काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार नाघेको बताइएको छ । सबैभन्दा बढी संक्रमित पनि अमेरिकामा नै रहेका छन् । त्यहाँ संक्रमितको संख्या पनि ३ लाख नाघेको छ । यसरी चीनको बुहानबाट सुरु भएको यो प्राणघातक संक्रमण कोरोनाबाट अमेरिका सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । त्यहाँ आइतबार पनि १० हजार भन्दा बढी संक्रमित थपिएका छन् । हरेक दिन १० हजार भन्दा बढीको संख्यामा संक्रमित थपिने गरेका छन् ।

सीएनएनका अनुसार आइतबार अमेरिकामा एक हजार एक सय ३७ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । यससँगै समग्र मृत्यु हुनेको संख्या नौ हजार छ सय ३३ पुगेको छ ।
पछिल्लो तीन दिनमा मात्र अमेरिकामा तीन हजार पाँच सयभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । शुक्रबार अमेरिकामा भाइरसको कारण एक हजार एक सय ६९ जनाको मृत्यु भएको थियो भने शनिबार एक हजार तीन सय ४४ जनाको मृत्यु भएको थियो ।
चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म समग्र संक्रमितको संख्या तीन लाख ३७ हजार नाघेको छ । आइतबार मात्र अमेरिकामा २५ हजार २९ नयाँ संक्रमित फेला परेका थिए ।
अमेरिकामा अहिलेसम्म १७ हजारभन्दा धेरै संक्रमित निको भएका छन् । कोरोना भाइरसको महामारी फैलिएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अबको दुई साता अमेरिकाको लागि निकै कठिन हुने बताएका थिए ।











