२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शहरबाट गाँउ झरेका युवा कृषि कर्ममा, दङ्दास परे वृद्धवृद्धा



अ+ अ-

गलेश्वर । बेनी नगरपालिका–२ बगरफाँटका ८४ वर्षीय बाबुराम उपाध्यायले शहर बजारमा जागिर, व्यापार र अध्ययन गरेका युवाले मलको डोको बोकेर खेतमा धाएको पहिलो पटक देख्नुभयो ।

सधैँभरि शहर बजारमा विभिन्न पेशा, व्यवसाय, रोजगारी र अध्ययनलगायत कार्यमा व्यस्त रहने युवा÷युवती यतिबेला भने गाउँका पाखापखेरा, खेतबारी र घरगोठमा व्यस्त भएको देख्दा उहाँ दङ्ग पर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न शहरबजारमा रहने व्यक्तिहरु गाउँमा फर्केर कृषि कर्ममा लागेपछि अहिले गाउँको रौनक नै फेरिएको छ । यतिबेला रहरले सामाजिक सञ्जालमा तस्वीर राख्नका लागि मात्रै युवायुवतीले कृषि कर्म गरेको नभई आफ्नो धरातलीय यथार्थता बोध भएकै कारण उनीहरु कृषिकर्ममा नजिकिएका बगरफाँटका नारायणबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका सचिव सुवर्ण रिजाल यतिबेला आफ्नो गाउँ पूर्णगाउँमा गहुँ काटेर मकै रोप्ने काममा व्यस्त हुनुहुन्छ । बेनीबजारको गणेश टोलमा फेन्सी पसल सञ्चालन गर्नुभएका रिजाल पसलमा ताला लगाएर गाउँ उक्लिएको ठ्याक्कै २४ दिन भयो । यी २४ दिनमा आफूले आफ्नो मनस्थिति नै फेरिनेगरी गाउँको वातावरणले प्रभावित भएको उहाँले बताउनुभयो । रिजालले भन्नुभयो, “वास्तवमा जीवनको साँचो आनन्द गाउँमा नै रहेछ । प्रकृतिसँग एकाकार हुँदै परिश्रम गर्नुको मजा नै बेग्लै हुँदोरहेछ ।”

जीवन सहज रहेछ– काठमाडौँबाट आफ्नो जन्मगाउँ पिपलबोट फर्किएकी २४ वर्षीया रश्मी सापकोटाले भन्नुभयो, “जीवनलाई असहज र कठिन त हामी (मानिस)ले नै बनाएका रहेछौँ ।” उहाँले भन्नुभयो, “राम्रोसँग चलाउन जान्ने हो भने जीवन गज्जबले चल्दो रहेछ । रु ५०० भए एक महिनासम्म पकेट मनि पुग्ने, ऐचौ–पैँचो र अर्म–पर्मबाट काम गर्न सकिने, आफ्नै खेतबारीमा प्राङ्गारिक रुपमा उत्पादन गरिएका खानेकुरा (खाद्यान्न, तरकारी र फलफूल) खाँदा हृष्टपुष्ट र रसिलो भरिलो भइने, गाउँ वास्तवमै हाम्रो जीवनको मूल रहेछ, शहरको रमझम र त्यहाँको अभ्यस्त वातावरणमा हामीले गाउँलाई बिर्सेका रहेछौँ, बल्ल चेत आएको छ ।”

सापकोटाकै विचारसँग मिल्दाजुल्दा भावहरु अहिले गाउँमा फर्किएर गाउँको प्राकृतिक सुन्दरता र कृषि कर्ममा लागेका अन्य युवायुवतीले व्यक्त गर्ने गरेका छन् । लकडाउनका कारण गाउँमा फर्किएर गाउँमा रहेका आफ्ना दौँतरी र बूढापाकासँग गफिँदै खेतबारीको काम गर्न पाउँदा अम्बोटका किरण घिमिरेलाई न कोरोनाको भय हुन्छ न मनोवैज्ञानिक त्रास । उहाँले भन्नुभयो, “सावधानी अपनाउन आवश्यक छ तर अनावश्यक भय र त्रास गाउँमा छैन ।”

शहरको तुलनामा गाउँको अनुशासन र वातावरण सयौँ गुणा उत्कृष्ट रहेको बताउँदै घिमिरेले भन्नुभयो, “शहर आवश्यकता हो, गाउँ वास्तविकता हो, आफ्नो आवश्यकता पूरा गरेपछि मानिस फर्किने भनेको गाउँमा नै हो, किनभने गाउँ प्रकृति हो, संस्कृति हो र जीवनको मूल हो ।”

“महान् दार्शनिक रुसोले भने झैँ अन्तिममा मानिस फर्किने प्रकृतितर्फ नै रहेछ” बेनी नगरपालिका–५ का शिव बानियाँले भन्नुभयो, “के छैन र गाउँमा, सबैथोक छ, मात्र अलिकति विकास, अलिकति गाउँमैत्री मानसिकता र अलिकति शहरिया दम्भ हटाउने हो भने गाउँमा नवजीवन छ, गाउँमा प्रकृतिको अनमोल धन छ ।”

“खेतबारी भरी वनमारा झारले साम्राज्य जमाएको रहेछ, पाँचदिन लगाएर फाँडेर सकेँ, अर्मनका केशव सापकोटाले भन्नुभयो, “१२ रोपनी पाखो बारी रहेछ, त्यहाँ अलैँची र सुन्तला खेती गर्नका लागि तयारी गर्दैछु ।” नयाँ पुस्ता यसरी कृषि कर्ममा रमाएको देखेपछि गाउँमा रहेका जेष्ठ नागरिक र अन्य समुदायमा नयाँ आशा पलाएको छ । गाउँ र खेतबारी हराभरा हुनेमा उनीहरु आशावादी बनेका छन् ।

शहरबजारबाट आफ्ना छोरानाति र छोरीबुहारीहरु गाउँ फर्किंदा सबैभन्दा खुशी वृद्ध भएका बुबाआमा र हजुरबुबा हजुरआमाहरु देखिनुहुन्छ । छोरानाति र छोरीबुहारीसँग भेट हुनका लागि दशैँ तिहार कुर्नुपर्ने विगतलाई अहिले कोरोनाको सन्त्रासले भुलाइदिएको उनीहरुको भनाइ छ ।