काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणा उपचारका लागि गएराति सिंगापुर गएका छन् ।
देउवा दम्पत्ति गएराति ११ बजेको उडानबाट सिंगापुर गएका हुन् ।
गत भदौ २४ गते जेन–जी आन्दोलन क्रममा आफ्नै निवास बुढानीलकण्ठमा सभापति देउवा र तत्कालीन परराष्ट्रमन्त्री आरजुमाथि भौतिक आक्रमण भएको थियो । उनीहरूको घरमा समेत आगजनी र तोडफोड गरिएको थियो ।
सभापति देउवाको गर्धन र टाउकोमा चोट लागेको थियो भने तत्कालीन परराष्ट्रमन्त्री राणालाई प्रदर्शनकारीहरूले लछारपछार गरेका थिए ।
त्यस दिन नेपाली सेनाले उद्धार गरेर सभापति देउवा दम्पतीको उपचार गरेको थियो ।
असोज २८ गते सानेपास्थित केन्द्रीय कार्यालयमा उपस्थित भएर केन्द्रीय समिति बैठकमा धारणा राख्दै सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।









