रासायनिक संरचना परिवर्तन गर्छन्, माछाको अण्डा फुट्ने दर घट्छ, आन्द्रा र गिल्समा क्षति पुग्छ”, उहाँले भन्नुभयो, “यदि विषादी मिश्रित पानी आइरहेको छ भने यसलाई नियन्त्रण गर्न जरुरी छ अन्यथा कुलेखानी तालको जैविक विविधता मात्र होइन, स्थानीय खानेपानी र पर्यटन अर्थतन्त्र पनि प्रभावित हुन सक्छ ।”

सम्भावित समाधान र सचेतना

मत्स्यविकास केन्द्र र सङ्घले ताल वरपरका किसानलाई जैविक मल र पर्यावरणमैत्री खेती प्रणाली अपनाउन प्रोत्साहन गर्ने योजना बनाउन जरुरी रहेकामा केन्द्रका प्रमुख यादवले जोड दिनुभयो । साथै, तालमा मिसिने पानी शुद्धीकरण गर्ने प्रविधि पोखरी निर्माण भएमा समाधान हुने उहाँले उल्लेख गर्नुभयो । रासस