३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

राष्ट्रपतिको अभिभावकत्वमा मात्रै छलफल अघि बढाउन बृहत् नागरिक आन्दोलनको आग्रह

राष्ट्रपतिको अभिभावकत्वमा मात्रै छलफल अघि बढाउन बृहत् नागरिक आन्दोलनको आग्रह
अ+ अ-

काठमाडौँ । बृहत् नागरिक आन्दोलनले हाल जेनजी आन्दोलनको उपलब्धि उल्ट्याउने प्रयास भइरहेको भन्दै ती गतिविधिलाई प्रतिक्रान्तिको संज्ञा दिंदै त्यसलाई परास्त गर्न सबै नागरिकलाई आह्वान गरेको छ ।

आन्दोलनले बिहीबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका शहीदहरूको बलिदान र आन्दोलनको म्यान्डेट गणतन्त्र र धर्मनिरपेक्षतामा अडिग रहनु, तथा सेनाको असंवैधानिक हस्तक्षेप रोक्नु रहेको स्पष्ट पारेको छ ।

“शहीदको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र मञ्चन हुँदैछ, यो हामीलाई स्वीकार्य छैन,” विज्ञप्तिमा भनिएको छ ।

नेपाली सेनाले प्रतिक्रान्तिकारीहरूसँग संवाद गरिरहेको दाबी गर्दै आन्दोलनले त्यसप्रति खेद प्रकट गरेको छ । “सेनाले तत्काल आफ्नो भूमिका सच्याउनुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।

कामपा मेयर बालेन शाह पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेको हो भने त्यसलाई “प्रतिक्रान्तिका नायक”को रूपमा लिइने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

आन्दोलनले जेनजी आन्दोलनको माग र संविधान २०७२ को मूल भावनाअनुरूप अडिग रहनु आवश्यक रहेको बताएको छ । “यस सङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै नेपालको संविधान हो,” विज्ञप्तिमा उल्लेख छ ।

भविष्यमा बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै स्थान नहुने सुनिश्चित गर्नुपर्ने भन्दै आन्दोलनले राष्ट्रपतिको अभिभावकत्वमा मात्रै छलफल अघि बढाउन आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “जेनजी क्रान्तिलाई सफल बनाऔं, प्रतिक्रान्तिलाई परास्त गरौं, शहीदको बलिदानलाई सार्थक बनाऔं ।”

यस्तो छ विज्ञप्ति:

बृहत नागरिक आन्दोलन प्रतिक्रान्तिलाई परास्त गरौं !

अहिले के स्पष्ट हुँदैछ भने जेनजीको आन्दोलनका शहीदहरूको लाशमाथि टेकेर सेनाको मध्यस्थता र सहकार्यमा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षडयन्त्र मञ्चन हुँदैछ। यो हामीलाई पटक्कै स्वीकार्य छैन। जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो। यो हुँदै गरेको प्रतिक्रान्तिलाई परास्त गर्नु अहिले तत्कालको सबैभन्दा महत्त्वपूर्ण चुनौति हो।

जेनजीको आन्दोलनमा घुसपैठ गर्ने र दोस्रो दिनदेखि संगठित र लामो समयदेखि तयारी गरेअनुसार नागरिकप्रति उत्तरदायी सबै राज्यका संस्थाहरू र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वहरू अहिले सैनिक मुख्यालयमा बसेर सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य छ। नेपाली सेनाको यो किसिमको भूमिका अति खेदपूर्ण छ र अविलम्ब सँच्च्याइनुपर्छ।

यदि कामपा मेयर बालेनले पनि यिनै तत्वहरूसँग सहकार्य गरिरहेका हुन् वा सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने उनलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नेछौँ। उनले यो कुरा तुरुन्त मनन गरेर आफू उभिने कित्ता स्पष्ट पारून्।
जेनजी का भाइबहिनीहरू जो यो प्रतिक्रान्तिविरुद्ध हुनुहुन्छ र बृहत् नागरिक तप्काबाट सहयोग मागिरहनुभएको छ, उहाँहरूको साथ दिन यो देशका समग्र नागरिक, विभिन्न किसिमले संगठित राजनैतिक, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्छ। प्रतिक्रान्तिकारीहरूको यो सल्बलाहटलाई परास्त गर्न जेनजीहरूले फेरि सडकमै जानुपर्ने अवस्था देखिंदैछ र उहाँहरूको नेतृत्वमा हामी सबै पनि सडकमा उत्रन तयार छौं।

यस सङ्गीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो। त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभिभावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटो पहिल्याउनु आजको आवश्यकता हो। अब बन्ने नागरिक सरकारलाई यही संविधानको आडमा उभ्याएर र संवैधानिक मार्गबाट विमुख नभई भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर सतर्कतासाथ अघि बढ्नुको विकल्प छैन।

यस संविधानले आफूलाई दिएको गम्भीर उत्तरदायित्व र जेनजी क्रान्तिले दिएको ऐतिहासिक भूमिकालाई मनन गर्दै नेपाली सेनाको नेतृत्वले आफ्नो भूमिका पुरा गरोस्, तुरुन्त प्रतिक्रान्तिकारीहरूसँगको सबै किसिमको अन्तरक्रिया बन्द गरोस्, र राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रमहरू होऊन्।

अब बन्ने नागरिक सरकारमा प्रतिक्रान्तिकारीहरूको कुनै पनि स्थान नहुने सुनिश्चित गर्नुछ। यस विषयमा जेनजीहरूलाई जस्तोसुकै साथ दिन पमि नागरिक समाज तयार छ।
जेनजी क्रान्तिलाई सफल बनाऔं। प्रतिक्रान्तिलाई परास्त गरौं। शहीदको बलिदानलाई सार्थक बनाऔं।

मिति : २०८२ भदौ २६