काठमाडौं । विश्वभरी माहामारी रुपमा फैलिएको कोरोना भाइरस बाघमा पनि भेटिएको छ । अमेरिकाको न्युयोर्कस्थित ब्रोन्क्स चिडियाघरमा चार वर्षको नाडिया मलायन प्रजातिको बघिनीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
बीबीसीले उल्लेख गरेअनुसार अमेरिकामा जनावरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । उक्त चिडियाघर रहेको अर्को मलायन बाघसँगै दुई अमुर प्रजातिको बाघ तथा तीन अफ्रिकी सिंहमा पनि सुख्खा खोकी देखिएको बताइएको छ ।

चिडियाघरले भाइरस कसरी जनावरमा सर्यो भन्ने अझै पत्ता नलागेको बताएको छ । चिडियाघरका अन्य जनावरमा भने बिरामीको लक्षण देखिएको छैन । लक्षण नदेखिएका संक्रमितको माध्यमबाट यो भाइरस जनावरमा सरेको हुन सक्ने चिडियाघरले बताएको छ ।
यसअघि बेल्जियममा बिरालो तथा हङकङमा कुकुरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको दाबी गरिएको थियो । अहिलेसम्म जनावरबाट यो भाइरस मानिसमा सर्न सक्छ भन्ने कुनै आधार फेला परेको छैन ।











