काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब आर्सनलले स्पेनिस क्लब एट्लेटिको मड्रिडलाई दोस्रो हाफमा गोलको वर्षा गर्दै ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको पहिलो हाफ निकै कडा र रक्षात्मक रह्यो, जहाँ दुवै टोलीले कुनै गोल गर्न सकेनन् । तर, दोस्रो हाफमा आर्सनलले आफ्नो आक्रामक शैलीमा १३ मिनेटभित्र चार गोल गर्न सफल रह्यो ।
खेलको ५७औँ मिनेटमा आर्सनलले पहिलो सफलता हात पार्यो। डेक्लान राइसको उत्कृष्ट फ्री–किकलाई ब्राजिलियन डिफेन्डर गाब्रियलले शक्तिशाली हेडरमार्फत गोलमा परिणत गर्दै अग्रता दिलाए ।
त्यसको केही मिनेटपछि नै ६४औँ मिनेटमा गाब्रियल मार्टिनेलीले उत्कृष्ट फिनिस गर्दै अग्रता दोब्बर पारे ।
आर्सनलका लागि समरमा अनुबन्ध भएका स्ट्राइकर भिक्टर ग्योकेरेसले आफ्नो गोलको खडेरी तोड्दै ६७औँ मिनेटमा तेस्रो गोल गरे । नजिकैबाट प्रहार गरिएको उनको शट डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो।
त्यसको तीन मिनेटपछि, ७०औँ मिनेटमा ग्योकेरेसले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४–० को जित दिलाए । जारी च्याम्पियन्स लिगमा आर्सनलको यो लगातार तेस्रो जित हो । एट्लेटिकोले भने एक खेल मात्रै जितेको छ ।










