२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबैको प्रश्न यही छ- किन बोल्दैनन् प्रचण्ड ?



अ+ अ-


काठमाडौं । सत्तासीन नेकपाभित्रको पूर्वमाओवादी समूहका नेताहरु आज बिहानैदेखि प्रचण्ड निवास खुमलटारमा जम्मा भएका छन् । हिजो मन्त्रिपरिषदको बैठकपछि लगत्तै गृहमन्त्री बादल बाहेकका पूर्व माओवादी समूहका मन्त्रीहरु खुमलटार पुगेका थिए । उनीहरु त्यहाँ छँदै प्रधानमन्त्री केपी ओलीले सचिवालय बैठक डाकेपछि छुट्टिएका थिए । आज बिहानै बादलसहित बर्षमान पुनलगायतका सबै मन्त्रीहरु खुमलटार पुगेका थिए ।

उनीहरु खाना खाने समयमा त्यहाँबाट छुट्टिए पनि पुनः त्यहाँ पुगेका हुन् । खुमलटारमा पूर्व माओवादी नेताहरु पनि पुगेका छन् । अहिले रुकुम रहेका नेता जनार्दन शर्मालाई पनि प्रचण्डले हिजो नै फोन गरेर बोलाएका थिए । अरु काठमाडौँमा उपलब्ध नेताहरु प्रचण्ड निवासमा जम्मा भएका छन् । प्रचण्डसहितका पूर्व माओवादीहरु प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई लक्षित गरेर राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएको निष्कर्ष निकालेका छन् । यसबाट निकै झस्किएका छन् उनीहरु । सोमबार र मंगलबार उनीहरुले विभिन्न चरणमा गरेको छलफलपछि यो निष्कर्षमा पुगेका हुन् । हिजो सचिवालय बैठकमा प्रधानमन्त्रीले जुनसुकै तर्क राखे पनि दल विभाजनसम्बन्धी विधेयकको मक्सद नै पूर्व माओवादीलक्षित रहेको उनीहरुको निष्कर्ष हो र त्यसमा सबै नेताहरु लगभग ‘कन्भिन्स’ नै भएका छन् । तर यो समाचार तयार पार्दासम्म पनि अबको विकल्प के हो र पूर्व माओवादी मोर्चा पार्टी भित्रै के कसरी अघि बढ्छ भन्ने बारेमा केही बताएको छैन । के गर्ने भन्ने निकास प्रचण्डले नै निकाल्न सकेका छैनन् ।

कतिपयले अध्यादेशलाई मधेशवादी दल विभाजन गरेर सरकार बलियो बनाउने ओलीको अस्त्रका रुपमा समेत अर्थ्याएका छन् । हिजोको सचिवालयको बैठकमा पनि ओलीको स्पष्टीकरण यसैमा थियो । तर, करिब दुई तिहाई मतको नजिकमा रहेको अवस्थामा यो सरकारलाई अर्को पार्टी विभाजन गरे मान्छे भित्र्याउनुपर्ने आवश्यकता कुनै छैन भन्ने कुरो सबैले बुझेकै छन् । त्यसैले यस्तो कच्चा खेलमा ओली लागेका छैनन् भन्ने पूर्वमाओवादीको बुझाइ छ जुन स्वाभाविक हो ।

किन बोल्दैनन् प्रचण्ड ?
प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा अचानक राजनीतिक दल फुटाउन सहज हुनेगरी अध्यादेश पास गराएलगत्तै सोमबार साँझ नेकपा सचिवालयको बैठक बोलाए । बैठक जारी रहेकै वेला उता राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश प्रमाणिकरण गरीसकेकी थिइन् । सचिवालय बैठकमा पनि हिजो अनौठाको एक संयोग कस्तो देखियो भने ओली निकटका नेताहरुले अध्यादेश नेकपालक्षित नरहेको बताइरहँदा पूर्वमाओवादीको तर्फबाट नारायणकाजी श्रेष्ठले मात्र यस विषयमा तर्क राख्दै थिए । तर लगभग पूर्व एमालेका तर्फबाट बोल्ने क्रम सकिनासाथै राष्टपतिबाट यो प्रमाणीकरण भएको खबर आइहाल्यो । पूर्व माओवादी समूहका नेताहरुले यसलाई आफूहरु लक्षित प्रधानमन्त्रीको वाणका रुपमा बुझेका त थिए तर सचिवायलमा बोल्न उनीहरुको बहुमत त के आवाजै थिएन । यस विषयमा रामबहादुर थापा बादलले पनि बोल्न मानिरहेका थिएनन् । दुई अध्यक्षले बोल्ने अन्तिममा पालो आउनुअगावै शीतल निवासको खबर कसैले बैठकमा सुनायो– राष्ट्रपतिबाट अध्यादेश जारी भयो । त्यसपछि प्रचण्डले यस विषयमा मुख उक्काउन पनि पाएनन् । तर उनको अनुहारले नै उनलाई अति असहज भएको कुरा बोलिरहेको थियो ।

यसबीचमा हिजोदेखि आजको २४ घन्टामा बागमतीमा धेरै पानी बगिसकेको छ । अनुमान र रक्षात्मक कोणका अनगिन्ती तर्कहरु बजारमा छरिएका छन् । र सबैको लगभग एकै स्वर छ कि अरु जेसुकै नाम र निउँ दिएपनि यो अध्यादेश ल्याएको नेकपामा प्रचण्डलाई बाटो खनिदिन नै हो । महामारीले घरभित्रै मान्छे थुनिरहेका बेला सरकारले अहिलेका लागि अति अनावश्यक यो हर्कत गरेको छ । अनि सबैका कानले प्रचण्डको मुख कुरेका छन् । तर प्रचण्ड बोल्दैनन् ।

यो रहस्य बजारमा मात्र होइन पार्टीभित्रैका लागि पनि रहस्यमय बनेको छ । हिजोको यो हुने हुनामीपछि बजारमा त उनी बोलेका छैनन् पार्टीभित्र पनि नबोलेको निकटस्थहरु बताउँछन् । उनीहरुको अचम्म यसमा छकि अब के गर्ने र कसरी अघि बढ्ने भन्नेमा प्रचण्डले कुनै प्रतिक्रिया नै दिन सकेका छैनन् । यो विधेयक ल्याउदा उनलाई सोधिएन, सल्लाह गरिएन । यतिमात्र होइन कि हिजोको सचिवालय बैठकमा पनि सबैले बोलिसकेर प्रचण्डको पालो आउने बेलैमा शीतल निवासको खबर सुनाइयो । सायद खबरदातालाई त्यतिनै बेला यो भन्न लगाइएको पनि हुनसक्छ । अब पार्टीकै बैठकमा पनि प्रचण्डले बोल्ने वातावरण नपाउने अवस्था हिजोको उनको घोर अल्पमतले पति देखाउन खोजेकै छ । तर पनि अचम्म त यो छकि उनी आफै अध्यक्ष रहेको पार्टीको यत्रो बिधि आलोचना बजारमा छताछुल्ला छ । अनि यो सब प्रचण्डका लागि ओलीले गरेको खेल भन्ने तर्क उम्रिएदेखिका विश्लेषकको आएकै छ । तर पनि उनी बोल्दैनन् । थाहा छैन किन बोल्दैनन् ।