१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा

यसरी पुनहिलमा परिणत भयो ‘लुङटुङ’ डाँडा
अ अ+ अ-

घोडेपानी, (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ ।

समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ ।

पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ ।

“विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो”, उहाँले भन्नुभयो, “मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।”

पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे ।

दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उहाँले बताउनुभयो ।

स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो ।

सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताउनुभयो । “चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी–पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।”

घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५४ लाखमा ठेक्का सम्झौता गरेको छ ।

विदेशीले प्रतिव्यक्ति रु एक सय ५० र नेपालीले रु ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक एक सय ५० देखि दुई सय जनासम्म विदेशी पर्यटक आएका बताउनुभयो ।

“गत वर्ष यही याममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ ।” घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् ।

घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ ।

समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ ।

यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

“पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ ”, उहाँले भन्नुभयो, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।”

हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा–जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

राम थापा र सन्तोष गौतम/रासस