काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले धुलो हेरेर निराश हुने छुट नरहेको भन्दै धुलो टक्टक्याएर देश निर्माणमा लाग्न आह्वान गर्नुभएको छ ।
संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले ७० भन्दा बढी युवाहरुको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको बताउनु भयो । सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको बताउनु भयो । २३ र २४ गतेका घटनाहरुको स्वतन्त्र, निश्पक्ष र उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्नुभयो । जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हामी यतिखेर ७० भन्दा बढी युवाहरुको जघन्य हत्याको शोकमा छौं । २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले आम सार्वजनिक सेवा नै अस्तव्यस्त भएको छ । यतिखेर धुलो हेरेर निराश हुने छुट हामीलाई छैन, धुलो टक्टक्याएर हामीले निर्माणको क्षमता र इच्छाशक्ति देखाउनु छ । अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न म सम्पूर्ण पार्टी पंक्ति र जनसमुदायलाई हार्दिक आह्वान गर्दछु । देश र जनताप्रतिको हाम्रो निष्ठा र प्रतिवद्धता पुनर्निर्माणमा देखिनुपर्छ त्यसका साथै २३ र २४ गतेका घटनाहरुको स्वतन्त्र, निश्पक्ष र उच्चस्तरीय छानविन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गर्दछु । जेन–जी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्वोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको छ ।’
जेन–जी आन्दोलनको बलमा संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भएपनि त्यस अवसरबाट जेन जी चुकेको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित भएको बताउनु भयो । शासकीय स्वरुप बदल्ने र इतिहास रच्ने मौका गुमेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘जेन–जी आन्दोलनको बलमा त्यही संसदबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरुपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिन्थ्यो । देशका अरु आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्थ्यो । त्यसपछि बरु संसद विघटनबारे सोच्न सकिन्थ्यो । तर आज जेन–जी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भयो, शासकीय स्वरुप नै बदल्ने र इतिहास रच्ने मौका गुम्यो ।’
अध्यक्ष दाहालले देश र जनताविरुद्धका षड्यन्त्र अझै नसकिएको भन्दै अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको दाबी गर्नुभयो । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुनसक्ने आशंका व्यक्त गर्नुभयो । घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने आफूले चाहेको बताउनु भयो । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै भएको जिकिर गर्नुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै उहाँले इतिहासको चिहानमा मिल्काइएकाहरुले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउने प्रयास भइरहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका छैनन् । अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको छ । चुनाव हुन नदिन र मुलुकलाई थप अस्थिरतातिर लैजान योजनावद्ध प्रयास हुन सक्छ । हामी घोषित निर्वाचन समयमै सम्पन्न होस् भन्ने चाहन्छौं । देशभक्त र लोकतन्त्रवादी शक्तिहरुका लागि अबका दिनहरु निरन्तर चुनौतीपूर्ण हुनेछन् । हाम्रो स्पष्ट मत छ, संविधान र लोकतान्त्रिक गणतन्त्र एवं यसका आधारभूत मान्यता भन्दा पछाडि फर्केर हामी समाधानमा होइन, थप संकटमा पुग्छौं । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र हो । इतिहासको चिहानमा मिल्काइएकाहरुले युवा पुस्ताको परिवर्तनको चाहनालाई उपयोग गरेर जनताका उपलब्धि उल्ट्याउन चाहेका छन् । त्यसैले अहिले देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तनप्रेमी शक्तिबीच दह्रो एकता खोजेको छ । संविधान र लोकतन्त्रको रक्षामार्फत् राष्ट्रको स्वतन्त्रताको रक्षा गुर्न हामी सबै नेपालीको साझा कर्तव्य हो । यो दिन त्यो कर्तव्यको संकल्प गर्ने दिन हो । संविधान दिवसका अवसरमा म पुन सबैमा हार्दिक शुभकामना ।’
अध्यक्ष दाहालले आन्दोलनका क्रममा भएको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका संरचनामा देशव्यापीरुपमा तोडफोड, लुटपाट र आगजनी विध्वंश जेन जीको काम नभएको बताउनु भयो । प्रतिगमनकारी र अपराधितत्वहरुको नेपाल र नेपाली जनताविरुद्ध गरिएका प्रहार भएको बताउनु भयो । देश अहिले इतिहासकै गम्भीर संकटमा परेको उल्लेख गर्दै आफ्नो विवेक सौर्य र वलिदानका कृतिमानबाट हाम्रा पुर्खाहरुले बचाएको नेपालको राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता र नेपाली जनताको आत्मसम्मानमा आज गम्भिर प्रश्न खडा भएको बताउनु भयो ।










